उदयपुर । उदयपुरको बेलका नगरपालिका ३ एकता टोलमा बन अतिक्रमण गरेको आरोपमा ७ जना पक्राउ परेको छ । वन अतिक्रमण गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय जयकुमार माझी, खगेन्द्र माझी, नरेश माझी, धनबहादुर राई, अनुप राई, विकास राई र इसाक याक्खालाई पक्राउ परी लगेको छ । उनीहरु सबै वडा नं. ३ कै बासिन्दा हुन् ।
नगरपालिकाको उत्पादन क्षेत्रभित्र पर्ने उक्त ठाउँ बनको नभई नदी उकास भएको स्थानीयहरुको दावी छ । त्यस्तो ठाउँमा अहिले उनीहरुले कुनै पनि वन फडानी नगरेको र रुख नकाटेको अवस्थामा पक्राउ गर्नुले वन कर्मचारीको घुसकाण्डको प्रतिशोधका कारण धरपकड भएको स्थानीयहरुले आरोप लगाएका छन् ।
डिभिजन वन कार्यालय उदयपुरको गस्ती टोलीले वन अतिक्रमण गरेको देखेपछि ७ जनालाई पक्राउ गरेको डिभिजन वन कार्यालय उदयपुरका सहायक वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहले जानकारी दिए । ‘दुई दिन अघि घुसकाण्डमा मुछिएको वन कर्मचारी चढ्ने मोटर साइकल खोज्न जाने क्रममा वन अतिक्रमण गरेको देखेपछि अनुसन्धानको लागि उनीहरुलाई नियन्त्रणमा लिएको छ ।’ उनले भने, ‘उनीहरु पक्राउ पर्नुमा कुनै कुनै प्रतिशोधको भावना छैन् ।’ त्यस क्षेत्रमा वन अतिक्रमण तथा वन चोरी तस्करीमा केही गिरोह नै सक्रिय रहेकाले वनले गस्तीलाई तिब्रता दिएको पनि साहले बताए ।
यस अघि पनि बेलका नगरपालिकाकै योजनाअनुरुप खयर घारी मासेर करिव ४० विगहा भन्दा बढी राष्ट्रिय जंगल अतिक्रमण भएको थियो । लेमन ग्रास लगाउने योजनाअनुरुप सो जमिन अतिक्रमण भएको थियो । त्यसक्रममा पनि वन कर्मचारी र स्थानीय विच धरपकडको स्थिती सृजना भएको थियो ।
अहिले उक्त अतिक्रमित जमिनलाई वन कर्मचारीकै सल्लाह वमोजिम सामुदायिक वनमा हस्तान्तरण गरिएको छ । अहिले उक्त सामुदायिक वनले नविकरण समेत गरेको छैन भने वनमा के भईरहेको छ त्यस्तो कुनै कार्ययोजना समेत पेश गरेको छैन् ।
अहिले सो जमिनमा लेमन ग्रास लगाईएको भनिएपनि सुख्खा बालुवा जमिन भएकोले अधिकांश लेमनग्रास मरेर गएका छन् ।

तपाईको प्रतिक्रिया