उदयपुर । के तपाईले कुनै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनु भएको छ । लिनु भएको छ भने तपाईलाई थाहा नै होला ऋणीले ऋण तिर्न नसक्दा ऋण लिंदा धितोमा राखेको अचल सम्पत्ति लिलामी हुन्छ । तर, उदयपुरको त्रियुगा नगरपालिकामा रहेको एक वित्तिय संस्थाको ऋण लिएर तिर्न नपाउँदै ऋणीको मृत्यु भए सबै रकम मिनाह गर्ने गरेको छ । त्रियुगा नगरपालिका ११ स्थित पिपल चौकमा अवस्थित डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालयमा आव आवद्द लघुवित्त सदस्यको निधन भए ऋण मिनाह गर्ने गरेको छ ।


यस बैंकबाट ऋण लिएका त्रियुगा नगरपालिका ७ चुहाडेका कपुर वति चौधरीको १ लाख ५० हजार रुपैया रुपैयाँ ऋण मिनाह गरेको छ । मृतक चौधरी २०७१ सालबाट यस संस्थामा आवद्ध रहँदै आएको थियो । कपुर वति चौधरीले केही समय अगाडी ऋण लिएर गएको ६ दिनमै मृत्यु भएको थियो । मृत्यु भएपश्चात बैंकले मृतक कपुर वति चौधरीले लिएको १ लाख ५० हजार ऋण मिनाहा गर्नुको साथै ४ हजार कागक्रिया खर्च पनि उनको श्रीमान अछिम लाल चौधरीलाई दिएको पठाएको शाखा प्रमुख सूर्य विष्टले बताए । उनका अनुसार यस बैंकमा रहँदा मृतकले जम्मा गरेको बचत १६ हजार पनि मृतककै श्रीमान अछिमलाल चौधरीलाई फिर्ता गरिदिएको बताए ।
बैंकले आफ्ना सदस्यलाई राहत दिन र ऋणीको मृत्युपछि आफूले लिएको ऋणको भार परिवारले लिनु नपरोस् तथा मृतकको काजक्रिया गर्न सहजहोस् भन्दै यस्तो कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख विष्टले बताए ।
यस बैंकको कार्यक्षेत्र उदयपुरको त्रियुगा र चौदण्डीगढी नगरपालिका र सप्तरीको सुरुङ्गा नगरपालिका रहेको छ । तीन वटा नगरपालिकामा बैंकले १० करोड लगानी समेत गरेको शाखा प्रमुख विष्टले जानकारी दिए ।
यस बैंकले २०६७ सालबाट उदयपुरमा शाखा विस्तार गरेको हो । यस बैंकले सदस्य कर्जा विमा, स्वास्थ्य विमा, पशु विमा, कृषि विमा र ग्राह्यस्थ विमा पनि संचालन गर्दै आएको छ । यस बैंकमा तीन वटा नगरपालिकाका गरी १ हजार ८ सय सेवाग्राही सदस्यता रहेको छ ।

तपाईको प्रतिक्रिया