उदयपुर । विशेष अदालत काठमाण्डौले त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरीलाई सफाइ दिएको छ । सात महिना अघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वमेयर चौधरीसहित ४ जना विरुद्ध राजश्व चुहावट गरी भ्रष्टचार गरेको आरोप सहित मुद्धा दर्ता गरेको थियो ।
सोमबार विशेष अदालतका न्यायधिशद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले पूर्वमेयर सहित ४ जनालाई सफाई दिइएको छ । सफाई पाउनेमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किरणकुमार कार्की, नगरपालिकाका तत्कालीन राजश्‍व शाखा प्रमुख गुरूप्रसाद ढकाल र निश्चल ट्रेडर्स हेटौंडाका प्रोपाइटर तथा ठेकेदार राजेश्वर बछार रहेका छन् ।
अख्तियारको अभियोग पत्रमा तत्कालीन नगरप्रमुख चैधरीले नगपालिका भित्रका बरूवा खोला, त्रियुगा खोला र सुनकोशी नदीको नदीजन्‍य पदार्थ माटो बाहेकको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गरेको, नगरपालिकाको नगरस्तरीय राजश्व परामर्श समितिको निर्णयलाई बेवास्ता गरी मिलेमतोमा अनुमानित राजश्व रकम नउठाइ राजस्व चुहावटबाट ६२ लाख ९१ हजार २०४ रुपैयाँ र ठेक्का नै नभएको भरौटे र बलौटे माटोको राजश्व १८ लाख ४४ हजार १७७ चुहावट गरी जम्‍मा ८१ लाख ३५ हजार ३८२ रुपैयाँ राजश्व चुहावट गरेको आरोप लगाएको थियो ।

अख्तियारले पूर्वमेयर चौधरी सहित तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कार्की, राजश्व शाखा प्रमुख ढकालसँग भ्रष्टाचार निवारण ऐनको दफा ७ बमोजिम राजश्व रकमको दोब्बर जरिवाना १ करोड ६२ लाख ७० हजार ७६४ को दरले जरिवानमा माग दाबी सहित मुद्धा दायर गरेको थियो ।

यस्तै ठेकेदार राजेश बछारलाई १८ लाख ४४ हजार १७७ को दोब्बर राजश्व ३६ लाख ८८ हजार ३५५ रुपैयाँ असुल उपर गर्न अख्तियारले माग दाबी गरेको थियो ।

विशेष अदालतबाट सफाई पाएपछि पूर्वमेयर चौधरीले भने, ‘‘म माथि लगाएको आरोप मिथ्या हो, अख्तियारमा मुद्धा हाल्ने देखि मेरो राजनीति सिध्याउन को को कहाँ कुन नेताको ढोकाढोका गएको सवै मलाई थाह छ तर म कसैको राजनीति र पदलाई सिध्याउने नैतिकता भएको नेता होइन ।” ‘‘खाएको विष लाग्ने हो नखाएको विष किन लगाउन खोजेको हो ?” पूर्वमेयर चौधरीले भने, ‘‘नगर कार्यपालिका र राजश्व परामर्श समितिको निर्णय भएरै ठेक्का लागेको हो, त्यो समितिमा म मात्रै थिइन तर पनि म माथि मात्रै किन मुद्धा ? यो मुद्धा राजनीतिक प्रतिशोधको आधारमा म माथि लगाएको हो ।”

यस्तै तत्कालिन राजश्व शाखा प्रमुख ढकालका अनुसार सवै प्रक्रिया पुरा गरि पत्र पत्रिकामा सूचना प्रकाशन गरेरै ठेक्का लागेको तर व्यक्तिगत रिसिवीको कारण अख्तियारमा मुद्धा लगाएको हो अरु केहि होइन कहि कतै राजश्व हिनामिना वा राजश्व चुहाबट भएको छैन अहिले पनि फाइल पल्टाएर हेर्दा हुन्छ । कहाँ निर राजश्व चुहाबट भयो ? ठेक्का प्रतिष्पर्धामा झण्डै एक दर्जन कम्पनीले प्रतिष्पर्धा गरेको थियो ।

तपाईको प्रतिक्रिया