उदयपुर । आर्थिक गतिविधि बढाउने तथा व्यापार व्यवसाय विस्तार गर्ने उद्देश्यले माघको अन्तिम सातादेखि उदयपुर एक्स्पो हुने भएको छ । ‘कृषि, वन, पर्यथन, कला संस्कृति, उद्योग र व्यापार ः उदयपुरको पहिचान र समृद्धिको आधार’’ नारा सहित उदयपुर एक्स्पो २०८० (उदयपुर महोत्सव) गर्न लागिएको हो ।
जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले बुधबार पत्रकार सम्मेलन गरी त्रियुगा नदी किनारमा आगामी माघ २६ गतेदेखि फागुन ६ गतेसम्म उदयपुर एक्स्पो २०८० आयोजना गर्ने जनाएको छ । एक्स्पोमा नेपालका कृषि, घरेलु तथा ठूला उद्योगहरूको उत्पादन बिक्री प्रर्दशनीमा राखिने संघका अध्यक्ष चुडामणि कार्कीले बताए ।
‘उदयपुरको व्यापार व्यवसाय पछिल्लो समय एकदमै सुस्ताएको छ । यो एक्स्पोले आर्थिक कारोबार, व्यापार व्यवसायलाई माथि उठाउँछ भन्ने अपेक्षा लिएका छौं,’ उनले भने। उदयपुरका आठै पालिकामा रहेको उत्कृष्ट पर्यटकिय क्षेत्रलाई पहिचान गरि, व्यपार व्यवसाय प्रबद्र्धन गर्न र आर्थिक मन्दीलाई चलायमान बनाउन महोत्सवको आयोजना गर्न लागिएको कार्कीले जनाएको छ ।

विदेशी वस्तुको आयात घटाउने र नेपाली बस्तुको निर्यात बढाउने उद्देश्यले मेड इन नेपाल र मेड इन उदयपुर प्याभिलियनको व्यवस्थापन गरि नेपालको उत्पादन र उदयपुरको उत्पादनको प्रदर्शन र प्रवद्र्धन गरिने कार्यक्रम रहेको आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ । उदयपुरलाई पर्यटन, कृषि उद्यमलाई व्यापारको कोशेढुङ्गा र शिक्षा र स्वास्थ्यको हवका रुपमा विकास गर्न महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष कार्कीले जनाएको छ ।

एक्स्पोमा कृषि उत्पादन, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, गाडी, बैंक तथा वित्तीय, रेडिमेड तथा कपडा, घरेलु सामानहरूको स्टल रहने आयोकजले जनाएको छ । एक्स्पो व्यापार गर्न नभै उत्पादन तथा व्यापारको प्रवद्र्धन गर्न आयोजना गरिएको मेला व्यवस्थापन समितिका संयोजक प्रदिप देउजाले बताए । उनका अनुसार गत बैशाख २० गते लिम्चुङबुङ गाउँपालिकाको एभरेष्ट भ्यू टपमा बसेको बैठकले आगामी माघ २६ गतेबाट उदयपुर एक्स्पो गर्न लागिएको जनाएको छ ।

एक्स्पोमा पर्यटन क्षेत्र र उद्योगको प्रवद्र्धन, डुङ्गा, राफ्टिङ, प्यारागलाइडिङ लगायतको मज्जा पनि लिन पाउने छ । कृषि प्रदर्शनी, पशुधन प्रदर्शनी, सूचना प्रविधिको प्रबद्र्धन, कला प्रदर्शनी लयायत प्रदर्शन गर्ने पत्रकार सम्मेलनमा महासचिव सुनिल साहले जनाएको छ ।

महोत्सवमा उदयपुर, सिरहा, सप्तरी, सुनसरी सहित छिमेकी देशका आन्तरिक तथा बाह्य पर्यटक गरी २ लाखा भित्राउने लक्ष्य लिइएको महासचिव साहले जनाएको छ । महोत्सवको अर्को आकर्षक विभिन्न जातजातिको खाना परिकारलाई प्रवद्र्धन गर्न फुड फेस्टिवल पनि समावेश गरिने आयोजकले जनाएको छ ।

स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारको बेजोड प्रस्तुतिको साथै जिल्ला स्तरीय युगल गीत प्रतियोगिता, दोहोरी गायन प्रतियोगिता पनि गराइने आयोजकले जनाएको छ । रमाइलो मेला, भलिवल प्रतियोगिता, ढिलो साइकल दौड पनि आयोजना गर्ने आयोजकले जनाएको छ ।

हरेक नागरिकको जिम्मेवारी दुव्र्यसन विरुद्ध खबरदारी भन्ने नाराका साथ यस उदयपुर महोत्सवमा पोष्टर, पम्प्लेट, ब्रोसरका साथै जनचेतना मुलक प्रचार सामग्री तयार गरी स्टल समेत राखी जनचेतना एवं परामर्श सेवा कार्यक्रम संचालन गरिने आयोजकले जनाएको छ ।

एक्स्पोको लागि पहिलो चरणको काम सकिएको छ । एक्स्पोमा २ सय स्टल हुने छ । महोत्सवले उद्यमशीलता, उदयपुरको पहिचान, राष्ट्रियता र सम्बन्धको भावना, जीवजन्तु, प्रविधि, कला संस्कृति, सिप तथा विविधता आदिमा फाईदा पुराईने जनाईएको छ ।

एक्स्पो हरेक दिन बिहान ९ः०० देखि बेलुका ९ः०० बजेसम्म संचालन हुनेछ । स्टल बुकिङका लागि माघ ५ गतेलाई अन्तिम दिन तोकिएको छ । करिब दुई लाख बढीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सव प्रवेशका लागि साधरणलाई प्रतिव्यक्ति १०० रुपैयाँ, विद्यार्थीका लागि ७० रुपैयाँ र सामूहिक पोसाकमा आउनेलाई रु. ५० र जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई प्रवेश शूल्क छुट गरिएको छ ।

एक्स्पो व्यवस्थापनका लागि १३१ जनाको मूल समिति रहने बताइएको छ । ५ जना सदस्य रहने मेला महोत्सव व्यवस्थापन समिति र बिभिन्न कार्यात्मक ३० उपसमिति र १९ वटा समिति रहने संघ उदयपुरका महासचिव साहले बताए । स्टलमा व्यपारिक फर्म कम्पनी, भाँडाकुडा, खाँद्यबस्तु, रेस्टुरेन्ट व्यवसाय, निजी अस्पताल, मेडिकल कलेज, सरकारी अस्पताल, फ्लोरिकल्चर, हस्तकला उद्योग, मनि एक्सचेन्ज, आईसक्रिम उद्योग, शैक्षिक संस्था परामर्श, बैंक तथा बित्तिय संस्था, भोजनालय, अटोमोवाईल, रेडिमेन्ट गार्मेन्टस, कृषि, जडीबुटीलगायत बिभिन्न गरी २५ प्रकारका स्टल व्यवस्थापन हुने आयोजकले जनाएको छ ।

आयोजक अर्थात जिल्ला उद्योग वाणिज्य संघ उदयपुर र संघमा आबद्ध पालिका संघका फर्महरुलाई २० प्रतिशत छुट दिइने उल्लेख छ । यस्तै दुई स्टल बुकिङ गर्नेलाई १० र दुईभन्दा बढी स्टल बुकिङ गर्नेहरुले १५ प्रतिशतसम्म छुट सुबिधा पाउनेछन् । मुख्य प्रायोजक बन्न चाहने फर्म वा व्यवसायिक संस्थाले १० लाख जम्मा गर्नुपर्ने उल्लेख छ । जसका लागि दुई विशेष स्टलसमेत प्रदान गरिनेछ । सह–प्रायोजकका लागि जम्मा गर्नुपर्ने रकम सात लाख तोकिएको छ । जसलाई एक विशेष स्टल प्रदान गरिनेछ ।

 

तपाईको प्रतिक्रिया