उदयपुर / उदयपुरका पहाडी भेगका गाउँ घरमा त्यतिकै खेर जाने बाँस आम्दानीको राम्रो श्रोत बन्न थालेको छ । घर, टहरा बनाउन र दाउराको रुपमा प्रयोग गरिने बाँस बिक्री हुन थालेपछि आम्दानीको श्रोत बनेको हो ।
गाउँ घरका पाखो तथा खोल्ला खोल्सीहरुमा प्रशस्त पाईने बाँस खरिद गर्न गाउँमै ब्यापारी आउन थालेपछि स्थानीयबासीहरुले बाँसबाट वर्षेनी राम्रो आम्दिमी गर्दै आएका छन् । त्रियुगा नगरपालिका– १५ खाँबुका भिमबहादुर मगरले बाँस खरिते गाउँघरमै आउने गरेको बताए । गाउँमै सय रुपैया घाना बाँस बिक्री हुने भएपछि मनग्गे आम्दानी हात लाग्ने उनले बताए । सामान्य बाँसको झ्याङबाट मात्र बार्षिक १५ हजार सम्म आम्दानी हात लाग्ने र ठूला झ्याङ र प्रसस्त बाँस रोपेकाले लाखौं हात पार्ने बताए ।
गाउँघरमा प्रशस्त पाईने बाँसको विभिन्न सामग्रीहरु डोको, सोली, डालो, नाङ्लो लगायत बनाईन्छ, भने सामान्य रुपमा दाउरा पनि प्रयोग गरिन्छ । गोडमेल, मलजल बिनै प्रशस्त हुने बाँस पहिले पहिले त्यतिकै सडेर खेर जाने गरेका थिए । तर, यतिबेला विकासको पूर्वधारसँगै सडक गाउँगाउँमा पुग्न थालेपछि बाँसले राम्रो बजार पाउन थालेको हो ।
गाउँमै ट्याक्टर, ट्रक पुग्ने भएपछि पाखो भित्तो र खोलाखोल्सीका डिलहरुमा रोपिएका बाँस शहर बजार तिर पुग्न थालेका छन् । बाँस ब्यापारीहरुले साना सडकमा ट्याक्टर लगेर संकलन गर्छन् र मुख्य सडकमा ट्रकमा लोड गरेर लैजाने गर्दछन् । यहाँका बाँस बिराटनगर, जनकपुर, काठमाडौं लगायतका शहरहरुमा लैजाने गर्दछन् ।
जस्तो सुकै कामका लागि प्रयोगमा ल्याउन मिल्ने बाँस बहु उपयोगी छ । बाँस उदयपुरको आठ वटै स्थानीय तहका मधेस पहाड सबैतिर प्रशस्त पाईन्छन् । चार गाउँपालिका र चार नगरपालिकाको अधिकांश गाउँहरुमा सडक ट्रयाक पुगेका र बाँसको ब्यापार बढेको हो । ट्रयाक नपुगेका कतिपय ग्रामिण भेगका बाँसहरु भने अझै पनि सडेर खेर गईरहेका छन् ।

तपाईको प्रतिक्रिया