उदयपुर । खानेपानीको चरम अभावले बसाई सर्नु पर्ने अवस्थासम्म सृजना भएका कटारी नगरपालिका १४ लेखानीका रमाइलो डाँडा, चनौटे, किन्दु डाँडा, भदौरे र रामागाउँबासीले नगरको २५ लाख सहयोगले पानी खाने आश जगाएको छ । संघिय सरकारको २४ करोड बढीको लागतमा बन्न लागेको सुनकोसी खानेपानी लिफ्टिङ परियोजनाको लागि जनसहभागिता वापत कटारी नगरपालिकाले २५ लाख रुपैँयाको चेक हस्तान्तरण गरेको छ ।
स्थानीयको आर्थिक अवस्थालाई मध्यनजर गर्दै कटारी नगर कार्यपालिकाको बैठकले लागत सहभागिता वापतको रकम उपलब्ध गराईदिने निर्णय गरेसँगै त्यस क्षेत्रका बासिन्दाका लागि शुद्ध खानेपानी पाउने आश जगाएको छ । नगरको निर्णय लगत्तै शुक्रबार नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले थप प्रकृया अघि बढाउने गरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष अमर खुलाल मगरलाई २५ लाखको चेक हस्तान्तरण गर्नु भएको छ ।
नगरपालिकाको पहलमा खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले नगरपालिकाको वडानं. ९, १०, ११, १२, १३ र १४ गरी ६ वटा वडामा पाईपमार्फत घर घरमा पानी पुर्याईने लक्ष्य राखेको छ ।
एक हजार पाँच सय घरधुरीलाई लक्षित गरी सुरु गर्न लागिएको आयोजनालाई व्यवस्थित गर्न दुई ठाउँमा रिर्जव ट्ंयाङ्की राखिने छ । पहिलो वडा नं. १४ घुर्मीको सुनकोसी नदिबाट पानी तानेर लेखानीको सबैभन्दा अग्लो रमाईलो डाँडामा रिजर्भ ट्ंयाङ्कीमा राखिने छ भने दोस्रो वडा नं. १० सोरुङछविसेको कन्यादहबाट गढीथुम्कीमा रिर्जभ ट्ंयाङ्की राखी पानी वितरण गरिने समितिका अध्यक्ष मगरको भनाई छ ।
२४ करोड बढिको लागतमा निर्माणकार्य सुरु गर्न लागिएको आयोजनामा उपभोक्ताले जनसहभागितावापत २५ लाख रुपैँया जम्मा गर्नु पर्ने सम्झौतामा उल्लेख रहेको अध्यक्ष मगरले बताए । तर लागत सहभागिता बुझाउन नसक्दा लामो समयदेखि ठेक्का प्रकृया अवरुद्ध हुँदै आएको मगरले बताउनु भयो ।
‘रकम बुझाउन नसकेर योजना फिर्ता जाने हो कि भन्ने हामीमा ठुलो चिन्ता थियो, उहाले भन्नु भयो, ‘वास्तवमै स्थानीय सरकार जनतासँग छ भन्ने हामीलाई यो पटक अनुभुति भएको छ, अव थप काम अघि बढाउँछौ भौगोलिक कठिनाईका कारण नगरपालिका भएर पनि धेरै समस्या व्यहोरी रहेका यस क्षेत्रका स्थानीयका लागि आयोजनाले ठुलो राहात पुग्ने विश्वास लिइएको छ । पानी अभावकै कारण स्थानीयबासी तीन घण्टासम्म पैदलयात्रा गरी खोला, खोल्सी, सुनकोसीसम्म पुगेर तिर्खा मेटने गरेका छन् ।
नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले पानीको चरम अभाव व्यहोरी रहेका जनतालाई लक्षित गरी आयोजना संचालन गर्न कार्यपालिका बैठकबाट २५ लाख रुपैँयाको सुनिश्चितता गरिएको बताउनु भयो । उहाँले, ‘उपभोक्ता आयोजना सञ्चालनमा जनसहभागितावापतको रकम जम्मा गर्न नसक्दा फिर्ता जाने भयो भन्दै आउनुभयो, अधिकांश गरिव, दुःखी जनता बस्ने भुगोल भएकाले नगरपालिकाबाटै सहयोग गरेका हौं ।
प्रमुख श्रेष्ठले माथिल्लो भेगका जनताको खानेपानीको समस्या समाधानको लागि अन्य कुनै विकल्प नभएपछि योजना छनौटदेखि वजेट विनियोजनसम्म आफु लागि परेको बताए । नगरपालिकाले उपलब्ध गराएको चेक हस्तान्तरण गर्दै श्रेष्ठले भन्नु भयो, ‘यो जिल्लाकै गौरवको आयोजना हो, समयमा सकिनु पर्छ र सञ्चालनमा आउनु पर्छ तव मात्र नगरपालिको लगानी गरेको वजेटको सहि सदपयोग भएको मुल्यांकन हुनेछ ।
उक्त आयोजना जिल्लाकै खानेपानीको क्षेत्रमा सबैभन्दा ठुलो आयोजना हो । आयोजनाबाट कटारी नगरपालिकाका ग्रामिणबस्तीमा खानेपानीको चरम अभाव टर्ने वडानं १४ का वडा अध्यक्ष तेजवहादुर आले मगरले बताउनु भयो ।
सुनकोशी रमाइलो डाँडा लिफ्टिङ खानेपानी आयोजनाको लागि डिपिआर तयार गर्नेमा सांघिय सांसद सुरेश कुमार राई हिमालको योजना परेको थियो । त्यस योजनाबाट कटारी नगरपालिका १४ लेखानी, वडा नं. १३ मैयाँखु, वडा नं. ११ गौबारी बेतेनी, वडा नं. १० सोरुङछविसे लगायतका क्षेत्रमा पानी प्रवाह हुनेछ ।
सोही योजना अनुरुप यहाँ लिफ्टिङ प्रणालीबाट खानेपानीको सुविधा उपभोगका लागि पहिलो चरणमा विद्युत् पोल, ट्रान्सफर्मर, तार जडान, दोस्रो चरणमा पाइपलाइन विस्तार, ट्याङ्की निर्माण, धारा जडान र वितरण गर्ने कार्यक्रम अघि बढेको वडाध्यक्ष आलेमगरले बताए ।
१५ सय मिटरको उचाईमा रहेका गाउँहरुमा पानी अभावले बसाई सराइँ गरी गएकाहरु कोही कटारी नगरपालिकाको सुगम त कोही सदरमुकाम गाईघाट गएको स्थानीय शिक्षक विष्णुमुरी मगरले बताए । ‘बस्तीभन्दा डेढ किलो मिटर तल चनौटे खोलामा सानो ट्याङ्की जस्तो बनाईएको छ, त्यो पनि अहिले सुक्दै गएपछि पानीको हाहाकार मचिएको हो ।’ उनले भने, ‘२०७२ सालको भुकम्प अगाडीसम्म केही पानी आएपनि अहिले पानीको मुहान नै सुख्खा भैसकेको छ । रात दिन गरेर पाँच सात गाग्री आउँछन् ।’ कहिले काहि त पानीकै निहुँमा छिमेकी छिमेकी विच झगडा समेत हुने गरेको थियो । कति पय छोरी बुहारीहरु छर छिमेकहरु पानीकै कारण राम्रो बोलचाल हुन नपाएकोले अव पानी आउने आश पलाएको स्थानीय शिक्षक मगरले बताए ।
त्यस क्षेत्रमा मानिसहरु मध्यरातमा विरालाको चाल मार्दै कसैले थाहा पाउँलाकी भन्दै घरमा भए जति भाँडाकुडा बोकेर सुटुक्क पधेरा पुग्छन । रात भर थोपा थोपा चुहेको पानी जम्मा गर्दा ५÷७ गाग्री पानी हुन्छ । तै पनि आपूm धारामा पुग्दा अर्कै छिमेकी अघि नै पधेरा पुगी सकेका हुन्छन् । नुहाइ धुवाई गर्न त परै जावस् बल्ल बल्ल जम्मा पारेको पानी दुध भैm छिमेकीसँग लिटरमा नापेर भाग लगाएर ल्याउनु पर्ने अवस्था रहेको स्थानीय तारादेवी लायोमगर बताउँछिन् । उनका अनुसार चाँड बाँडमा त झनै पानीको समस्या हुने गरेको छ । चाँड बाँडमा पानी किनेर ल्याउनु पर्छ भने अव २४ करोड बढीको लागतमा लिफ्टिङ प्रविधि मार्फत पानी आउँदैछ सुनेको अव शुद्ध खानेपानी आश जगाएको छ ।

तपाईको प्रतिक्रिया