जुम्ला । पुरानो जमानाका मुखिया र सामन्तलाई बिस्थापित गर्दै गाउँ गाउँ र टोल-टोल बीच पुगेका बैंक तथा वित्तीय संस्थाहरुले सोझा-सादा जनतामाथि मुखिया र सामन्तलेभन्दा बढी शोषण गरिरहेका छन् । शुरुमा १८ प्रतिशत ब्याजमा गाउँलेहरुलाई ऋण लगानी गर्छन र समयमा किस्ता तिर्न नसकेको भन्दै ब्याजको स्याज लगाउन्छन् । अन्तमा ती बैंक तथा वित्तीय संस्थाहरुले सोझा-सादा जनताको धितो जफत गरेर बेघरबार बनाउंछन् ।

ठिक त्यस्तै गरेको छ, स्वावलम्बन बैंकले जुम्लाको चन्दननाथ नगरपालिका–७ मिचागाउँका दत्त सार्कीको । किस्ता तिर्न ढिलो गरेको भन्दै सो बैंकले सार्कीको भैँसी घरमा कोही नभएको बेला फुकाएर लगेको छ ।

जुम्लास्थित स्वावलम्बन बैंकबाट ८० हजार ऋण निकालेर गत वर्षको असारमा भैँसी खरिद गरेका सार्कीले गत माघसम्म मासिक किस्ता पनि तिरेका थिए । ऋण निकाल्दा मासिक ६ हजार ६ सय ६७ रुपैयाँ किस्ता तिर्नुपर्ने सहमति गरेका सार्कीले ६ माघ यता किस्ता तिरेका छैनन् ।

आफुले ऋण तिर्न नसक्नुकाकारण स्पस्ट पार्दै उनले अघि भने, ‘पैसा भएन । यताउताबाट ऋण निकाल्दा समयमा मिलेन । किस्ता तिर्न केही महिना ढिला भयो,’ उनले भने । ८० हजारमध्ये ४५ हजार तिर्न बाँकी छ । ‘त्यो पैसा पनि तिर्छु भनेकै छु, तिर्दिनँ भनेको छैन। ’  ढिलै भए पनि ऋण तिर्ने जानकारी दिएको भए पनि बैंकले वास्ता नगरेको उनले गुनासो गरे  । घरमा कोही नभएका वेला यही १० असारमा बैंकको टोली भैँसी लिएर गएको उनले बताए । ‘केही ढिला भयो । एकमुष्ट तिर्नका लागि पैसा जम्मा गर्दै थिएँ,’ सार्कीले गुनासो गरे, ‘घरमा कोही थिएनौँ, बैंकवाला आएर भैँसी लगेछन् ।’

स्वावलम्बन बैंक, जुम्लाका सहायक प्रबन्धक भरतबहादुर बोहोराले ६ महिनासम्म किस्ता नतिरेपछि भैँसी लिएको बताए । बैंकले सार्कीको घरमा ल्याएको भैँसी अर्को गाउँका बासिन्दालाई हेरचाह  गर्ने जिम्मा दिएको छ ।

१८ प्रतिशतसम्म ब्याज
स्वावलम्बन बैंकले जुम्लाको गुठीचौर, तातोपानी र तिला गाउँपालिका तथा चन्दननाथ नगरपालिकामा लघुवित्त कार्यक्रम सञ्चालन गरेको छ । यसअन्तर्गत समूह बनाएर व्यवसायका लागि ऋण लगानी गर्दै आएको छ । किसानलाई ऋण लगानी गर्दा वार्षिक १८ प्रतिशतसम्म ब्याज लिने गरेको छ । समूहमार्फत पाँच करोड ६८ लाख रुपैयाँ ऋण लगानी गरिएको बंैकका सहायक प्रबन्धक बोहोराले बताए । बैंकले जुम्लामा गत वर्ष १७ करोड २४ लाख कारोबार गरेको छ ।

तपाईको प्रतिक्रिया