उदयपुर । त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडालाई कुनै एक संकायको विश्व विद्यालय बनाउने योजना १ नं. प्रदेश सरकारको रहेको आन्तिरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले बताएका छन् । कानून मन्त्री कार्कीले क्याम्पसले आयोजना गरेको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र सार्वजानिक कार्यक्रमको उद्घाटन गर्दै उक्त प्रमाणपत्र क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रकुमार बस्नेतलाई हस्तान्तरण गर्दै सो कुरा बताएका हुन् ।
सो अवसरमा उनले क्याम्पसलाई प्रदेश स्तरको विश्वविद्यालय बनाउनका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले प्रदेशका प्राथामिकतामा परेका ४ वटा क्याम्पस मध्ये त्रियुगा क्याम्पस एक रहेको बताए । उनले भने, ‘शैक्षिक वातावरण, उत्पादित जनशक्तिको रोजगारका हिसावले त्रियुगा क्याम्पस अब्बल रहेको पाइएको छ, त्यसैले प्रदेश सरकार यो क्याम्पसलाई कुनै एक संकायको विश्वविद्यालय बनाउने योजनामा छ ।’ विश्वविद्यालय बनाउनका लागि चाहिने जग्गाजमिन यस क्याम्पससंग प्रसस्त रहेको र केहि भौतिक पुर्वाधार तयार पार्न साथ सहज रुपले सञ्चालन गर्न सकिने भएकाले प्राथामिकतामा रहेको उनले बताए ।

के हो गुणस्तर सुनिश्चितता प्रत्ययन प्रमाणपत्र
अन्तराष्ट्रिय मापदण्डका १ सय २० वटा सुचक पुरा गर्ने क्याम्पसलाई विश्वबिद्यालय अनुदान आयोगले यो प्रमाण पत्र दिने गर्दछ । यो प्रमाण पत्र दिईसकेपछि सम्बन्धित क्याम्पसले उत्पादन गरेका बिद्यार्थी रोजगारका लागि कहि कतै गए प्राथामिकतामा पर्ने क्याम्पस प्रमुख रमेशचन्द्र रोकाले बताए ।
उनले भने, मापदण्ड पुरा गरी सन २०१३ मा यो प्रमाणपत्र लिनका लागि फाराम भरियो, विभिन्न समयमा सुक्ष्म अध्ययनपछि आयोगले सन २०१८ मा निक्र्यौल गरी छनौट गर्यो । ‘यो सर्टिफिकेट नेपाल सन् २००८ बाट सुरु भएको हो । यो लिएपछि पुर्ण हुन्छ भन्ने हैन्,’ उनले भने, ‘५ बर्षपछि पुर्नः मुल्यांकन हुन्छ, त्यसमा पनि पास गर्नु पर्दछ, अन्यथा झर्न पनि सक्दछ ।’
मापदण्ड पुरा गरेसँगै आयोगले क्याम्पसलाई पुस २२ गते यो प्रमाणपत्र दिने घोषणा गरेको थियो । विश्वबिद्यालयबाट सम्बन्धन लिई सञ्चालन भएका देशभर १ हजार ४ सय ५ क्याम्पस मध्ये त्रियुगा क्याम्पसले यो प्रमाणपत्र ३० औँ स्थानमा लिएको हो भने प्रदेशनं १ मा ५ औँ स्थानमा र तत्कालिन सगरमाथा अञ्चलका हिसावले पहिलो स्थानमा पाएको हो ।
अनुदान आयोगले क्याम्पसको अध्ययन पद्धती, अध्ययनपछिको रोजगारको अबश्था, शिक्षाको उपयोगिता, त्यसको परिणाम, क्याम्पसको नाममा रहेको जग्गा, भवन, कक्षाकोठा, शौचालय, सरसफाइ, प्रध्यापकहरुको क्षमता, आर्थिक मितव्ययिता, नतिजा, उत्पादित बिद्यार्थीको बजार सर्वेक्षण लगातका १ सय २० वटा सुचकहरु पारगरेपछि मात्र यो प्रमाण पत्र दिने गर्दछ ।
प्रमाणपत्र पाएसँगै क्याम्पसलाई ३ करोड रुपिँया उपलब्ध हुने छ । यो क्याम्पसका शिक्षकलाई तलव नभई भवन निर्माण र शैक्षिक गुणस्तरका लागि खर्च गर्नु पर्ने प्रावधान रहेको क्याम्पस प्रमुख रोकाले बताए । २०४४ सालमा त्रियुगा माध्यमिक बिद्यालयको एउटा कोठाबाट सुरुभएको यो क्याम्पस अहिले सुबिधा सम्पन्न आफ्नै भवनमा रहेको छ ।
खादा र मायाको चिनो अनाथलयमा
यसैविच मन्त्री कार्कीले क्याम्पसले आयोजना गरेको कार्यक्रममा अतिथिको स्वागत तथा सम्मानका लागि राखिएको खादा र मायाको चिनोलाई रचनात्मक काममा लगाएका छन् ।
खरिद गर्नेक्रममा उनले खादा र मायाको चिनोमा खर्च हुने रकम झापाको उर्लावारीमा रहेको अनाथलयमा उपलब्ध गराउन आग्रह गरेपछि त्यसवापतको ६ हजार रुपिँया क्याम्पसले अनाथलयको खातामा जम्मा गरिदिएको छ ।
अनावश्यक हुने खर्चलाई कटौती गर्दै मन्त्री कार्की रकम सदुपयोगका लागि त्यसतर्फ सहयोगको अपिल गरेका हुन् । उनले भने, ‘एकछिन घाँटीमा वेरेर राख्नुभन्दा अनाथलयमा रकम पुग्यो भने, त्यसको व्यवस्थापनमा सहयोग पुग्छ त्यसैले आफु सहभागि हुने सबै कार्यक्रममा यसका लागि अनुरोध गर्दै हिडेको छु ।’

तपाईको प्रतिक्रिया