उदयपुर । उदयपुरमा तास खेलिरहेको अवस्थामा एक अधिवक्ता सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ ६ बजेको समयमा त्रियुगा नपा ९ राजाबास स्थित बिशाल कार्कीको घरमा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेको छ ।
पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका ८ बस्ने ६० वर्षिय कृष्ण बहादुर बस्नेत, सोही वडा बस्ने ३४ वर्षिय जयराम चौधरी, ४५ वर्षिय हिमाल खड्का, ३७ वर्षिय दिपक खत्री, त्रियुगा नगरपालिका ९ बस्ने ५७ वर्षिय खुस बहादुर दनुवार र सोही वडाका ५० वर्षिय बिर्ख बहादुर कार्की पनि पक्राउ परेको छ । पक्राउ परेका खड्का वकालत पेशामा अवद्ध हुनुको साथै मानवअधिकारकर्मी पनि हुन् ।
तासको खालबाट २ हजार ५ सय ७० रुपैया बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिरबहादुर बुढामगरले जानकारी दिए । यस अघि असोज २६ गते कोजग्रात पूर्णिमाको दिन उदयपुर सदरमुकाम गाईघाट स्थित एनआईसी बैंक रहेको घरबाट नेपाली काँग्रेस उदयपुरको क्षेत्रिय सभापति सहित ८ जना तास खेलाडी पक्राउ  परेको थियो भने असोज २८ गते चौदण्डीगढी नगरपालिका ६ बगरकोटबाट ५ जना तास खेलाडी पक्राउ  परेको थियो ।

तपाईको प्रतिक्रिया