- सुर्य नारायण चौधरी

माघी पर्वलाई धार्मिक र वैज्ञानिक हिसावले महत्वपूर्ण मानिन्छ । नेपालमा विभिन्न जातजातीहरुले आ–आफ्नै रितीरिवाज अनुसार माघी पर्व धुमधामसंग राष्ट्रिय पर्वको रुपमा मनाइनेगरेको पाईन्छ । माघी पर्वलाई मकर स्नान, घिउ चाकु तथा तिला संक्रान्ति पर्वको रुपमा पनि मानिन्छ । थारु समुदायको लागि यो पर्व स्वतन्त्रता र नयाँ वर्षको रुपमा मान्ने गरेको हुनाले माघी संक्रान्ति र थारुहरु बिच विषेश सम्बन्ध रहेको पाईन्छ । माघी पर्वमा सुर्य देवताको पूजा गरिन्छ ।
यो पर्व हरेक वर्ष माघ १ गते मनाइन्छ । माघी र संक्रान्ति शव्दको अर्थ केलाउने हो भने माघ महिनाको पहिलो दिनलाई संक्रान्ति भनिन्छ । संक्रान्ति शब्द संस्कृतबाट आएको हो जसको अर्थ सूर्य धन राशीबाट मकर राशीमा प्रवेश गरेको भन्ने धार्मिक विश्वास छ । धार्मिक विश्वास अनुसार माघ १ गतेको दिनदेखि सूर्य दक्षिणाय अर्थात दक्षिण तिर जान वन्द गरी उत्तर दिशातिर आउन शुरु गर्छ । यहि दिनदेखि जाडो हुनेक्रम घट्दै जान्छ र दिनको समय विस्तारै बढ्दै जान्छ भने रातको समय कम हुदै जान्छ । यसरी माघ १ गतेको दिनलाई सूर्य देवताको दिशा परिवर्तन र वैज्ञानिक हिसाबले समय परिवर्तन भएको दिनको रुपमा माघी संक्रान्ति मनाइन्छ ।
यस पर्वको दिन पवित्र नदीमा स्नान गरि खासगरी यस्तो नदी जोडिएको ठाउँ जहाँ तीनवटा नदी एकैठाउँमा मिसिएको हुन्छ जसलाई त्रिवेणी भनिन्छ । धार्मिक आस्थाले विस्वास गरिएको त्रिवेणी नदीहरुमा स्नान गरी पवित्र हुनेगर्दछ । पवित्र स्नानको लागि आन्तरिक मात्र नभएर बाह्य पर्यटकहरु पनि आउने गर्दछ । उदयपुरको कटारी र सिन्धुलीको सिमाना खोक्सामा १५ दिनसम्म मेला लाग्ने गरेको छ । पूर्व नवलपरारी र चितवन भएर वग्ने नारायणी नदीको देवघाट, झापाको कंकाई नदी, बराह क्षेत्र नेपालमा मकर स्नानको लागि पवित्र मानिन्छ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका अन्तरगत विसनपुर नजिकै वरुवा, लुहाले र त्रियुगा नदी मिसिएको ठाउँमा माघी पर्वको ठूलो मेला तथा स्नान गर्न भक्तजनहरुको भीड हुन्छ । नेपालको तराई तथा भित्री मधेशमा बसोवास गर्ने थारुहरुको संख्या नेपालको जनगणा २०११ अनुसार कुल जनसंख्याको ६.६ प्रतिशत अर्थात १७ लाख ३७ हजार ४७० रहेको छ । थारु जाती तराईको भूमिपूत्र र मलेरीया पचाएको वर्षौदेखि वसोबास गर्दै आएको आदिवासी जनजाती हो । नेपालमा टुक्रे राज्य हुँदादेखिनै थारुहरुको बासोबास रहेको थियो । त्यस समयमा थारुहरुसँग प्रसस्त जग्गा जमिन थियो । पश्चिमका राज्यहरुमा कमैया प्रथा थियो । लिच्छिवी काल, मल्ल कालको शासनदेखि नै सशर्त वा जवरजस्ती श्रमिकहरु राख्ने प्रचलन थियो । त्यस्ता लेवर अर्थात श्रमिकहरुलाई र्फोस्ट लेवर वा बाउण्ड लेवर भनिन्थ्यो । तीनै लेवरहरु विकसित हुँदै पश्चिमका थारुहरुमा कमैया प्रथाको विकास भयो । कमैया प्रथाबाट धेरै थारुहरु पिडित भए । तराईमा मलैरिया उन्मुलन पश्चात थारुहरुसंग भएका प्रसस्त जग्गा जमिन थियो तर ति जग्गा जमिनहरुको आधिकारिक कागजातहरु राख्दैनथे । राज्यलाई धेरै कर वुझाउनुपर्छ भन्ने वहानामा वा चेतनाको कमीले हो या आफ्नो अधिनमा भएको जग्गा जमिनलाई कागजात राख्न नसक्नु वा प्रमाण नजुटाउनु कमजोरी भएको हुन सक्छ तर भोग चलन गरिरहन्थे । बसाई सराई गरेर आएका टाठाबाठाहरुको समुह तथा राजनीतिक पहुच भएका व्यक्तिहरुले ती सोझासाझ थारुहरुको जमिन विभिन्न पहुँचको भरमा थारुको जग्गा आफ्नो नाममा लिदै गए र थारुहरुमा गरिवी र कमैया प्रथा बढ्दै गयो । (नेपाल केस स्टडी वोन्डेड लेवर) परम्परागत मान्यता अनुसार माघ १ गतेको दिन थारुहरुले १ वर्षको लागि योजना बनाई वार्षिक रुपमा जिम्मेवारी वाँडफाँड गर्ने चलर रहेको थियो । यस दिनलाई दास युगबाट स्वतन्त्र भएको दिनको रुपमा पनि मनाइन्छ । दास युगमा नेतृत्वको विरुद्धमा वोल्न पनि पाउदैनथे तर तिनीहरु स्वतन्त्र हुन चाहन्थे । हाल नेपालसरकाबाट दास प्रथाको अन्त्य भईसकेको छ र थारुहरुले माघीलाई स्वतन्त्रता र नयाँ बर्षको रुपमा धुमधामसंग मनाइने गर्दछ । माघी पर्वमा पारिवारिक जमघट हुने गर्दछ । आपसी सरसल्लाह, सदभाव तथा रमाइलो गर्ने गर्दछ । घर वरिपरी सफा गर्ने, तोरीको तेल पेल्ने घरमै मुरही भुटने र मुरही, तील, भुजा, मकै, वज्रा र चिउराको लड्ढु गुँडपाक बनाई लड्ढु बनाइन्छ साथै तिल खीचरी भात र तीलको लड्ढुलाई विशेषरुपमा खाइन्छ । तीलले शरिरमा ताप पैदा गर्छ भन्ने वैज्ञानिक मान्यता रहेको छ ।
यस दिन खसी, बँगुर, घुङही, सितवा, हाँस, कुखुरा र गंगटाको परिकार खाने चलन छ । छोरी चेलीलाई कोशेलीको रुपमा पठाइने पनि चलन रहेको छ । यस दिन आफ्नै भेषभुषा र पहिरणमा सजिएर सामूहिक परम्पारागत नाचगान गरी महोत्सव मनाउने गर्दछ । यो पर्व नेपालमा राष्ट्रिय पर्वको रुपमा मनाईन्छ । साथै यो पर्वको आफ्नै ऐतिहासिक महत्व रहेको पाईन्छ ।
लेखक : त्रियुगा नगरपालिका ९, गैहरुन, हाल कोशी हेल्थ साइन्स कलेज विराटनगर ।

तपाईको प्रतिक्रिया