उदयपुर । उदयपुरको बेलका नगरपालिका ३ मा सरकारी वन क्षेत्रको जग्गा प्लटिङ गरि खरिद विक्री गर्ने गिरोह १९ लाख ८ हजार सहित ७ जना विहिबार पक्राउ परेका छन् ।
बेलका नगरपालिका ३ सिरिया टप्पु स्थित रहेको सरकारी वन क्षेत्रको जग्गा अतिक्रमण गरि प्लटिङ गरेको आरोपमा सोही नगरपालिका वडा नं. ६ सृजना टोल बस्ने २६ वर्षिय प्रकाश चन्द्रबंशी, सोही नपा वडा नं. ३ का ५४ वर्षिय प्रदिप भन्ने दल बहादुर थापा पक्राउ परेका छन् ।

यस्तै भोजपुर टेम्केमैयुङ गाउँपालिका ६ बस्ने ४३ वर्षिय देवराज राई, सोही गापा बस्ने ३८ वर्षिय मणिराज राई, भोजपुर नगरपालिका ३ बोखिम बस्ने ३७ वर्षिय सन्तोष कुमार राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिए ।
खोटाङ साकेला गाउँपालिका २ बस्ने ४७ वर्षिय धन कुमार राई, सोही गापा बस्ने हाल सुनसरी इटहरी उपमहानगरपालिका २० बस्ने ३० वर्षिय मन कुमार राई पनि सरकारी वन क्षेत्रको जग्गा खरिद विक्री गरेको आरोपमा पक्राउ परेकोछ ।
जग्गा खरिद विक्री गर्ने गिरोहले ३ विगहा ४ कठ्ठा जग्गा खरिद विक्री गरिरहेको आरोपमा पक्राउ परेको हो । पक्राउ पर्नेहरुको साथबाट १२ लाख १८ हजार नगद सहित सेन्चुरी बैंक इटहरी शाखाका एउटा चेक ३ लाख ७० हजार र अर्को चेक ३ लाख २० हजार सहित जग्गा खरिद विक्री गर्ने गिरोह पक्राउ परेको हो ।
वन क्षेत्रको जग्गा अतिक्रमण गरि पल्टिङ गरी बिक्री वितरण गर्दै गरेको भन्ने सूचनाको आधारमा डिभिजन वन कार्यालय गाईघाट उदयपुरसंग समन्वय गरी ईलाक प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिगएको प्रहरी टोलीले पक्राउ गरेको एसपी दाहालले जानकारी दिए ।
पक्राउ परेको सवैलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय गाईघाट उदयपुर पठाईएको एसपी दाहालले जानकारी दिए ।
यस्तै डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहका अनुसार सरकारी वन क्षेत्रको जग्गा अतिक्रमण गरेर खरिद विक्री गर्ने गिरोहका ७ जनालाई पक्राउ गरेको पुष्टी गरेको छ । उनीहरुको साथबाट नगद र चेक पनि बरामद भएको साहले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरुलाई विहिबारै स्वास्थ्य परीक्षण गरी थप अनुसन्धानको लागि राखिएको छ ।
त्यस क्षेत्रमा वन अतिक्रमण तथा वन चोरी तस्करीमा केही गिरोह नै सक्रिय रहेकाले वनले गस्तीलाई तिब्रता दिएको पनि साहले बताए ।
यस अघि साउन ३० गते बेलका नगरपालिका ३ एकता टोल नजिकै वन क्षेत्र अतिक्रमण गरेको आरोपमा ७ जना पक्राउ परेर अनुसन्धानको क्रममा रहेको छ ।
यस अघि पनि बेलका नगरपालिकाकै योजनाअनुरुप खयर घारी मासेर करिव ४० विगहा भन्दा बढी राष्ट्रिय जंगल अतिक्रमण भएको थियो । लेमन ग्रास लगाउने योजनाअनुरुप सो जमिन अतिक्रमण भएको थियो । त्यसक्रममा पनि वन कर्मचारी र स्थानीय विच धरपकडको स्थिती सृजना भएको थियो ।
अहिले उक्त अतिक्रमित जमिनलाई वन कर्मचारीकै सल्लाह वमोजिम सामुदायिक वनमा हस्तान्तरण गरिएको छ । अहिले उक्त सामुदायिक वनले नविकरण समेत गरेको छैन भने वनमा के भईरहेको छ त्यस्तो कुनै कार्ययोजना समेत पेश गरेको छैन् ।
अहिले सो जमिनमा लेमन ग्रास लगाईएको भनिएपनि सुख्खा बालुवा जमिन भएकोले अधिकांश लेमनग्रास मरेर गएका छन् ।
यो सामाचार छुट्यो कि ?
- वन अतिक्रमण आरोपी ७ जना विरुद्ध पुनः १० दिनको म्याद थप
- वन अतिक्रमण गरेको आरोपमा पक्राउ परेका ७ जनालाई म्याद थप
- वन अतिक्रमण गरेको आरोपमा ७ जना पक्राउ









