उदयपुर । त्रियुगा नगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्व १८ करोड ९६ लाख ९४ लाख ४५० रुपैया बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । बजेटमा बरुवा क्याम्पसलाई इन्जिनियरिङ क्याम्पस बनाउनको लागि भौतिक पूर्वाधार बिकासका लागि समपुरक अनुदान शिर्षक अन्तर्गत १ करोड ५३ लाख बिनियोजन गरेको छ ।

अहिलेसम्म २ सय २५ किलोमिटर नयाँ सडक ट्रयाक खोलिएको छ भने २ सय २५ किलो मिटर सडकमा ग्राभेल गरिएको छ । यस्तै अहिलेसम्म १० किलो मिटर सडक कालोपत्रे गरिएको छ ।

मोतिगडादेखि रुपनीसम्मको सडकमा कालोपत्रे विस्तार गर्न श्रोत व्यवस्थापन गरिनेछ । साथै त्रियुगा बाहिरी तथा भित्री रिङरोड (चक्रपथ) निर्माणलाई अझ प्रभावकारीरुपले संचालन गरिनेछ । जसका लागि श्रोत व्यवस्थापन गर्न विश्व वैक, संघीय सरकार, प्रदेश सरकार तथा सरोकारवाला पक्षसंग निरन्तर समन्वय गरिने नीति कार्यक्रममा उल्लेख छ । आगामी आर्थिक वर्षको बजेटमा त्रियुगा नगरपालिका वडा नं. १०, ११, १२ र १३ र अन्य वडाका बजार क्षेत्र भएका स्थानका शाखा सडकहरुलाई प्राथमिकताका आधारमा कालेपत्रे विस्तार तथा सडक स्तरोन्नती गर्ने नीति अवलम्वन गरिनेछ ।

नगरस्तरीय उर्जा नीति निर्माण गरी नवीकरणीय तथा अनवीकरणीय उर्जाको एकीकृत विकास, संभाव्यता पहिचान गरी साझेदारी मोडेलमा उर्जा विकासका कार्य अगाडि बढाइनेछ । विद्युत पहुँच विस्तारका बाँकी कार्य सम्पन्न गरी उज्यालो नगर घोषणा यसै वर्ष पूरा गरिनेछ ।

विश्वव्यापी महामारी कोरोनाले गर्दा उदयपुर पनि पछुतो हुन नसकेको अवस्थामा त्रियुगा नगरपालिकाको सातौं नगर सभाले असोजमसान्त सम्म व्यवसायी कर तिर्नेलाई २५ प्रतिशत छुट दिईएको छ भने व्यवसायीले नगरपालिकामा बुझाउनु पर्ने घर बहाल करमा पनि असोजमसान्त सम्म बुझाए ३ महिनाको छुट दिने भएको छ । व्यवसायी कर व्यक्तिगत व्यवसायीलाई मात्रै लागू हुनेछ ।

जिल्ला अस्पताल उदयपुरलाई आइसियु सहितको सय बेडको अस्पतालमा स्तरोन्नति गरी विशेषज्ञ सेवा सुचारु गर्न र विशेषज्ञ डाक्टरहरुलाई नियमित रुपमा जिल्लामै राख्ने वातावरण बनाउनका लागि जिल्ला अस्पतालमै हेल्थ असिस्टेन्ट, फार्मेसी, ल्याब र नर्सिङ पढाई हुने गरी तहगत सरकारसँग आवश्यक पहल गरिने नीति कार्यक्रममा उल्लेख छ ।

जिल्ला अस्पतालमा नर्सिङ तथा मेडिकल शिक्षा थालनी गरी त्रियुगा नगरपालिका वडानं ४ बगाहामा मेडिकल कलेज स्थापना गर्नको लागि संघीय सरकार तथा प्रदेश सरकारसंग समन्वय र सहकार्य गरिने भएको छ ।

नगरको आवधिक योजनाले परिकल्पना गरेको स्वस्थ, शिक्षित, उद्यमशील हाम्रो सहर, समुन्नत, समावेशी, समृद्ध त्रियुगा नगरको संकल्पलाई साकार पार्नका लागि नगरले आगामी आ.व. २०७८÷७९ को बजेटका उद्देश्य तथा प्राथमिकताहरु तय गरेको छ ।  नगर अर्थ तन्त्रमा कृषिको योगदान अभिवृद्धि गर्न खेतीयोग्य भूमिको पहिचान र प्राथमिकीकरण गर्दै कृषि प्रविधि सहित कृषिलाई मर्यादित पेशामा रुपान्तरण गर्न यान्त्रिकरण, आधुनिकीकरण, व्यावसायीकरण र बजारीकरणमा जोड दिने तथा खाद्य प्रणालीको स्थानीयकरण हुनेगरी उद्योग, व्यवसायर पर्यटन प्रबद्र्धन गर्ने, उत्पादन र उत्पादकत्वलाई बढाउन साझेदारी मोडललाई प्रोत्साहित गर्दै सहकारी, उद्यम, पशुपालन तथा पर्यटन क्षेत्रको एकीकृत विकासमार्फत आर्थिक विकासका लक्ष्य हासिल गर्ने नीति कार्यक्रममा उल्लेख छ ।

साना तथा व्यवसायिक कृषकहरुका स्थानीय उत्पादनहरु विक्री तथा संकलन गर्नका लागि ७ वटा वडामा ग्रामिण कृषि उपज संकलन केन्द्र तथा बजार व्यवस्थापन गरी सगरमाथा कृषि बजारमा १५/१५ टन क्षमताका २ वटा गरी ३० टन क्षमताको शीत भण्डार संचालनमा ल्याउने भएको छ ।

यस्तै लैंगिक विभेदलाई उन्मुलन गर्दै लैजान प्रेरित गर्ने उद्धेश्यले बालिका जन्मिएको ३५ दिनभित्र जन्म दर्ता गर्न आउने प्रत्येक दम्पतिलाई प्रोत्साहन स्वरुप एक हजार प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

विगतका वर्षहरुमा माग भइ आएका र योजना बैंकमा समावेश भएका योजनाहरुलाई क्रमशः कार्यान्वयन गर्दै लगिनेछ । नगरमा विस्तार भएका ट्रयाक तथा सडकहरुको नियमितरुपमा स्तरोन्नति र मर्मतसंभार गर्दै बाह्रैमास यातायात संचालन योग्य सडक निर्माण गरिनेछ ।
नगरको पहाडी क्षेत्रमा पर्ने वडाहरु १४, १५ र १६ लाई एकै रुटमा आबद्ध हुने हिल सिटी तथा सुकौरादेखि साउनेसम्म पर्यटकीय पदमार्ग ट्रेकिङ रुट निर्माणमा जोड दिइनेछ । त्रियुगा १५ हुवासमा भ्यु टावर निर्माण तथा विस्तृत परियोजना प्रस्ताव तयार भएको रौता केबलकार निर्माणका लागि कानूनी प्रक्रिया पूरा गरी निजी क्षेत्रलाई आव्हान गर्ने नीति लिइएको नीति कार्यक्रममा उल्लेख छ । प्रत्येक वडालाई १ करोड २५ लाखको बजेट सिलिङ तोकिएको छ । विस्तृत बजेटको लागि यहाँ क्लिक गर्नुहोस् ।  त्रियुगा नगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक (पूर्णपाठ सहित)

तपाईको प्रतिक्रिया