उदयपुर । जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्लाबाटै ई पासपोर्ट (विद्युतिय राहदानी) बनाउन सुरु गरेको छ । विहिबार एक समारोह विच जिल्लाबाट ई पासपोर्ट बनाउन सुरु गरेको हो । विद्युतिय राहदानी बनाउन सुरु गरेको पहिलो दिन १२ जनाको आवेदन संकलन गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।
पहिलो दिन आवेदन संकलन गरिएको १२ जना मध्ये ११ जनाको आवेदन स्वीकृत भएको र एक जनाको आवेदनमा समस्या आएको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर सुनिल पोखरेलले जानकारी दिए ।

‘जिल्ला प्रशासन कार्यालयबाट अनलाईन फर्म भर्ने र कागजातहरु सिष्टममा अपलोड गर्नु पर्ने हुन्छ ।’ अपरेटर पोखरेलले भने ‘हामीले अपलोड गर्ने कागजातहरु ४०० किलो वाईट भन्दा कम साईजको हुनु पर्ने भएकाले र राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरेकाले मात्र ई पासपोर्ट बनाउन सक्नेछन ।’

नयाँ प्रविधी भएकाले समय लाग्ने र आलोपालो मिलाउनु पर्ने भएकाले फारम भर्न जिल्ला प्रशासन जादा समय लिएर मात्र आउन जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले अनुरोध गरे ।
सहायक प्रजिअ पोखरेलका अनुसार हामीलाई प्राप्त जानकारी अनुसार ई पासपोर्टको लागि आवेदन पेश भएपछि १५ दिन भित्र विद्युतिय पासपोर्ट बनेर प्राप्त हुने छ ।

के हो ई पासपोर्ट ?

ई–पासपोर्ट अन्तर्राष्ट्रिय स्तरमा हाल प्रचलनमा छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)ले ई–पासपोर्टलाई सुरक्षित भनेर परिभाषित गरेको छ ।

इलेक्ट्रोनिक राहदानी एमआरपी भन्दा गुणस्तरीय र भरपर्दो हुन्छ । यसमा उच्च किसिमको प्रविधिको प्रयोग गरिने भएकाले विश्वासिलो पनि मानिन्छ । ई–पासपोर्टमा मोबाइलको सिम जस्तै विद्युतीय ‘चिप’ प्रयोग हुन्छ । त्यसमै पासपोर्टबाहक व्यक्तिगत विवरणसहित बायोमेट्रिक डाटा राखिन्छ । यसको ‘सेक्युरिटी फिचर’ कसिलो हुने गर्छ । यो पासपोर्टलाई मेसिन÷कम्प्युटरले सहजै रिड गर्नसक्छ ।

ई–पासपोर्ट लागू भएपछि पासपोर्ट दुरुपयोगको समस्यालाई सम्बोधन गर्ने अपेक्षा छ, किनभने यसमा इलेक्ट्रोनिक डाटामा बायोमेट्रिक राखिएको हुन्छ । यस्ता जैविक संकेतहरु एर्कासँग (अपवाद बाहेक) मिल्दैन । त्यसैकारण अहिले जस्तो अर्काको नाममा जारी भएको पासपोर्ट बोकेर उड्ने समस्या समाधान गर्ने अपेक्षा सरकारको छ ।

सरकारले राष्ट्रिय परिचयपत्र वितरण गरेर सबै नागरिकको बायोमिट्रक विवरण लिने भएकाले बायोमट्रिक म्याच नभएको खण्डमा अन्यको नाममा पासपोर्ट बनाउन निकै कठीन हुनेछ । अझै अर्काको पासर्पोट बोकर विमानस्थलमा पुग्दा मेसिनले सिधै बायोमिट्रक फेल गराउने अवस्था आउँछ । यसो गरिए विभिन्न अपराध गरेर अन्यको पासपोर्टमा विदेश उड्नेहरुलाई रोक्न सहज हुनेछ ।

तपाईको प्रतिक्रिया