उदयपुर / उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्री जगदिश कुसियैतले आर्थिक समृद्धि हासिल गर्न औद्योगिकरणमा जोड दिनु पर्ने बताएका छन् । ‘मेहनत सृजना उत्पादन र बस्तु मेरै नेपालको, उद्योग गरौं उद्यमी बनौं उठाऔं नेपाल’ भन्ने नाराका साथ १ नम्बर प्रदेशको दोश्रो प्रदेश स्तरीय उदयपुर घरेलु औद्योगिक महोत्सब २०७५ को बिहिवार त्रियुगा नगरपालिका थारुहट रंगशालामा उद्घाटन गर्दै सो बताएका हुन् ।
१ नम्बर प्रदेशलाई आर्थिक समृद्ध प्रदेश बनाउन औद्योगिकरणमा जोड दिन सवै स्थानीय तह तप्का तथा उद्यमी एक जुट हुनु पर्ने बताए । उनले औद्योगिकरणको विकास गरी प्रदेश नं. १ लाई नमूना प्रदेश बनाउने योजनामा प्रदेश सरकार रहेको मन्त्री कुसियतले बताए । अन्य प्रदेश भन्दा बढी प्राकृतिक श्रोत साधानमा १ नम्बर प्रदेश धनी रहेकाले यसलाई अधिकतम प्रयोग गरि नेपालको धनी प्रदेश बनाउने योजनामा रहेको उनले बताए । १ नम्बर प्रदेश हरेक हिसाबले मजबुत रहेकोले यस प्रदेशलाई सबैले हातमा हात मिलाएर अघि बढ्न सके समृद्ध हासिल गर्न सकिनेछ । प्रदेश सरकारले १ परिवार १ उद्यमी १ ग्राम १ उद्योग स्थापना गर्ने उदेश्य रहेको छ ।
त्यसैगरी नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय कार्यावाहाक अध्यक्ष उमेशप्रसाद सिहंले नेपालको ऐन कानुन उद्योगमैत्री नभएका कारण उद्योग स्थापना गर्ने बातावरण नभएको बताए । उनले भने, ‘यहाँ उद्योग स्थापना गरेर पनि दक्ष जनशक्ति पाउँदैन, दक्ष जनशक्ति बिदेशबाटै यायात गर्नु पर्ने बाध्यताले गर्दा पनि समस्या रहेको छ । जसले गर्दा यहाँ भएका उद्योगहरु पनि धरासायी बन्दै गएको छ ।’
सरकारले नेपाल उद्योग स्थापना गरि सकेपछि स्वदेशी बस्तु उपयोग गर्न प्रोस्साहन गर्नु पर्ने बताए । उद्यमीलाई सरल कर्जाको ब्यवस्था गरिनु पर्ने, साना लगानीलाई प्रोस्साहन गर्न नसके सम्म आर्थिक क्रान्ति सम्भव नहुने बताए ।
कार्यक्रममा प्रदेश सभा सांसद नारायण बुर्जा मगर, प्रदेश सभा सांसद अम्बिका थापा, जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियार, प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्की, अन्जु उपाध्यय, डम्बरप्रसाद रेग्मी, भरतबहादुर थापा, नबिता न्यौपाने, लिलकुमार राई, शम्भुप्रसाद साह, रमेश रसाईली, सुमन परियार, भोटराज राई, मधुकर थापा लगायतले उदयपुर खनिजको भण्डार जिल्ला भएकाले सके सम्म खनिज पदार्थ प्रयोगमा जोड दिनु पर्ने लगायतका शुभ कामना दिएका थिए ।
उदयपुर घरेलु औद्योगिक महोत्सव २०७५ मंसिर २० गते देखि २९ गते सम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । महोत्सवमा घरेलु तथा साना उद्योगबाट उत्पादित बस्तुहरु प्रर्दशनमा राखिएको छ । महोत्सवमा प्रदेश नम्बर एकका बिभिन्न जिल्लाबाट घरेलु तथा साना उद्यमी सहभागी रहेको छ । महोत्सवमा ढाका, कोसेली, मुडा, टर्की, खुकुरी, दालमोट, चटपटे, घुगी, कृषी औजार, जमराको जुस, अगरबत्ती, बासको हस्तकला सामाग्री, लगाएत एक सय भन्दा बढि स्टलहरु रहेका छन । महोत्सवमा उद्यमीहरुको स्थानीय उत्पादन नै प्रमुख आकर्षकको रुपमा रहेको छ । यस्तै महोत्सवको आकर्षण अष्ट्रिज चरा रहेको छ । अष्ट्रिज चरा हेर्नेको भिड लागेको छ भने स्थानीय परिकारमा थारु परिकार घुङ्गीको मज्जा लिनेको संख्या उल्लेखनिय पाईएको छ । थारु परिकार घुङ्गीको लागि महोत्सव हेर्न आउनेको लछाचुडी नै भएको थियो ।