उदयपुर । थारु समुदायको महान पर्व जितिया ब्रत आज शुक्रबार विसर्जन वा सम्पन्न भएको छ । जितिया सूर्यको छोरा जितमहान भगवानको पूजाअर्चना गरी समापन गरिएको हो । ब्रतालु महिलाहरुले नदी या तलाउमा स्नान गरी खली र तेल चढाई सूर्यलाई अर्घ अर्पण गरि दिनभर रमाईलो र मिठो मसिनो खाएर यो पर्वको समापन भएको हो ।
जितियाको पारन अर्थात विसर्जन तोकिएको समयभन्दा अगाडी हुँदैन् । बर्तालुले पारनको दिन घर आँगन र देवता घर लिप पोत गरी आँगनमा चौका बनाई जेठो बहिनी अगाडी बसेर त्यसपछि क्रमशः अरु बहिनीहरु पनि आ–आफ्लै बनाएको चौकामा बस्छिन् भनि थारु संस्कृति अध्येता बुद्धसेन चौधरीद्वारा लिखित लेखको ‘जितिया ब्रत या विध’ मा उल्लेख छ ।
बर्तालु महिलाले हथले कुटेको च्युरा, दही, केरा, पाँच वटा पान, पाँच वटा सुपारी चढ्हाइन्छ । दियो अर्थात चिरखा बालेर धुप अगरबती दिने चलन रहेको छ । चौकामा दुई वटा सिन्दुरको डाढी तानेर विचमा पहिले तुलसीको पात त्यसपछि पानको पात राखिने चलन रहेको छ । त्यस पानको पातमा सुपारी, बोटरा राखिन्छ । घिरौलाको पातमा दहि, गुड, चुरा, घिरौलाको फुल, जितियाको फुल, कचनाइर फुल, बाङको विउ चढाईन्छ ।
त्यसपछि बर्तालुले गौरा खरको चोरी औला र बुढी औलाले त्यस खरलाई टुक्राउँदै तीन तीन पटक अगाडी पछाडी (पूर्व पश्चिम) दायाँ बायाँ (उत्तर दक्षिण) दिसामा फ्याकिन्छ । त्यसपछि पुजामा जल चढाएर पाँच वटा बौटरा, पाँच वटा अक्षता दाँतमा छुवाएर घोटने चलन छ । त्यसपछि दही चुरा खाई अन्य मिठा मिठा परिकार खाने चलन रहेको छ ।
यस्तै कसैले आगामी दिनमा जितिया गर्दिन भन्दा अक्षत र बौटरा खाँदैन । त्यसपछि बर्तालुले घिरौलाको फुल, पानको पात लगायतका चिजविज नदि वा तलाउमा बगाई दिन्छ । दही च्युरा प्रसादको रुपमा छोरा छोरीलाई दिइन्छ भने पान र सुपरी बर्तालु आफैले खानछिन । नखानेले पानीमा बगाई दिन्छ ।
हिन्दु नारीहरुले मनाउने हरितालिका तीजसँग मिल्दो जुल्दो चाड जितिया पर्व हो । बुधबार सतमी (सप्तमी) तिथिमा लहाइ (नुहाउने) अर्थात राति दर खाने, विहिबार उपास अर्थात व्रत बस्ने र शुक्रबार पारन (बिसर्जन) गरेको हो । खासगरी महिलाहरू आआफ्ना सन्तानको दीर्घायु, सुखसमृद्घि र मनोकामना पूर्ण गराउन जितियाको व्रत लिन्छन् ।
थारु समुदायमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रुपमा मानिन्छ । विवाहित थारु महिलाहरुले जितमहान मन्दिरमा आई सन्तानको दिर्घ जीवनको कामना गर्दै जितिया मनाएका थिए भने अविवाहितहरुले राम्रो पति पाउँ भनी व्रत वसेर जितिया मनाएका थिए ।
किवदन्ती अनुसार उपवास बसेका दिन महिलाहरुले डकार गरे अथवा मुखले खकार वा जिव्रो टोके भने व्रत असफल भएको मानिन्छ । एक पटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिन् थारु पण्डित बासुदेव चौधरीले बताए ।
राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई जिमुत बहान नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन रहेको छ ।
सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व समेत छ । यो पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्ने गरेको छ ।