उदयपुर । त्रियुगा नगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको सातौं नगर सभाले १ अर्व १७ करोड ९६ लाख ९४ लाख ४५० रुपैया बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । नीति तथा बजेट कार्यक्रम उपमेयर देवी कुमारी चौधरीले प्रस्तुत गरेकी थिईन ।
नीति कार्यक्रम तथा बजेटको पूर्णपाठ

त्रियुगा नगरपालिकाको सातौं नगर सभाका सभाध्यक्ष महोदय,
नगर सभाका सदस्यज्यूहरु,

१. संघीयता कार्यान्वयनका सन्दर्भमा त्रियुगा नगर सरकार, पाँच वर्षको स्वर्णिम अवधिमा प्रवेश गरिसकेको सन्दर्भमा नगरको सातौं नगरसभालाई सम्बोधन गरिरहेको छु ।
२. ऐतिहासिक कालखण्डमा जीवन उत्सर्ग र बलिदान गर्ने ज्ञात-अज्ञात महान् सहिदहरुप्रति भावपूर्ण श्रद्दासुमन अर्पण गर्दछु ।विभिन्न आन्दोलनका क्रममा बेपत्ता भएका, घाइते,आश्रित सहिद तथा सहिद परिवारप्रति उच्च सम्मान व्यक्त गर्न चाहान्छु ।
३. यस नगरको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति,कार्यक्रम तथा बजेट प्रस्तुतगर्नुअघि विभिन्न समयमा भएका जनआन्दोलन र त्यसबाट स्थापित संघीयलोकतान्त्रिक गणतन्त्रकोसवलीकरण,स्थायीत्व, “समृद्द नेपाल, सुखी नेपाली” को संकल्पर नगरआवधिक योजनालाई यस नीति तथा कार्यक्रमले सम्बोधन गर्नेमा विश्वस्त छु । यसबेला म, नगरवासीले मतपत्र मार्फत हामीलाई सुम्पिएको समग्र विकासको दायित्वलाई स्मरण गरिरहेको छु ।
४. वि.सं. २०७६ चैत्रबाट सुरु भएको कोरोना महामारीले हालसम्म पनि देशव्यापी संकट सिर्जना गरिरहेको छ । यसले त्रियुगा नगरपालिकाको दुई आर्थिक वर्षका कार्यक्रमलाई नकारात्मक प्रभाव पार्दै विकासका सूचकांक प्राप्त गर्न कठिन भएको छ । यस विषम परिस्थितमा यो नगर सभाआगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजानिक गर्दैछ । कोरोना भाईरसबाट संक्रमित भइ उपचाररत नगरवासी, संक्रमित नेपालीजन एवम् विश्वभरिका संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । कोरोना भाईरसको संक्रमणले जीवन गुमाउने सबैप्रति हार्दिक श्रद्दाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछु ।
५. कोरोना भाईरसको उपचार तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी,सुरक्षाकर्मी, राजनीतिक दलका कार्यकर्ता,निर्वाचित जनप्रतिनिधि र पदाधिकारीहरु, नागरिक समाज, संचारकर्मी,सामुदायिक वन तथा महासंघ, प्याव्सन तथा एनप्याव्सन लगायतका शैक्षिक संगठनहरु, वैक तथा वित्तीय संस्थाहरु,निर्माण व्यवसायी तथा जिल्ला निर्माण व्यवसायी संघ, टोल विकास संस्थाहरु, नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जिन्सी तथा रकम सहयोग गर्ने दाता तथा सहयोगी मन र सबै संघसंस्थाहरु प्रति धन्यवाद ज्ञापन गर्दछु । कोरोनाबिरुद्दको आगामी लडाइमा सबै सरोकारवालापक्षहरु एकैठाउँमा उभिएर अगाडि बढ्नेमा समेत विश्वस्त छु ।
६. विगत चार वर्षदेखि नगरवासीले सुम्पिएको त्रियुगा नगरपालिकाको विकास र समृद्धिको दायित्वलाई पूरा गर्न कटिबद्ध छु । नगरवासीले अनुमोदन गरेका विकास कार्यहरु सम्पन्न गर्नका लागि नगरको अधिकतम श्रोत साधनको परिचालन गरिएको छ । नगरवासीको विकासप्रतिको तीव्र आकांक्षा तथा मागलाई सिलसिलेवार रुपमा सम्बोधन गर्नका लागि त्रियुगा नगरपालिकाको प्रथम पञ्चवर्षीय आवधिक योजना तयार गरिएको छ ।यो आवधिक योजनाले आउदा पाँच वर्षमा विकासका लक्ष्यहरुलाई क्रमशस् पूरा गर्ने विश्वास लिएको छ । यो चार वर्षको अवधिमा नगरको समग्र विकासमा अपेक्षित सफलता हाँसिल गर्न कठिनाइ भएपनि विकास निर्माणका कार्यहरुलाई प्रभावकारीढंगले सम्पन्न गरिएको छ । नगरसभा सदस्यहरु,कार्यपालिका सदस्यहरु, वडा तथा नगरका जनप्रतिनिधिहरु तथा सरोकारवाला नगरवासीहरुलाई यसको श्रेय जान्छ । यी उपलब्धिहरु यहाँहरुको अविच्छिन्न साथ, सहयोग र सामूहिक प्रयत्नको परिणाम हो । यसका लागि सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
७. यो अवधिमा नगरले धेरै साना-ठूला योजनाहरु सम्पन्न गरेको छ । त्रियुगाकोबाहिरी तथा भित्रि क्षेत्रको सर्वाङ्गिण विकासका लागि दूरगामी महत्वका चक्रपथ लगायतका योजनाहरु थालनी भएका छन् । त्रियुगा नदीको सभ्यता तथा पहिचान संरक्षण गर्दै दुवैतर्फ बाँध तथा कोरिडोर निर्माण, रौता केबलकार, बरुवा चेक ड्याम लगायत दीर्घकालीन महत्वका योजनाहरु सम्पन्न गर्न अग्रसरता लिइएको छ । वित्तीय हस्तान्तरणबाट प्राप्त हुने अनुदान तथा आन्तरिक आम्दानीमा हुने अनपेक्षित संकुचनका बाबजूदअन्तर सरकारी समन्वयबाट श्रोत व्यवस्थापन गर्दै विकास कार्यलाई निरन्तरता दिइएको छ । नगरमा उपलब्ध श्रोतसाधनको अधिकतम परिचालन गर्दै विकासका आकांक्षालाई पूर्ण आकार दिने प्रयास निरन्तर रुपमा भएको छ । विकासका नयाँ-नयाँ संरचना तथा आयामहरु प्रष्टसंग देखिन थालेका छन् ।
८. यस गरिमामय सभामा जनप्रतिनिधिका हैसियतले हामीलाई दिइएको कार्यभारहरुको समीक्षा गर्न पाउदा गौरव महसुस गरिरहेको छु । सडक, यातायात, विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य, संचार लगायतविकासका पूर्वाधारहरुको संरचनागत विकास भएको छ । मानवीय तथा भौतिक विषयका सूचकांकहरु जस्तै औषत आय, आयु,शिक्षा र भौतिक संरचनागत पूर्वाधारहरुको परिवर्तनहरुनै वास्तविक विकास भएको कुरालाई नगर सरकारले आत्मसात गरेको छ । नगरवासीको जीवनस्तर र जीवनशैलीमा व्यापक सुधार र प्रगति भएको छ । तुलनात्मकरुपमा नगर सरकारले विकासमा उल्लेख्य प्रगति हाँसिल गरेको छ । हामीले प्राप्त गरेका सबैखाले उपलब्धिहरुलाई संस्थागत गर्न र स्वामित्वबोध गर्ने काम प्रभावकारी ढंगले भएको छैन । त्यसैले हाम्रा उपलब्धिहरुलाई यसै वर्ष अभिलेखीकरण गर्दै सूचनाको हक र पारदर्शिताको सिद्धान्तलाई अंगीकार गर्दै प्रकाशन तथा प्रचारप्रसार गरिनेछ । आगामी वर्षको बजेट तथा कार्यक्रमलाई प्रभावकारीरुपले कार्यान्वयन गरिनेछ । यस समीक्षामा हामीलाई दिइएको दायित्वहरुलाई इमान्दारितापूर्वक सम्पादन गरिएको व्यहोरा यस सभामार्फत सम्पूर्ण नगरवासीमा जानकारी गराउन चाहान्छु ।
क. हामी निर्वाचित हुँदा अधिकांश वडासंग प्रशासनिक भवन थिएन । हामीले चार वर्षमा १२ वटा वडा कार्यालयको प्रशासनिक भवन निर्माण गरेका छौं । साथै निर्माणाधीन भवनहरु आगामी आर्थिक वर्षभित्र सम्पन्न हुनेछन् ।
ख. यस अवधिमा १४ वटा वडाहरुमा ४ कोठे आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन निर्माण सम्पन्न गरिएको छ ।
ग. साथै, यो अवधिमा नगरक्षेत्रमा आ।ब। २०७६/०७७ मा सामुदायिक विद्यालयहरुमा २ कोठे नयाँ भवन ७ वटा, शौचालय ३ वटा र रेक्ट्रोफिटिङ विल्डिङ १ वटा निर्माण भएको छ । भने आ.ब. २०७७/०७८ मा ४ कोठे भवन ३ वटा, शौचालय ३ वटा र रेक्ट्रोफिटिङ भवन १ वटा निर्माण भएको छ ।
घ. साना तथा व्यवसायिक कृषकहरुका स्थानीय उत्पादनहरु विक्री तथा संकलन गर्नका लागि ७ वटा वडामा ग्रामिण कृषि उपज संकलन केन्द्र तथा बजार व्यवस्थापन भएका छन् ।साथै सगरमाथा कृषि बजारमा १५/१५ टन क्षमताका २ वटा गरी ३० टन क्षमताको शीतभण्डार संचालनमा ल्याइएको छ ।
ङ. किसानहरुको समस्याहरुलाई समाधान गर्न कृषक कल सेन्टर संचालनमा ल्याएको छ । जसबाट फोनकै माध्यमद्वारा नगरवासीका कृषि सम्बन्धि समस्याहरु समाधान गरिएको छ ।
च. नगरवासीको आर्थिक स्थितिमा सुधार ल्याउन विभिन्न ५ स्थानमा होमस्टे (घरबास) संचालन गरिएको छ ।
छ. नगरका दुई स्थानहरुमा चक्लाबन्दी खेती सुरु गरिएको छ । यसलाई सम्भाव्यताका आधारमा क्रमशस् नगरभरिनै विस्तार गर्ने नीति रहेको छ ।
ज. त्रियुगा स्थानीय पाठ्यक्रम तयार गरि आधारभूत विद्यालयहरुमा लागु गर्न पाठ्यपुस्तक लेखन अन्तिम चरणमा पुगेको छ ।
झ. संस्थागत विकास र आर्थिक गतिविधिमा टेवा पुर्‍याउने उद्धेश्यले ३४० टोल विकास संस्थाहरुलाई बीउ पूँजि वितरण गरिएको छ ।
ञ. यस अवधिमा त्रियुगा नगरपालिकालाई पूर्ण साक्षर तथा पूर्ण सरसफाईयुक्त नगरपालिका घोषणा गरिएको छ ।
ट. लैंगिक विभेदलाई उन्मुलन गर्दै लैजान प्रेरित गर्ने उद्धेश्यले आर्थिक वर्ष २०७५/७६ देखि बालिका जन्म दिई ३५ दिनभित्र जन्मदर्ता गर्न ल्याउने प्रत्येक दम्पतिलाई प्रोत्साहन स्वरुप रु.१००० प्रदान गरिदै आएको छ ।
ठ. त्रियुगा नगर प्रमुखको हैसियतले उदयपुर विकास बोर्डको अध्यक्षको रुपमा बेल्टारमा कोभिड अस्पताल निर्माणका लागि अन्तरसरकारी सहयोग जुटाउन तथा बेलका नगरपालिकामा निर्माण हुने अक्सिजन प्लान्टका लागिउदयपुरका सबै पालिकाहरुबाट सहयोग जुटाउन संस्थागत रुपमा अगुवाइ गरिएको छ ।जिल्ला अस्पताल उदयपुरलाई आइसियु सहितको १०० बेडको अस्पतालमा स्तरोन्नति गरी विशेषज्ञ सेवा सुचारु गर्न र विशेषज्ञ डाक्टरहरुलाई नियमित रुपमा जिल्लामै राख्ने वातावरण बनाउनका लागि जिल्ला अस्पतालमै हेल्थ असिस्टेन्ट, Pharmacy, Lab, Nursing पढाइ हुने गरी तहगत सरकारसंग आवश्यक पहल गरिएको छ ।
ड. पहाडी वडाहरु बाहेक आधा घण्टाभित्रै नगरवासीको वडा कार्यालयसम्मको पहुँच पुर्‍याउन २२५ किमि नयाँ सडक ट्रयाक खोलिएको छ ।
ढ. नगरका सडकहरुको नियमित मर्मत तथा स्तरोन्नति अन्तर्गत करिब २२५ किमि ग्राभेल गरिएको छ ।
ण. डिएमगेट-लक्ष्मीपुर, लक्ष्मीपुर-बेहड्वा, शान्तिचोक-शिवशक्ति टोल, खैजनपुर-बरगाछी, हिमाली टोल, लगायत दर्जनौ स्थानमा करिब १० किमि कालोपत्रे सडक विस्तार भएको छ ।
त. यो अवधिमा ६ किलोमिटर भन्दा बढी सिचाइँ कुलो निर्माण भएको छ । ७३ वटा साना सिचाइँ कुलो निर्माण तथा मर्मतसंभार एवम ५० वटा साना सिचाइँ कार्यक्रम छनौट भइ कार्यान्वयनको चरणमा रहेका छन् ।
थ. खयरजरी खोला, सुकौरा-वडा कार्यालय सडक तथा बेहड्वा गरी तीन स्थानमा मोटरेबल कल्भर्ट पुल निर्माण भएका छन् ।
द. त्रि.न.पा. ६ लालपत्ता पात्लेबासमा ४ करोडको लगानीमा आर.सि.सि. पुल निर्माणका लागि ठेक्का सम्झौता भइ काम सुरु भएको छ ।
ध. त्रियुगा नगरपालिका १३ मा रहेको थरुहट रंगशालामा प्याराफिट विस्तार गरिएको छ । त्रिनपा ७ कुर्थीबारीमा यसै आर्थिक वर्षबाट क्रिकेट रंगशाला निर्माण सुरु भएको छ ।
न. त्रिनपा १२ बिसनपुरमा हरितपार्क निर्माण भइरहेको छ । त्यसैगरी सोनुवा चाँपपोखरीमा वनभोजस्थल सहितको पर्यटकीय पूर्वाधार निर्माण सुरु भइ आगामी वर्षभित्रै सम्पन्न हुने क्रममा छ । साथै,एक सहर एक पहिचान अन्तर्गत चप्पन जनज्योति महिला सामुदायिक वनमा पर्यटकीय स्थलको पूर्वाधार विकास तथा निर्माण कार्य संचालन भइरहेको छ ।
ऩ. गरिब तथा विपन्न नागरिकलाई सुरक्षित आवास प्रदान गर्न करिब ५०० घरहरु निर्माण भएका छन् ।
प. गाईघाट बजारको सौन्दर्यकरणका सन्दर्भमा मुख्य चोकमा गाईको प्रतीमा स्थापना तथा सडकमा पुष्प रोपण एवम् घेराबेरा लगायतका काम सुरु भइसकेको छ ।
फ. त्रियुगा, बरुवा, लुहाले र कङ लगायत नगरका सबै खोलामा १५ किमि भन्दा बढी बाँध निर्माण गरि खेतीयोग्य भूमि तथा बस्तीको संरक्षण गरिएको छ । यसलाई निरन्तरता दिइएको छ ।
ब. चालु आर्थिक वर्षमै गाईघाटका मुख्य सडक, बोक्सेर जलजलेमा कालोपत्र बिस्तार तथा मर्मत सुरु भएको छ ।
भ. यात्रुहरुको सहजताका लागि बरुवा तथा त्रियुगा बसपार्कमा यात्रु प्रतीक्षालय र विश्रामघर निर्माण भएका छन् ।
म. त्रिनपा १४ धापलाङका कृषकलाई लक्षित गरी करिब ८० लाखको लागतमा बेताल चेकड्याम तथा ५ किमि कुलो निर्माण गरिएको छ ।
य. प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत करिब ९०० सचिकृत बेरोजगारहरुलाई हरेक वर्ष आवधिक रोजगारी प्रदान गरिएको छ ।

सभाध्यक्ष महोदय,
९. अब म आ.व. २०७८/७९ का लागि बजेटको उद्देश्य तथा प्राथमिकता प्रस्तुत गर्ने अनुमति चाहान्छु ।
यस नगरको आवधिक योजनाले परिकल्पना गरेको स्वस्थ, शिक्षित, उद्यमशील हाम्रो सहर, समुन्नत,समावेशी, समृद्ध त्रियुगा नगर को संकल्पलाईसाकार पार्नका लागि नगरले आगामी आ.व. २०७८/७९ को बजेटका उद्देश्य तथा प्राथमिकताहरु निम्नानुसार तय गरेको छ :
क) नगर अर्थतन्त्रमा कृषिको योगदान अभिवृद्धि गर्न खेतीयोग्य भूमिको पहिचान र प्राथमिकीकरण गर्दै कृषि प्रविधि सहित कृषिलाई मर्यादित पेशामा रुपान्तरण गर्न यान्त्रिकरण, आधुनिकीकरण, व्यावसायीकरण र बजारीकरणमा जोड दिने तथा खाद्य प्रणालीको स्थानीयकरण हुनेगरी उद्योग, व्यवसायर पर्यटनप्रबर्द्धन गर्ने,उत्पादन र उत्पादकत्वलाईबढाउन साझेदारी मोडललाई प्रोत्साहित गर्दै सहकारी, उद्यम, पशुपालन तथा पर्यटन क्षेत्रको एकीकृत विकासमार्फत आर्थिक विकासका लक्ष्य हासिल गर्ने ।
ख) शैक्षिक प्रविधिमा आधारित शिक्षा प्रणाली विकास गरी शैक्षिक गुणस्तर हाँसिल गर्ने,प्राविधिक तथा व्यावसायिकशिक्षाप्रबर्द्धन गर्ने, आधारभूत स्वास्थ्य सेवा,पोषण,स्वच्छ पिउनेपानी र पूर्ण सरसफाइको सुनिश्चितता, युवा तथा खेलकूद, रोजगारी तथा विकास, लैङ्गिक समानता, समावेशिता, सशक्तीकरण तथा समावेशीकरणबाट नगरवासीको आधारभूत सामाजिक सेवा, संरक्षण र सुरक्षामा पहुँच कायम गरी सभ्य, समतामूलक र समुन्नत समाज निर्माणमा टेवा पुर्याउने ।
ग) शहरीकरणका नवीनतम मान्यतामा आधारित भइ दीगो विकास, वातावरणमैत्री भौतिक तथा सामाजिक शहरी पूर्वाधारको व्यवस्थापन गरी क्रमशस् आधुनिक स्मार्ट सहरको रूपमा विकास गर्ने ।
घ) पर्यटन क्षेत्रको एकीकृत विकास गर्दै यिनको विकास, संरक्षण, सम्बर्धन र अधिकतम उपयोग सुनिश्चित गर्ने, दीगो विकास, पारिस्थितिक पद्दति संरक्षण, विपदव्यवस्थापन, पर्यावरणीय स्वच्छता कायम गर्दै मौमसी चक्र, जलवायु परिवर्तनलाईअनुकूलन गर्दै स्वच्छ, सफा, व्यवस्थित वातावरणमैत्री हरित नगर निर्माणमा सहयोग पुर्याउने ।
ङ) सार्वजानिक सेवा प्रवाहलाई सरल, छरितो, अनुमानयोग्य तथा नवीनतम मूल्यमान्यता अनुरुप संचालन गर्न सांगठनिक विधि पद्धतिलाई सुव्यवस्थित बनाउदै जनशक्तिको उच्चतम परिचालन, संगठनिक विकास र संरचनागत चुस्तता कायम गर्दै साझेदारी, र सहकार्यलाई जोड दिइ व्यवस्थितसेवा प्रवाहप्रति जनविश्वास अभिवृद्दि गर्दै गुणस्तरीय सेवामा नगरवासीको सहज पहुँच, सुशासनयुक्त जनउत्तरदायी नगर सरकार सञ्चालन गर्न सहयोग पुर्याउने ।

१४. आगामी आर्थिक वर्षको बजेटका उद्देश्य प्राप्तिका लागि नगरपालिकाले देहायका नीति,कार्यक्रम तथा प्राथमिकताहरु अवलम्वन गरेको छस्
पूर्वाधार विकास तर्फ नीतितथा कार्यक्रमहरु
क. आधुनिक सहर निर्माणका लागि आवश्यक सबै पूर्वाधारहरुको एकीकृत विकास गर्ने तथा नगरलाई उपमहानगरमा स्तरोन्नति गर्ने लक्ष्यसहित विकास निर्माणका कार्यहरु अगाडि बढाइनेछ । वडामा प्राविधिक जनशक्ति व्यवस्थापनलाई प्राथमिकतामा राखिनेछ ।
ख. मोतिगडादेखि रुपनीसम्मको सडकमा कालोपत्रे विस्तार गर्न श्रोत व्यवस्थापन गरिनेछ । साथै त्रियुगा बाहिरी तथा भित्री रिङरोड (चक्रपथ) निर्माणलाई अझ प्रभावकारीरुपले संचालन गरिनेछ । जसका लागि श्रोत व्यवस्थापन गर्न विश्व वैक, संघीय सरकार, प्रदेश सरकार तथा सरोकारवाला पक्षसंग निरन्तर समन्वय गरिनेछ ।
ग. आगामी आ. व. २०७८/०७९ मा त्रियुगा नगरपालिका वडा नं। १०, ११, १२ र १३ र अन्य वडाका बजार क्षेत्र भएका स्थानका शाखा सडकहरुलाई प्राथमिकताका आधारमा कालेपत्रे विस्तार तथा सडक स्तरोन्नती गर्ने नीति अवलम्वन गरिनेछ ।
घ. नगरस्तरीय उर्जा नीति निर्माण गरी नवीकरणीय तथा अनवीकरणीय उर्जाको एकीकृत विकास, संभाव्यता पहिचान गरी साझेदारी मोडेलमा उर्जा विकासका कार्य अगाडि बढाइनेछ ।विद्युत पहुँच विस्तारका बाँकी कार्य सम्पन्न गरी उज्यालो नगर घोषणा यसै वर्ष पूरा गरिनेछ ।
ङ. सहरी गरीब तथा विपन्न परिवारका लागि सुरक्षित आवास व्यवस्थापनका लागि नगरले संघीय तथा प्रदेश सरकारहरुसंग समन्वय गर्नेछ।
च. विगतका वर्षहरुमा माग भइ आएका र योजना बैंकमा समावेश भएका योजनाहरुलाई क्रमशस् कार्यान्वयन गर्दै लगिनेछ । नगरमा विस्तार भएका ट्रयाक तथा सडकहरुको नियमितरुपमा स्तरोन्नति र मर्मतसंभार गर्दै बाह्रैमास यातायात संचालनयोग्य सडक निर्माण गरिनेछ।
छ. मदन भण्डारी मार्ग तथा गाईघाट दिक्तेल सडकमा हुने सवारी दुर्घटनाबाट सुरक्षित बनाउनका लागि नगरको सम्भावित स्थानमा सवारी साधनपुर्नताजगी केन्द्र (refreshing centrer) निर्माण कार्यलाई प्राथमिकतामा राखिने छ ।
ज. नगर सौन्दर्यकरण अन्तर्गत थालनी भएका कार्यलाई निरन्तरता दिदै मुख्य चोकमा नगरको पहिचान झल्किने गरी प्रतिमा तथा संरचना तयार गर्दै सफा, हरित तथा सौन्दर्ययुक्त नगर वनाईनेछ ।
झ. नगरको मुख्य प्रशासनिक भवनका लागि आवश्यक पहल भइरहेको छ । प्रशासनिक भवन निर्माण गर्न बाँकी वडाहरुमा भवन निर्माणका लागि आवश्यक प्रबन्ध मिलाइनेछ ।
ञ. नगरका पहाडि क्षेत्रमा पर्ने वडाहरु १४, १५ र १६ लाई एकै रुटमा आबद्ध हुने हिल सिटी तथा सुकौरादेखि साउनेसम्म पर्यटकीय पदमार्ग ट्रेकिङ रुट निर्माणमा जोड दिइनेछ । त्रि.न.पा. १५ हुवासमा भ्यु टावर निर्माण तथा विस्तृत परियोजना प्रस्ताव तयार भएको रौता केबलकार निर्माणका लागि कानूनी प्रक्रिया पूरा गरी निजी क्षेत्रलाई आव्हान गर्ने नीति लिइनेछ ।
ट. त्रिनपा २ मा निर्माणका लागि प्रस्तावित सगरमाथा विमानस्थल निर्माण सुरु गर्न आवश्यक पहल तथा अन्तर सरकारी समन्वयअझ दरिलो बनाइनेछ । विमानस्थल क्षेत्रका वरपर विमान उडानमा प्रतिकूल असर नपर्ने गरी नयाँ एकीकृत सहर विकास गरिनेछ ।
ठ. सहरको आधुनिकीकरणका लागि सहरी शासकीय सुधार क्षमता तथा पूर्वाधार सुधार आयोजनासंगको साझेदारीमा त्रियुगा नगरको आधुनिकीकरण तथा व्यवस्थित सहरीकरणका आधारभूत कार्यहरुलाई निरन्तरता दिइनेछ । यसका लागि आगामी आर्थिकमा उल्लेख्य रकम व्यवस्थापन गरिनेछ ।
ड. “फुसको हैन टिन, आए हाम्रा दिन” कार्यक्रम अन्तर्गत संघीय तथा प्रदेश सरकारसंग समन्वयगरी नगरका अति गरिब तथा विपन्न घरका फुसको छानो हटाउने कार्य सम्पन्न गरिनेछ ।
ढ. त्रियुगा नगरपालिका वडा नं. १३ मा म्युजिकल फाउन्टेन सहितको मेयर्स पार्क निर्माण तथा नगरका सम्भावित स्थानहरुमा हरित पार्क निर्माण कार्यलाई अघि बढाइनेछ । साथै वडा नं. १२ त्रिवेणीमा हरित पार्क निर्माणलाई आगामी वर्ष निरन्तरता दिइनेछ । वडा नं. ४ को माटेखाडी वनमा चिल्ड्रेन पार्क र रातमाटेखोला वनमा चिडियाखाना तथा अन्य पर्यटकीय पूर्वाधार निर्माणका लागि उचित व्यवस्था गरिनेछ ।
ण. एक सहर एक पहिचान अन्तर्गत चप्पन जनज्योति महिला सामुदायिक वनभित्र निर्माण सुरु भएको पार्कलाई जिल्लाकै नमूना बहुआयामिक पर्यटकीय गन्तव्य बनाउने कार्यलाई आगामी वर्ष समेत निरन्तरता दिइनेछ ।तल्लो चप्पन सामुदायिक वनभित्र सुविधासम्पन्न वनभोज (पिकनिक स्थल) निर्माणलाई प्राथमिकतामा राखिनेछ ।
त. निजी क्षेत्रसंग लागत साझेदारीमा उर्जा, कृषि फोहर मैला व्यवस्थापन, सौर्य उर्जा, आवास गृहको निर्माण गरिनेछ ।
थ. बरुवा कोरिडोर र त्रियुगा सभ्यता विकास कार्यक्रमलाई निरन्तरता दिइने छ ।
द. नगरका पूर्वी क्षेत्रमा चौदण्डीगढी नगरपालिकाको सीमा,पश्चिममा मुर्कुची पुल दक्षिण तथा उत्तरी प्रवेश विन्दु छामलिङमा स्वागतद्वार ९गेट० निर्माण गरिनेछ । नगरको पर्यटन गुरु योजना यसै वर्ष सम्पन्न गरिनेछ ।

आर्थिक विकास तर्फका नीतितथा कार्यक्रमहरु
क. कृषि क्षेत्रलाई नगर अर्थतन्त्रको मुख्य आर्थिक क्षेत्रको रुपमा लिदै कृषिमा आधारित अर्थतन्त्र निर्माणमा जोड दिइनेछ । कृषि पेशालाई मर्यादित र आकर्षक पेशा बनाउन आवश्यक प्रबन्ध लिने नीति रहनेछ ।
ख. नगरले स्थापना गरेको शीतभण्डारको क्षमता विस्तारमा जोड दिदै सम्भाव्य स्थान पहिचान गर्दै कृषिउपज बजारको विस्तार तथा शेड निर्माणकालागि आवश्यक प्रबन्ध गरिनेछ । कृषकका लागि आवश्यक बीउबिजन वितरण, पशुपंक्षीपालन पकेट क्षेत्र विकास,कृषि उपजको स्थानीयकरण र बजारीकरणलाई प्राथमिकतामा राखिनेछ ।
ग. नगरमा रहेका बधशालाहरुलाई सफा, सुरक्षित र भरपर्दो सेवा दिने गरी नमूना वधशालामा रुपान्तरण गर्नका लागि उचित तरिका अबलम्बन गरिनेछ ।
घ. सुनकोशी लगायत नगर क्षेत्रमा पर्ने सम्भावित नदी प्रणालीमा जलविहार र आन्तरिक जल यातायातको विकास, सहकारीमार्फत स्थानीय पर्यटन प्रबर्द्धन र वडा नं. १४,१५ र १६ मा Hill station tourism तथा स्थानीय होमस्टे प्रबर्द्धनका लागि आवश्यक प्रबन्ध गरिनेछ । ग्रामीण पर्यटन, सहकारिता प्रबर्द्धन, स्थानीय मौलिक उत्पादन, प्राकृतिक स्रोतको उपयोग, बजार विस्तार र रोजगारी प्रबर्द्धनमा जोड दिइनेछ ।
ङ. सहकारीलाई नाफामुलक भन्दा सेवामुलक बनाउन प्रोत्साहित गरिनेछ । सहकारी मार्फत कृषि क्षेत्रमा गरिने लगानी प्रबर्द्धनका लागि आवश्यक कार्यनीति अबलम्बन गरिने छ । अल्लो, बेतबाँस, प्राकृतिक रेसामा आधारित उधमशीलताप्रबर्द्धन र लघु उद्यम विकास कार्यक्रमलाई थप प्रभावकारी रुपले अगाडि बढाइनेछ । युवा उद्यमशीलता प्रबर्द्धनका लागि ‘हामी उद्यमी हौं’ भन्ने कार्यक्रम संचालन गरिनेछ । जसका लागि अनुदान तथा साझेदारी विधिलाई अपनाइनेछ ।अदुवा, बेसार, तेजपात र मसलाजन्य उत्पादनलाई प्रबर्द्धन तथा व्यवसायिकरण गर्न प्रशोधन केन्द्र स्थापनाका अधुरा कार्यलाई संचालन गरिने छ ।
च. वैदेशिक रोजगारीमा जाने जनशक्तिलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउन सुरक्षित आप्रवासनलाई कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ । वैदेशिक रोजगारीबाट फर्किएका जनशक्तिलाई उद्योग, कृषि तथा अन्य भौतिक पूर्वाधारका क्षेत्रमा योग्यता तथा क्षमताका आधारमा रोजगारीको व्यवस्था मिलाईनेछ ।
छ. प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचिकृत बेरोजगारलाई आवधिक रोजगारी प्रदान गर्नुका साथै न्युनतम रोजगारी उपलब्ध गराउन विशेषज्ञता र क्षेत्र मिल्ने अन्य विकास कार्यमा उक्त जनशक्तिको परिचालन गरिने छ । सबैलाई सीप, सबैलाई रोजगारी जस्ता कार्यक्रमलाई युवा उद्यमशीलतासंग जोडेर अगाडि बढाइनेछ ।
ज. सुपथ मूल्य सहकारी पसल संचालनका लागि स्थानीय सहकारी र टोल विकास समितिलाई परिचालन गरिने छ । यसका लागि आवश्यक सहयोग तथा अनुदान समेत दिने नीति अबलम्बन गरिनेछ ।
झ. कृषि क्षेत्रमा प्रविधि हस्तान्तरण, कृषि कर्जा, बाली बीमा, माटो उपचार, माटो परीक्षण,बीउ उपचार लगायतका कार्यमार्फत कृषि पेशामा आश्रित जनसंख्यालाई आफ्नैपेशामा टिकाउने नीति अंगीकार गरिने छ।एक वडा एक कृषि उत्पादनको नीतिलाई निरन्तरता दिइने छ । प्राविधिक जनशक्तिलाई वडामै रहने प्रबन्धका लागि आवश्यक तयारी गरिनेछ । उपलब्ध श्रोत,साधन,पूँजी,सीपको प्रयोग गरी उत्पादन वृद्दिलाई जोड दिइने छ ।
ञ. नगरमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका जग्गाहरु पहिचान गरी लालपूर्जा दिन तथा सुकुम्बासी समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न उचित व्यवस्था गरिनेछ । आगामी वर्षभित्रै नगरक्षेत्रका ऐलानी, पर्ती तथा नदी उकासका भूमिहरुको पहिचान गरी नापी कार्य सम्पन्न गरी लालपूर्जा वितरण गरिनेछ ।
ट. नगर क्षेत्रमा भएका ऐलानी,पर्ती तथा नदी उकासका जग्गाहरुलाई नगर आफैले संरक्षण गरेको अवस्था भएका सो क्षेत्रमा साझेदारी वा एकल लगानीमा उत्पादनसंग जोडिने र नगर अर्थतन्त्रमा बढावा दिने कार्यहरु संचालन गर्न निजी क्षेत्र वा व्यवसायिक प्रतिष्ठान वा व्यक्तिबाट विधि पुर्याइ माग भएमा वस्तुस्थिति समेत विचार गरी माग गरिएको जग्गा आवश्यक व्यवस्थासहित लिजमा दिने नीति अख्तियार गरिनेछ । बाँझो जमिनको उपयोग सम्बन्धमा अभिलेख संकलन गरी उक्त जमिनमा सामूहिक खेती प्रणालीलाई प्रोत्साहित गरिने छ ।
ठ. नगर विकास कोषको आर्थिक तथा प्राविधिक सहयोगमा विभिन्न व्यवसायिक कार्यक्रम तथा भवन तथा आवश्यक पूर्वाधारहरु निर्माण गरी व्यवसाय संचालन गर्न आवश्यक सहयोग गरिनेछ । त्रियुगा बहुआयामिक व्यवसायिक भवन निर्माण तथा व्यवस्थापनको कार्यनीति अख्तियार गरिनेछ ।
ड. नगरमा रहेका सामुदायिक संस्थाहरुलाई एकीकृत गरी सहकारी संस्थामा रुपान्तरण तथा विकास गर्ने साथै सामुदायिक संस्थाहरुमा भएको पूजी तथा वचत रकमलाई रोजगारी सिर्जना, आयआर्जन र उत्पादनमूलक कार्यमा परिचालन गरिनेछ । यसका लागि सामुदायिक वन लगायतका निकायहरुसंग साझेदारी गरिनेछ ।
ढ. नगरलाई दूधजन्य पदार्थमा आत्मनिर्भर बनाउन तथा पशुपालक कृषकलाई व्यवसायियक बनाउन नगरका १-१३ सम्मका वडालाई गाई भैसी जोन र १४,१५ र १६ वडा, वडानं ७ को कालिखोला, कौवाई, वडा नं. ६ को लालपत्ता तथा वडा नं. ५ को दमौति र बुर्जाकान्ला क्षेत्रलाई बाख्रापालन जोनको रुपमा विकास गरिनेछ । दुधको उत्पादन, प्रशोधनदेखि वजारीकरणसम्मका कार्यमा दुग्ध किसानहरुलाई सहयोग पुर्‍याउन प्रशोधन केन्द्र संचालन गरिनेछ ।
ण. उत्तराई टोल, देउरी, जलजले, मोहनपुर र चुहाडे क्षेत्रलाई ओद्योगिक ग्राम रुपमा विकास गरिनेछ ।
त. वास्तविक किसानहरुको पहिचान गरी किसान परिचयपत्र वितरण गर्ने साथै कृषिसेवाको उच्चतम सुविधा उपलब्ध गराइनेछ ।
थ. नगरभित्र रहेका धार्मिक, सांस्कृतिक तथा पर्यापर्यटन क्षेत्रको पहिचान गरी तिनको अध्ययन, संरक्षण र विकास गरिनेछ ।
द.  चुरिया जंगल क्षेत्रमा रहेका पुरातात्विक तथा ऐतिहासिक स्थलहरुको संरक्षण तथा प्रचार प्रसार गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनेछ ।
ध. “हातमा सीप छ तर छैन औजार, धन्दा नमान्नु तयार छकृषि बैंक औजार” भन्ने नाराका साथ हरेक वडामा कृषि औजार तथा सामाग्री बैंक स्थापनाको प्रबन्ध मिलाइनेछ । तोकिएको लक्ष्यभन्दा बढी उत्पादन गर्ने कृषकलाई प्रोत्साहन गरिनेछ ।
न. त्रियुगा नगर क्षेत्रमा रहेका सबै बैंक तथा वित्तीय संस्थाहरुको सामाजिक दायित्वको नीतिलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न आवश्यक नीतिगत व्यवस्थासहित कार्यक्रम संचालन गरिनेछ ।

सामाजिक विकास तर्फ नीतितथा कार्यक्रमहरु
क. सामुदायिक विद्यालयलाई आधुनिक शैक्षिक प्रविधिसंग जोड्दै शैक्षिक गुणस्तरको लक्ष्य हाँसिल गर्न प्रविधिमैत्री शिक्षामा जोड दिइनेछ । हरेक वडामा शैक्षिक गुणस्तरका आधारमा एक नमूना विद्यालय विकास गर्ने कार्यक्रम अगाडि बढाइनेछ ।एक विद्यालय एक बालविकास केन्द्र, एक माध्यमिक विध्यालय एक स्वास्थ्यकर्मीको अवधारणालाई प्राथमिकतामा राखिनेछ ।
ख. नगरशैक्षिक सम्मेलनबाट पारित ५६ बूँदे शैक्षिक सुधारको कार्यक्रमलाई यथोचितरुपमा क्रमशस् कार्यान्वयन गर्दै लगिनेछ ।
ग. प्रत्येक आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ल्याब सेवाको व्यवस्था गर्दै गुणस्तरीय सामुदायिक स्वास्थ्य सेवा प्रवाह गरिनेछ । साथैआकस्मिक शल्यक्रिया र प्राथमिक ट्रमा सहितको प्राथमिक अस्पताल निर्माण कार्यलाई प्राथमिकतामा राखिनेछ । नगरमा एक १५ शैयासम्मको अस्पताल निर्माणका लागि आवश्यक अध्ययन गर्दै कार्यान्वयनमा लगिनेछ ।
घ. स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी रुपले अगाडि बढाइनेछ ।
ङ. जिल्ला अस्पतालमा नर्सिङ तथा मेडिकल शिक्षा थालनी गरी त्रियुगा नगरपालिका वडा नं ४ बगाहामा मेडिकल कलेज स्थापना गर्नको लागि संघीय सरकार तथा प्रदेश सरकारसंग समन्वय र सहकार्य गरिनेछ ।
च. नगरमा एक घुम्ती शौचालय स्थापना गरी मुख्य बजार क्षेत्रमा भीडबाड हुने स्थानमा व्यवस्थापन गरिनेछ । एक वडा एक सार्वजानिक शौचालय, एक घर-एक धारा, एक घर-एक करेसावारीर सहरिया क्षेत्रमा कौशी खेतीलाई प्रबर्द्धन गरिनेछ ।
छ। नगरस्तरीय साईकल लेन,व्यायामशाला तथा योगाभ्यास केन्द्र एवं नगरका सबै वडामा खेलकूद पूर्वाधार अन्तर्गत एक वडा एक खेल मैदान निर्माणको योजनालाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गरिनेछ ।
ज. खाद्य प्रणालिको स्थानीयकरण गरी खाद्य सुरक्षा र सम्प्रभुताका लक्ष्य हाँसिल गर्दै आधारभूत पोषण सुनिश्चित गर्ने, बहुक्षेत्रीय पोषण कार्यक्रमको माध्यमबाट विपन्न, लक्षित वर्गहरुमा पोषण सुनिश्चित गरी दीगो विकासका पक्षलाई कार्यान्वयनमा लगिनेछ ।
झ. बालबालिका तथा युवा लक्षित कार्यक्रमलाई थप प्रभावकारी बनाइ अगाडि बढाइनेछ। युवा समुदायको क्षमता विकासको निम्ति विशेष योजना सहितका कार्यक्रमहरु तर्जुमा गरिनेछ ।
ञ. लैंगिकतथा सामाजिक समावेशीकरण नीति तर्जुमा गरी कार्यान्वयनमा लगिने छ । समानता र प्रतिनिधित्व, लैंगिक उत्तरदायी बजेटको सुनिश्चिततागर्दै हिंसा पीडित महिलाका लागि मनोसामाजिक परामर्श, आपतकालीन पुर्नस्थापना केन्द्र र कोष निर्माणलाई प्राथमिकता दिइनेछ ।
ट. नगरमा परिचालित सबै टोल विकास संस्थाहरुको क्षमता अभिवृद्दि गर्दै बीउ पूँजि व्यवस्था गरी अन्य क्षमता विकासका कार्य संचालन गरिनेछ । स्थानीय तहको grass-root मा रहेका टोल विकास संस्थाको भूमिकालाई वृहत्तर बनाउदै विकासका सबै गतिविधिहरुमा सहभागी गराइनेछ ।
ठ. नगरमा सम्भाव्यता भएका विभिन्न विद्यालयहरुमा प्राविधिक धारको अध्ययन अध्यापन गराउने नीति अंगीकार गरिनेछ । यस कार्यमा पहाडी विद्यालयहरुलाई उच्च प्राथमिकतामा राखिनेछ ।
ड. न्यायीक समितिको क्षमता अभिवृद्धि गरी न्याय सम्पादन कार्यलाई प्रभावकारी वनाईनेछ । नगर तथा वडास्तरीय मेलमिलाप केन्द्र तथा मेलमिलापकर्ताहरुको परिचालन तथा क्षमता विकासलाई विशेष प्राथमिकतामा राखिनेछ ।
ढ. सामाजिक सुरक्षा कार्यक्रमका नयाँ तथा पुराना सबै लाभग्राहीहरुको भत्ता वितरणमा पारदर्शीता र विश्वसनियता कायम गर्नव्यवस्थापन सूचना प्रणाली बमोजिम हुनेगरी सबैं कारोबारलाई बैंकबाट गरिने तथा बैंकिङ पहुँच नहुने वडामा टोलवस्तीबाटै सबै भत्ता वितरण कार्य गरिनेछ ।
ण. त्रियुगा जनता बहुमुखी क्याम्पसलाई प्रादेशिक विश्वविद्यालयको रुपमा विकास गर्न थालिएका प्रयासहरुलाई निरन्तरता दिदै प्रदेश तथा संघीय सरकारसंग आवश्यक समन्वय र सहकार्य गरिने छ । बरुवा क्याम्पसलाई ईन्जिनियरिङ कलेजको रुपमा विकास गर्न थालिएका प्रयासलाई थप प्रभावकारीरुपले अघि बढाइनेछ ।
त. कोभिड-१९ लगायतका विविध संक्रामक तथा महामारी रोग नियन्त्रणका लागि उच्च सतर्कताका साथ श्रोत व्यवस्था गरिनेछ ।
थ. स्थानीय संचार माध्यमहरुलाई विकास कार्यहरुसंग जोड्न विकासका लागि संचार (media for development) कार्यक्रम कार्यान्वयन गरिनेछ ।
द. नगरमा रहेका अपाङ्गहरुलाई जीविकोपार्जन लगायतका कार्यमा सहजीकरण गर्नका लागि आवश्यकतामा आधारित कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्दै सामाजिक पुनर्स्थापना गरिनेछ ।
ध. समाजमा बहिस्करणमा परेका वर्ग,समुदायहरु मधेशी, मुस्लिम, पिछडावर्ग, दलित, आदिवासी जनजाति लगायतका समुदायको संस्कृति संरक्षण र उत्थान सम्बन्धि कार्यक्रम अघि बढाइनेछ ।
न. नगरका ज्येष्ठ नागरिकहरुलाई स-सम्मान जीवनयापन गर्ने वातावरण तयार गर्न उनीहरुको क्षमता विकास कार्यलाई जोड दिइने छ । यसका लागि “जेष्ठ नागरिकको हेरचाह, लौरो र रेडियो सहारा” नारामा आधारित भएर टोपी, लाठी र रेडियोउपलब्ध गराइनेछ र वाद्यवादनका सामाग्री तथा धार्मिक पुस्तकहरुको सुविधासहितको एउटा जेष्ठ नागरिक चौतारी निर्माण गरिनेछ ।
ऩ. विगत देखि संचालनमा आएका खेलकूद कार्यक्रमलाई निरन्तरता दिदै लोपोन्मुख खेलहरुको जगेर्ना गर्न र सबैको सहभागिता सुनिश्चित गर्नका लागि परम्परागत खेलकूद प्रतियोगिताहरु आयोजना गरिनेछ । यसले नगरको खेल पर्यटनमा योगदान गर्नेछ ।
प. मेयरकप फुटबल र उप-मेयरकप भलिबल कार्यक्रमलाई निरन्तरता दिइने छ । थरुहट रंगशालाको नियमित संरक्षण तथा सम्बर्द्धन र स्तरोन्नतिका लागि आवश्यक व्यवस्था गरिनेछ । नगर क्रिकेट रंगशाला आगामी वर्ष सम्पन्न गरि क्रिकेटको जग बसाइनेछ ।
फ. छोरी जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएवापत दिईने प्रोत्साहन रकमलाई निरन्तरता दिइने छ । अपांग परिचयपत्र वितरण कार्यलाई सहजताका साथ अगाडि बढाइने छ ।
ब. जनतासंग मेयर कार्यक्रम र जनतासंग उपमेयर कार्यक्रमलाई प्राथमिकतामा राखिनेछ ।
भ. अभरमा नगर कार्यक्रमलाई निरन्तरता दिइने छ ।
म. नगरमा रही साहित्य सिर्जना, प्राज्ञिक लेखन तथा अनुसन्धानमा महत्वपूर्ण योगदान दिइ नगरको श्रीवृद्धिमा योगदान गर्ने त्रियुगावासी स्रष्टाहरुलाई सम्मान गरिनेछ । नगरका स्रष्टा, सर्जक तथा प्राज्ञिक व्यक्तित्वलाई प्राज्ञिक केन्द्रको रुपमा “कामको कदर गरौं,अनुभव र ज्ञानलाई सदर गरौं” भन्ने नाराका साथ त्रियुगा संस्कृति केन्द्र स्थापना गरिनेछ ।
य. नगरका विद्यालयमा अध्ययनरत युवा विद्यार्थीहरुलाई सामाजिक संजाल र साइबर कानूनबारे सचेतनामुलक कार्यक्रम संचालन गरिने छ ।
र.  सबै वडाका विद्यालयहरुलाई समेटी बालबालिका तथा किशोरीहरुका लागि “आफ्नो सुरक्षा आफै गरौं, अबला हैन सबल बनौं”भन्ने अभियानका साथ आत्मरक्षा शिविर तथा तालिम संचालन गरिनेछ । हरेक विद्यालयसम्मको पहुँच मार्ग कम्तीमा दुई पाङ्ग्रे सवारी साधन पुग्न सक्ने बनाइनेछ ।
ल. ज्याला मजदूरहरुको निशूल्क बैंक खाता खोल्ने कार्यलाई आगामी वर्षपनि निरन्तरता दिइनेछ ।
ळ. बालबालिकाहरुका लागि बाल उद्यान तथा फन पार्क खोल्ने कार्यलाई प्राथमिकता दिइनेछ ।
व. “घरघरमा नर्सिङ सेवा हाम्रो स्वास्थ्य हाम्रै पेवा” कार्यक्रम अन्तर्गत बालबालिका, महिला र वृद्ध तथा असक्तहरुको नियमित स्वास्थ्य परीक्षण गर्न घरघरमै स्वास्थ्यकर्मी परिचालन गरिनेछ ।
श. कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने बालबिलकाहरु घरबाट हिडेदेखि नफर्कैसम्म हुने सम्भावित दुर्घटनाको बीमा गरिनेछ ।
ष. “क्षमता र प्रतिभाको कदर गरौं, नगर विकासमा सहयोग गरौं” भन्ने नाराका साथ युवाहरुको सीप, क्षमता तथा प्रतिभा प्रबर्द्धन गर्न विभिन्न कार्यक्रम संचालन गरिनेछ ।
स. शिक्षा, स्वास्थ्य जस्ता आधारभूत पक्षको विकासका लागि अधिकतम श्रोत साधन परिचालन गरिनेछ ।
क्ष. १-३ कक्षासम्म अध्ययन गर्ने नगरका सबै मुसहर तथा डोम समुदायका विद्यार्थीलाई विद्यालय पोषाक तथा ब्याग वितरण गरिनेछ ।

वातावरण तथा विपद् व्यवस्थापन तर्फ नीतितथा कार्यक्रमहरु
क. “धुवारहित चुलो आमाको स्वास्थ्य ठूलो” कार्यक्रम अन्तर्गत विद्युतीय चुलो प्रयोग गर्न प्रोत्साहित गरिनेछ । फोहोरमैला व्यवस्थापन तथा बहुउद्देश्यीय प्रशोधन केन्द्र र वायोग्यास प्लान्ट स्थापना गर्न आवश्यक प्रबन्ध मिलाइनेछ ।
ख. नगरमा रहेका सिमसार,पोखरी,तालतलैया तथा जलाधार व्यवस्थापन गर्दै सामुदायिक वनलाई प्रकृतिमा आधारित पर्यटकीय गन्तव्य बनाईनेछ ।
ग. वनजन्य कच्चा पदार्थमा आधारित सामाग्रीहरुको प्रयोगबाट सहकारिता तथा साझेदारीका माध्यमबाट काठ, गैरकाष्ठ वा जडिबुटी सम्बन्धि साना तथा मझौला उद्योग स्थापनामा जोड दिइनेछ । दीगो वन व्यवस्थापन र मानव-वन्यजन्तु द्वन्द्व न्युनिकरणमा जोड दिइनेछ ।
घ. जलवायु परिवर्तनको अनुकूलन तथा बहुप्रकोप जोखिम आँकलन तथा नक्सांकन प्रणाली तथा प्रकोप व्यवस्थापन सम्बन्धि सक्षमता अभिवृद्दि गर्न नदी किनारामा वृक्षारोपण गर्ने साथै नदीको स्वच्छता कायम राख्न ढल निकास र फोहोरमैलारहित बनाउने कार्य लाई निरन्तरता दिइनेछ ।
ङ. टोल विकासको परिचालनबाट “मेरो घर हरित घर” अभियानलाई निरन्तरता दिदै पुष्पबाटिका निर्माण तथा सबै प्रकारका प्रदूषण रोकथामका लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
च. फोहोर व्यवस्थापन चक्रको थालनी गरी तोकिएको मापदण्ड बमोजिम प्लाष्टिकजन्य सामाग्रीको प्रयोग र पुनस्प्रयोगलाई जोड दिइनेछ ।
छ. आगामी आर्थिक वर्षभित्र फोहोर व्यवस्थापन तथा वायोग्यास केन्द्र संचालनमा ल्याई निजी क्षेत्रसंगको साझेदारीमा फोहोर व्यवस्थापन गरिनेछ ।
ज. साना तथा ठूला नदी प्रणालिमा तटबन्ध निर्माण तथा वृक्षारोपणलाई निरन्तरता दिइने छ ।
झ. जडिबुटीको व्यवसायिकरण तथा दुर्लभ तथा लोपोन्मुख जडिबुटिको व्यवसायिक खेतीलाई प्रोत्साहित गर्दै आयुर्वेदिक चिकित्सा पद्धतिलाई प्रबर्द्धन गरिनेछ ।

सार्वजानिक सेवा क्षमता विकास तर्फ नीतितथा कार्यक्रमहरु
क. स्थानीय सरकारको अधिकारक्षेत्र तथा परिधीमा रही शासकीय इकाइका रुपमा सेवा प्रवाह सम्बन्धि सबै प्रकारका कानूनी रिक्ततालाई पूर्ति गरिनेछ ।
ख. नगर तथा वडा कार्यालयहरुको व्यवस्थापकीय तथा संरचनागत ढाँचामा परिवर्तन तथा सुधार ल्याइनेछ ।
ग. कर्मचारी तथा जनप्रतिनिधिहरुको क्षमता विकास र तालिमलाई निरन्तर रुपमा संचालन गरिनेछ । शाखागत पदाधिकारीहरुको कार्य सम्पादनलाई थप प्रभावकारी बनाउन र संस्थागत सक्षमता कायमगर्न कार्यसम्पादन सम्झौता गरिनेछ ।
घ. सुशासनका सबै आयामको उच्चतम पालनागर्दै भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्वन गरिनेछ ।
ङ. वडा तहको संस्थागत सक्षमता अभिवृद्धि गर्न रु.५,००,०००।०० ९पाँच लाख० सम्मका वडास्तरका योजना तथा कार्यक्रमको कार्यान्वयनको वडालाई दिइएको आर्थिक तथा प्रशासनिक अधिकारसहितको अख्तियारीलाई निरन्तरता दिईनेछ ।
च. योजना अनुगमन तथा बजार अनुगमन र नियमनलाई नियमित र थप प्रभावकारी बनाउन नागरिकस्तरमा सहकार्य गरिनेछ । आगामी वर्ष उपभोक्ता हित संरक्षण मञ्च गठन गरिनेछ ।
छ. सार्वजानिक सुनुवाइ,अर्धवार्षिक तथा वार्षिक समीक्षा लगायत सुशासनका तत्वहरुलाई प्रभावकारीढंगले कार्यान्वयन गरिनेछ ।
ज. नगरका निर्णय तथा विभिन्न सूचनालाई नियमित रुपमा वेभसाईट मार्फत सरोकारवाला पक्षसंग पुर्याउने कार्यलाई नियमितरुपमा निरन्तरता दिइनेछ ।
यसका अलाबा नगरले विगतका वर्षहरुमा अबलम्बन गरेका नीतितथा कार्यक्रमहरुलाई उच्च रुपमा सम्बोधन गरिनेछ ।

नीति तथा कार्यक्रम निर्माणका सिलसिलामा निम्न पक्षहरुलाई उच्च प्राथमिकता सहित तर्जुमा गरिनेछ :
क) कृषि, पर्यटन, उद्योग र भौतिक पुर्वाधार तथा मानव संशाधनक्षेत्रको विकास ।
ख) स्वरोजगारीका अवसर विस्तार गर्दै युवा जनशक्ति केन्द्रित कार्यक्रमहरु संचालन ।
ग) सिमान्तकृत वर्ग, कठिन भूगोल, विभेदमा परेको वर्ग वा समुदायमा केन्द्रित कार्यक्रमहरु सञ्चालन ।
घ) नगर गौरव, वडा गौरवका आयोजनाहरु पहिचान गर्दै ती आयोजनाहरु को क्रमशस् कार्यान्वयन ।
ङ) विभिन्न विकास साझेदारसंग साझेदारी र सहकार्यमा संचालन हुने नगर प्राथमिकता प्राप्तआयोजनाहरु कार्यान्वयन ।
च) संघीय तथा प्रदेश सरकार र स्थानीय तहबीच हुने दुईपक्षीय एवम बहुपक्षीय साझेदारी र सहकार्यमा सञ्चालन हुने योजनाहरु कार्यान्वयन ।
छ) लक्षित एवम् सामाजिक समावेशीकरणकार्यक्रमहरुको कार्यान्वयन ।
ज) नगरको प्रथम आवधिक योजनाले निर्दिष्ट गरेको लक्ष्य र उद्धेश्य हाँसिल हुने कार्यक्रमहरुको कार्यान्वयन ।

सभाध्यक्ष महोदय,
१२. अव म आगामी आ.व.२०७८/७९ को बजेट तर्जुमा गर्दाका नीतिगत आधारहरु प्रस्तुत गर्ने अनुमति चाहान्छु ।
क) नेपालको संविधानको अनुसूचि ८ मा उल्लेखित स्थानीय तहको अधिकारसूचिमा निहित विषयहरु
ख) स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा उल्लेखित विषयक्षेत्र अनुसारको योजना तर्जुमा प्रकृया
ग) संघीय तथा प्रदेश सरकारका नीति तथा कार्यक्रमहरु
घ) यस नगरको पञ्चवर्षीय आवधिक योजनाका क्षेत्रगत रणनीति र कार्यक्रमहरु
ङ) नेपाल सरकारवाट प्राप्त हुने मार्गदर्शन तथा बजेट सीमाहरु
च) संघीय तथा प्रदेश सरकारको बजेट वक्तव्य
ज) संयुक्त राष्ट्र संघीय दीगो विकास लक्ष्यहरु तथा कार्यक्रम
छ) बजेट तर्जुमाका सन्दर्भमा भएका स्थानीय राजनैतिक दलहरु, सल्लाहकार सदस्यहरु, स्थानीय नागरिक समाजर सरोकार वालाहरुसंगको छलफलवाट प्राप्त सुझावहरु

सभाध्यक्ष महोदय,

१३.  अब म आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तावित बजेट सम्मानित नगरसभा समक्ष पेश गर्ने गर्न चाहान्छु ।१४. आ. व. २०७८/७९ को वडा बजेट सिलिङ १ करोड २५ लाख कायम गरिएको छ । सो एक करोड २५ लाख मध्ये २५ लाख त्रियुगा नगरपालिकाले निर्धारण गरेको पूर्वाधार शीर्षकमा विनियोजन गर्नेगरी सशर्त बजेटको रुपमा रहनेछ । बाँकी १ करोड बजेटलाई वडा कार्यालयले ऐलानी जग्गा व्यवस्थापन, विपद व्यवस्थापन, शिक्षा, स्वास्थ्य, पर्यटन, सहकारी, महिला, एकल महिला, दलित, आदिवासी जनजाति, पर्व, महोत्सव, वृद्ध, बालबालिका, अपाङ्ग, कृषि, पशुपालन जस्ता क्षेत्रगत विषयमा अनिवार्यरुपमा विनियोजन गर्नुपर्नेछ ।

१५.अन्तमा यो बजेट तर्जुमा प्रक्रियामा सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

 

                                                                                                                 बलदेव चौधरी

                                                                                                                  नगर प्रमुख

                                                                                                             त्रियुगा नगरपालिका

 

तपाईको प्रतिक्रिया