उदयपुर । उदयपुरको बेलका नगरपालिका ३ एकता टोल नजिकै वन अतिक्रमण गरेको आरोपमा पक्राउ परेको ७ जनालाई जिल्ला अदालतले म्याद थप गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय जयकुमार माझी, खगेन्द्र माझी, नरेश माझी, धनबहादुर राई, अनुप राई, विकास राई र इसाक याक्खालाई दुई दिनको म्याद थप गरेको डिभिजन वन कार्यालय उदयपुरका सहायक वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहले जानकारी दिए ।
पक्राउ परेकाहरु प्रत्यक्ष वन अतिक्रमणमा संलग्न भएकोले म्याद थप गरी अनुसन्धान शुरु गरिएको बताए । उनीहरुको स्वास्थ्य परीक्षण गरी अदालतबाट म्याद थप भएर अनुसन्धान शुरु भएको छ । अनुसन्धान नसकिए आईतबार पुनः म्याद थप गरिने सूचना अधिकारी साहले जानकारी दिए । त्यस क्षेत्रमा वन अतिक्रमण तथा वन चोरी तस्करीमा केही गिरोह नै सक्रिय रहेकाले वनले गस्तीलाई तिब्रता दिएको पनि साहले बताए ।
यस्तै घुसकाण्डमा मुछिएका सव डिभिजन वन कार्यालय लालबजार र मैनामैनीका दुई सहायक वन अधिकृत सहित ६ जनालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय विराटनगरले निलम्बन गरेको छ । सेवाग्राहीबाट १७ हजार रुपैयाँ घूस लिईएको आरोपमा गाउँले पक्राउ गरी प्रहरीलाई बुझाएको थियो । अहिले उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयले नियन्त्रणमा लिएको हो ।
निलम्बन हुनेहरुमा सव डिभिजन वन कार्यालय लालबजारका सहायक वन अधिकृत शिवनारायण यादव, सव–डिभिजन वन कार्यालय लालबजार रामपुरका सहायक वन अधिकृत विनोदकुमार साह, फरेष्टर रमेश राई, सव–डिभिजन वन कार्यालय मैनामैनीका फरेष्टर विशेश्वर चौधरी, वन रक्षकद्वय शैलेन्द्र झा र मनोज कुमार राउत छन् ।
वन कर्मचारीले सप्तकोसी नदीले बगाएर ल्याएको चिलाउने र लाम्पाटको काठ निकालेर चिरेको आरोपमा बेलका नगरपालिका– ३ चिलिया टप्पुका एक स्थानीयसँग १७ हजार रुपैयाँ घूस लिएको आरोप छ ।
यस्तै घुस दिने व्यक्ति अहिले फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको छ । उनले चिलाउने र लाम्पाट गरी २५ किवी फुट काठ काटेर चिरान गरेको छ । डिभिजन वन कार्यालय उदयपुरले काठ सुरक्षित गरेको छ ।









