उदयपुर । हुन त नामबाटै थाहा हुन्छ, ‘शिरुवा’ अर्थात पहिलो पर्व, सुरुको पर्व। यो पर्व (पावैन) प्रत्येक थारु समुदायको महत्वपूर्ण चाड हो।
त्यो पनि थारु समाजमा जो हिन्दू धर्ममा आस्था राख्ने गर्दछन्, उनको लागि विशेष हो। किनकी यो पर्वमा खुशी, उद्गार तथा हर्षोल्लासका साथ धुमधामले मनाउने गरिन्छ।
थारु समुदायमा भनाई नै छ, ‘फगुवा उसारे आ सरुवा पसारे’ अर्थात फागुनको फगुवाले पर्वको समापन गर्छ भने वैशाखको सिरुवाले कुनै पनि वर्षको सुरुको पर्वलाई भव्य रुप स्वागत गर्ने गर्छ।
शिरुवा पर्वलाई विभिन्न संस्कृति अनुसार विभिन्न अर्थको रुपमा लिने गरिन्छ। जस्तो की वैशाख हुनुको कारण थारु भाषामा ‘वैशाखी’ अर्थात चैतमा पकाएको वैशाखमा खाने चलन (चैत ३० गते पकाएको खाने कुरा वैशाख १ गते खाने प्रचलन)।यसलाई वाइस अर्थात ‘बासी पर्व’ पनि भनिन्छ।
नयाँ वर्षको अवसरमा वर्षभरि सुखद, सुन्दर सौहार्दपूर्ण तथा शीतल र शान्त वातावरणमा परिवार र समाज अगाडि बढोस्। आफ्नो-आफ्नो कुल देवता तथा देवी, ग्राम देवता तथा अन्य देवीस्थल लगायत आफूभन्दा सानाको शीरमा उसको उज्वल भविष्यको कामना गर्न जुराएर पानी दिने परम्परा छ, यसैलाई जुरशीतल भनिन्छ।
त्यो दिन प्राय धेरैले आफ्नो विशेष दिन सम्झन योग्य, अविशमरणीय बनाउन चाहेका हुन्छन्। त्यही दिनलाई उसले एउटा इतिहास मानेको हुन्छ।शिरुवाके पहिलो काम क्रिया ठीक ढंगले गर्ने गर्दछ। यसको हरेक कारोबार नयाँ खातामा सुरुवात गरिन्छ।
यो पर्वमा थारु समुदायका मानिसहरु दश दिन अगावैदेखि आफ्नो घरआँगन लिपपोत गरी सफा राख्छन्। त्यो बेला सबैको घर आगनमा एउटा पनि फोहोरको थुप्रो देखिँदैन।लाग्छ, एउटा सुन्दर स्वर्गको आगनीमा आइपुगे जस्तो। बालबालिकादेखि बुढापाकाले यही समय र पललाई पर्खेर बसिरहेका हुन्छन्।
यसका साथै उनीहरु आधार राति देखि नै विभिन्न प्रकारको परिकार तयार पारेका हुन्छन्। गाउँको प्रत्येक घर-घरमा पुरी-तरकारी, बरी-कचौरी, लगायतका थुप्रै परिकारहरु पाक्न थालिसकेको हुन्छ।त्यकारण गाउँघर बास्नाले मगमगाइरहेका हुन्छन्।
गाउँमा यस्तो परिकार अरु बेला कुनै पनि बेला हुँदैन। बिहान सुतिरेका बालबालिकालाई उठाएर आमाबुवा, ठूलाबडाले उसको शीरमा पानी छर्किएर शुभ आशीश र उज्जवल भविष्यको कामना गर्ने गर्दछन्।
कसैले आफ्ना साथीहरुसँग गोबरमाटो खेल्ने गर्छन भने कोही खुसियालीमा रंगअबीर रमाइलो मानी खेल्ने गर्छन्। यसपछि नुहाएर अम्खोरामा शुद्ध जल लिएर पहिला आफ्नो गृह देवता, ग्राम देवता तथा अन्य देव-देवी स्थलमा जल चढाउने गरिन्छ। त्यसपछि आफूभन्दा सानोलाई त्यही शुद्ध जल शीरमा छर्किएर आशिर्वाद दिने गर्छन भने आफूभन्दा सानाले ठूलाको गोडामा शुद्ध जल चढाउने गर्दछन्।
यो एउटा सहिष्णुता/ माया प्रेमको प्रतीक मानिन्छ। कुनै भेदभाव सानो ठूलो नमानी जो कोही पनि बाटोमा भेट्दा आफूभन्दा ठूलो भएर जल चढाएर आशिर्वाद लिने गर्छन् भने सानालाई शीरमा शुद्ध जल छर्किएर आशीर्वाद दिने गर्दछन्।
यही परम्परा बर्षौ पहिल्यैदेखि थारु समुदायमा चल्दै आएको छ। यो परम्परा बुद्ध धर्मको थेरावादमा पढाइ हुने भएकाले बुद्ध धर्म मान्ने देशहरु म्यानमार, श्रीलंका, सिंगापुर र थाइल्याण्डका बौद्ध मार्गीहरु पनि यस दिन भव्य रुपमा यो जूरशीतल मनाउने गर्छन्।
यस्तै नयाँ वर्ष अर्थात बैशाख १ गते उदयपुरमा थारु समुदायले सिरुवा मेलासँगै सिरुवा महोत्सवको आयोजना गर्ने भएको छ । प्रत्येक बर्ष नँया वर्षको अवसरमा लाग्दै आएको सिरुवा मेला यो वर्ष पनि उदयपुरको विभिन्न स्थानमा लाग्ने भएको छ ।
थारु कल्याणकारिणी सभा आयोजनामा त्रियुगा नगरपालिका ८ उत्तरवारी टोल देउरी देखि दक्षिण तर्फ रहेको कृष्ण सवरण खाट मन्दिर(गढी)मा सिरुवा मेलासंगै सिरुवा महोत्सवको हुने भएको छ । सिरुवा महोत्सवको अवसरमा चैत्र ३० गते अर्थात २०७५ सालको अन्तिम दिन ११ बजेबाट अष्ठजामको आयोजना समेत गरेको गढी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुधशेन चौधरीले बताए । नयाँ वर्षको आगमनसँगै प्रत्येक थारुको घरमा जुर सितल अर्थात सिरुवा पर्वको पनि आयोजना गरिएको थाकस जिल्ला अध्यक्ष शिवकान्त चौधरीले जानकारी दिए । उनले, ‘महोत्सवको साँस्कृतिक कार्यक्रममा सहभागी हुन चाहनु हुनेले सम्र्पक गर्न पनि आग्रह गरेका छन् । त्यस्तै उदयपुरमा देउरीको गढि मन्दिरसँगै गाईघाटको रौदीदास र जोगी पोखरीमा पनि सिरुवा मेला लाग्ने गरेको छ ।
जिल्लाको चौदण्डीगढी नगरपालिका ९ ज्यामिरेको पुरातात्विक थान पोखरीको साथै बेलका नगरपालिका १ भौरा मन्दिर र बेलका ३ रातामानी सुनखानीमा सिरुवा घाम समेत लाग्ने गरेको छ ।
अघिल्लो वर्षको रातीको मिठो मिठो खानेकुरालाई भोली पल्ट नयाँ बर्षको पहिलो दिन खाने र पोखरी तलाउमा पुजा आजागरी मिठो खाने, सफा लुगा लगाउने तथा आफन्त इष्टमित्र कहाँ गएर आर्शिवाद थाप्ने चलन मुख्य बिशेषता हो । यो पर्वमा अफु भन्दा सानालाई टाउँकोमा जलदिई आर्शिवाद दिने चलन छ भने आफु भन्दा ठूला बडा अग्रजहरुको खुट्टामा जल चढाई अर्शिवाद लिई नयाँ वर्षको शुभकामना आदान प्रदान गर्ने चलन रहेको छ ।
बिशेषगरी थारु, राजवंशी समुदायले मनाउने सिरुवा पर्व अहिले आएर तराईका धिमाल एवं मधेसी समुदायहरुले समेत भव्य रुपमा मनाउने गर्दछन् । उदयुपुर, सिरहा, सप्तरी, मोरङ, सुनसरी झापा तथा तराईका जिल्लाहरुमा भव्य रुपले सिरुवा पर्व मनाउने गरिन्छ ।