सुखिलाल चौधरी, उदयपुर । आर्थिक वर्ष २०७६÷७७ को बजेटमा उदयपुर जिल्लालाई लक्षित गरी विभिन्न १० आयोजना प्राथमिकतामा परेपछि जिल्लावासी उत्साहित भएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार सार्वजनिक गरेको बजेटमा उदयपुरलाई लक्षित गरी त्रियुगा नदी नियन्त्रण, उदयपुर सिमेन्ट उद्योग क्षमता विस्तार, कोशी करिडोर निर्माण, जल तथा मौसमको साथै बाढी पूर्वानुमानका लागि राडर जडान, पर्यटन क्षेत्र लगायतका आयोजना प्राथमिकतामा परेसँगै जिल्लाबासी उत्साहित भएका हुन् ।
संघीय सरकारले संसदमा बुधबार पेश गरेको बजेट सकारात्मक रहेको उल्लेख गर्दै यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् । सबै क्षेत्रलाई समेटिएकाले रोजगारी बढाउने खालको बजेट आएको यहाँका नागरिक समाजका अगुवाहरुले बताएका छन् । मुलुकको यथार्थ बुझेर समृद्धिको दिशामा अघि बढ्ने खालको बजेट आएको र निराशाभन्दा उत्साह धेरै रहेकाले कार्यान्वयनका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको उनीहरुले बताए ।
औद्योगिक क्षेत्रको स्थापना, उद्योग नीतिमा परिवर्तन, कृषिमा अनुदान, वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई सहुलियत ऋणजस्ता योजना र कार्यक्रमले औद्योगिक विकासमा टेवा पुर्याउने देखिन्छ । बजेट महत्वाकांक्षी देखिए पनि यसको कार्यान्वयन हुन सके मुलुकलाई लाभ हुने प्रतिक्रिया उनीहरुले दिएका छन् । ‘उदयपुरलाई आर्थिक समृद्धितर्फ लैजाने गरी ल्याइएका ठूला योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ’, त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाका अर्थशास्त्रका प्राध्यापक पेशल आचार्य भन्छन, ‘बजेट जनमूखी र आर्थिक वृद्धिदर हासिल गर्ने दिशातर्फ उन्मुख छ । तर विकास बजेट पूर्णरुपमा खर्च नभएका विगतका यथार्थहरु हामीसँग छन् । सरकारले बजेट कार्यान्वयन पक्षलाई बलियो बनाउन सके हामीले चाहेको विकास र समृद्धि सम्भव छ ।’
प्राध्यापक आचार्यले उदयपुर जिल्लाको सन्दर्भलाई जोड्दै पूर्वी नेपालको आर्थिक केन्द्रविन्दुका रुपमा विकास गर्ने उद्देश्यले बजेट विनियोजन गरेको बताउँदै यस जिल्लाका निम्ति अहिलेसम्मकै सुनौलो अवसरका रुपमा बजेट आएको दाबी गरे । उनका अनुसार सर्वप्रथम बजेट विनियोजित हुँदैमा सवै थोक हुने होइन् । यसको कार्यान्वयन पक्षमा इमान्दारिता देखाउनु पर्ने प्रध्यापक आचार्यले बताए । ‘यस जिल्लालाई लक्षित गरी बजेटमा समावेश गरिएका योजना अत्यन्तै राम्रा र जनमुखी छन् । हामीले कार्यान्वन पक्षलाई हेर्न बाँकी नै छ । यी योजना सफलरुपमा कार्यान्वयन भए यहाँको विकासले सोचेभन्दा धेरै फड्को मार्नेछ’, प्रध्यापक आचार्यले भने ।
यस्तै बरुवा क्याम्पस प्रमुख भिम खड्काले बजेटले सबै क्षेत्रलाई ओगटेको र समाजमा प्रभाव पार्ने हिसाबले वितरण गरिएकाले सकारात्मक रहेको बताए । ‘समाजवाद उन्मुख बजेट भनिएको छ, बजेटमा नयाँ आयोजना पनि समावेश गरिएका छन, पुराना आयोजनालाई निरन्तरता दिनुपर्नेछ । विगतमा पनि बजेटको कार्यान्वयन पक्ष भने चुनौतीपूर्ण र निकै फितलो देखिएको छ, यसमा सुधार जरुरी देखिन्छ’, प्रमुख खड्काले भने ।
उनले राजश्व आम्दानी कम रहेकाले बजेट कार्यान्वयन पक्ष कमजोर हुनसक्ने आँकलन गरे । प्रमुख खड्काले भने, ‘बजेटको तुलनामा राजश्व आम्दानी निकै कम छ । विदेशी अनुदान तथा ऋण सहयोगले पनि केही टेवा पुर्याउला तर आन्तरिक आम्दानीलाई व्यवस्थित गरेर राजश्व रकमलाई बढाउनुपर्ने सरकारसँग चुनौती छ । विगतका बजेट कार्यान्वयको पाटोलाई हेर्ने हो भने विकास बजेट निकै कम खर्च भएको अवस्था छ, यसमा विशेष ध्यान दिनुपर्छ ।’
त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतले निजी क्षेत्रका लागि समयमै बजेट आउनु स्वागतयोग्य भएको बताए । उनले भने, ‘हामीले बजेटको स्वागत गरेका छौँ, निजी क्षेत्रका केही कुरा अट्न सकेका छैनन्, कर वृद्धिका विषयमा हाम्रा केही असन्तुष्टिहरु छन् । तर हामीले समग्रमा बजेट राम्रो भएकामा खुशी व्यक्त गरेका छौँ ।’
अध्यक्ष भगतले निजी क्षेत्रले उठाएका धेरै विषय बजेटमा समावेश भएको बताए । ‘बजेटले स्वदेशी उत्पादनलाई प्रोत्साहन गरेको छ । यसले निजी क्षेत्रलाई निकै राहत महसुस भएको छ । तर जसरी ठूलो आकारमा बजेट आउँछ, कार्यान्वयनका समयमा खुम्चिन्छ र निकै कम बजेट खर्च हुन्छ’, उनले भने, ‘सरकारले ठूलो आकारको बजेट ल्याएर मात्र हुँदैन, कार्यान्वयनमा कडाइ गर्नुपर्छ ।’
नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरका अध्यक्ष मधुकर थापाले बजेटले उदयपुरमा उत्साह थपिएको बताए । उनले भने, ‘सबै क्षेत्रलाई समेटेर बजेट आएको छ । उदयपुरमा पहिलेको भन्दा धेरै आयोजनाहरु समेटिएका छन् । यसले जिल्लावासीका लागि सुनौलो अवसरसँगै चुनौती पनि थपिएको छ ।’ सरकारले ल्याएको बजेट कार्यान्वयनमा नागरिकको पनि हातेमालो जरुरी रहेको भन्दै अध्यक्ष थापाले पनि बजेट कार्यान्वयन पक्षलाई दरिलो बनाउनु पर्नेमा जोड दिए ।
उनले भने, ‘सरकारले प्राथमिकीकरण गरेका आयोजना सम्पन्न गर्न नागरिकले सहज वातावरण तयार गर्नुपर्छ । आयोजना सञ्चालनका क्रममा बाधा अड्चन ल्याउनु हुँदैन । तर सरकारले बजेटमा उल्लेख गरेका आयोजनाहरुलाई तोकिएकै समयमा सम्पन्न गर्न सक्नुपर्दछ । बजेट घोषणा गरेर मात्रै हुँदैन, त्यसको कार्यान्वयनलाई पनि दरिलो बनाएर लैजानु पर्छ ।

प्राथमिकतामा परेका आयोजना
उदयपुरमा विशेष गरी १० आयोजनालाई महत्वका साथ हेरिएको छ । प्राथमिकतामा परेका यि आयोजानहरुको कार्यान्वन पक्षमा गए उदयपुर समृद्ध उदयपुर बन्न सक्छ ।
मानव वस्ती, कृषियोग्य जमिन र अन्य राष्ट्रिय महत्वका स्रोत र सम्पदाको सम्वद्र्धन गर्न नदी किनारमा तटबन्ध निर्माण गर्न हरित प्रविधिको प्रयोगलाई जोड दिँदै जनताको तटबन्ध कार्यक्रम अन्तर्गत त्रियुगा नदी नियन्त्रण प्राथमिकतामा परेको छ । त्रियुगा, कोशी, कमला, नारायणी, कर्णाली सहितका नदीलाई ५ अर्व ७३ करोड रकम विनियोजन गरिएको छ ।
मौसम तथा बाढी पूर्वानुमानलाई गुणस्तरीय र विश्वसनीय बनाई जल तथा मौसमजन्य विपदबाट हुन सक्ने धनजनको क्षतिलाई न्यूनीकरण गर्न आधुनिक तथा स्वचालित जल तथा मौसम मापन उपकरणहरु तथा प्रणाली जडान गर्न उदयपुर र पाल्पामा थप दुई राडारहरु स्थापना गर्न ५९ करोड विनियोजन गरिएको छ ।
नेपाल सरकारकै सवैभन्दा ठूलो सरकारी स्वामित्वबाट संचालित उदयपुर सिमेन्ट उद्योगको क्षमता विस्तार गर्न बजेटमार्फत सम्बोधन गरिएको छ ।
कोशी नदीमा जलयातायात पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिएको छ । कोशी जलाधारको एकिकृत व्यवस्थापन रणनीति तयार गरी भूसंरक्षणका क्रियाकलापहरु संचालनको लागि समेत बजेटमा सम्बोधन गरिएको छ ।
कोशी करिडोर, चतरा–लेगुवा–अरुण करिडोर सडक प्राथमिकतामा परेको छ भने चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौडा मदन भण्डारी राजमार्ग निर्माणका लागि ४ अर्व ८२ करोड रकम विनियोजन भएको छ ।
नेपाललाई आकर्षक, सुरक्षित, मनोरम र साहसिक पर्यटकीय गन्तव्यको रुपमा विश्व बजारमा स्थापित गर्न नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सय पर्यटकिय गन्तव्यहरुको सूचीमा उदयपुरगढी पनि परेको हुनाले यसको प्रचार प्रसार, पूर्वाधार निर्माणमा तीव्रता दिने बजेटमा उल्लेख छ ।
यस्तै नेपाल एकीकरणका सिलसिलामा प्रयोग भएका ऐतिहासिक गढी, किल्ला र बाटोहरु संरक्षण गरी आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न उदयपुरगढी दरबार र चौदण्डीगढी दरबारलाई बजेटले समेट्न सक्नेछ ।

तपाईको प्रतिक्रिया