६२÷ ६३ को जनआन्दोलनका ज्ञात अज्ञात सम्पूर्ण शहीदहरुलाई सर्वप्रथम सझंना, प्रजातन्त्र सेनानी सबैजना प्रजातान्त्रीक योद्धाहरु, विचारकहरु अनि जनयूद्धमा प्राण गुमाएका सपुतहरुलाई श्रद्धासुमन् । सबैजनाको महान वलिदान र तपस्याको कारण नै आज संघीय लोकतान्त्रीक नेपाल १४ औँ लोकतान्त्रीक दिवसको संघारमा आईपुगेको छ । बैशाख ११ अर्थात नयाँ नेपालको खाँका कोरीएको सुनौलो दिन, नेपालीहरुमा शुभकामना ।
राजसँस्थाको पारिवारीक र जहानिँया प्रत्यक्ष शासन अन्त्य र लोकतान्त्रिक गणतन्त्रको संस्थागत पुनर्आगमन भएको दिन (देशभर १४ औं लोकतन्त्र दिवसका रुपमा भव्यताका साथ मनाइँदैछ । २०६२÷६३ को ऐतिहाँसिक दोश्रो जनआन्दोलन पश्चात बैशाख ११ गते निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो । त्यतिबेला सशस्त्र युद्धरत तत्कालिन नेकपा माओवादी र शान्तिपूर्ण सडक आन्दोलनकारी राजनीतिक दलहरु बीच सम्पन्न १२ बुँदे सहमति पश्चात १९ दिने ऐतिहाँसिक जनआन्दोलन भएको थियो ।


जनआन्दोलनको सफलतासंगै युद्धरत नेकपा माओवादी शान्ति प्रक्रियामा फर्किएको थियो । आजैका दिन तत्कालिन राजा ज्ञानेन्द्र शाहले विघठित संसद् पुनःस्थापना गर्दै जनताको नासो जनतालाई नै दिएँु भनी शासनसत्ता नेपाली जनतालाई सुम्पिएर नारायणहिटी दरबारबाट बहिर्गमन भएका थिए । त्यहि बैशाख ११ गतेको दिनलाई लोकतन्त्र दिवस भनेर मनाउन थालिएको हो । यस दिनको महत्वलाई आत्मसाथ गर्दै अनि लोकतन्त्रको रक्षार्थ पैरवी गर्नकालागी आज नेपालमा सार्वजनीक विदा हुनेगर्दछ ।
६२ अनि ६३ को आन्दोलनलाई नेपाली राजनीतिकै नयाँ मोड र अत्यन्त महत्वपूर्ण घडिका रूपमा लिइन्छ । देशलाई समृद्धिको बाटोमा हिडाउन संविधानसभाको यात्रा यहि आन्दोलनबाट सुरु भएको थियो । फलस्वरुप सवै नेपालीको आकांक्षा पुरा गर्न २०७२ असोज ३ गते “नेपालको संविधान (२०७२)“ जारी हुन सफल भयो ।
वर्षौसम्म राजसँस्था पद्धतिमा देशको मुख्य शाषक राजा रहने ब्यवस्था थियो । ४६ सालपछी संबैधानिक राजतन्त्रको स्थापना भएतापनि राजसँस्थाको वर्चस्व विभिन्न प्रकारमा शाषन पद्धतीमा रहिनैरहेको थियो ।
देशको शाषन पद्धतिमा मुख्य पदमा रहनकालागी राज परिवारमै जन्मिन पर्ने क्रमको अन्त्य गर्दै आज स्वतन्त्र लोकतान्त्रिक नेपालमा हामीमध्य जो कोहीले पनि राष्ट्रपती हुने संभावना बोकेका छौ । आजको मितीमा संघीय गणतान्त्रिक नेपालको दोश्रो राष्ट्रपती, नेपाली जनताकै छोरी महामहीम राष्ट्रपती विधादेवी भण्डारी पदासीन छिन् । आजको दिन महामहीम राष्ट्रपतीले राष्ट्र र राष्ट्रवासीको नाममा सन्देश दिने चलन छ ।
यस अवसरमा चोक चौताराहरुमा दिप प्रज्वलन, नगर तथा टोल सरसफाई, प्रभातफेरी र प्रवचन, जनआन्दोलनका शहीदहरुको सम्झना र घाइते तथा उनीहरुका परिवारलाई सम्मान गरिंदै आएको छ । आज मानवअधिकार र लोकतन्त्रका पक्षमा क्रियाशिल दर्जनौं संघसंस्थाहरुले खबरदारी सभाहरु आयोजना गरेका छन् । उनीहरुले ऐतिहाँसिक आन्दोलन पश्चात गठन भएको संविधानसभाले जारी गरेको नेपालको संविधान (२०७२) को प्रभावकारी कार्यन्वयनका लागि सरकार समक्ष माग गरेका छन् ।
हुन त २०७४ साल नेपाली लोकतन्त्र सस्थागतताका लागि अत्यन्त स्मरणयोग्य वर्ष बन्न पुगेको छ, ३ चरणका निर्वाचनमा नेपालीजनले स्थानीय, प्रादेशिक अनि प्रतिनीधीसभाका नेतृत्व चयन गरेका थिए । धेरै पछि लोकतन्त्रान्त्रमक नेपालले निर्वाचित बहुमतको सरकार पाएको छ अनि संगै चुलिएका छन् लोकतन्त्रप्रतिका नेपाली अपेक्षाहरु ।
हरेक आन्दोलनले सफता पाईसकेपछि आम जनताको समस्या जहिले पनि अपेक्षित नै रहने गर्छन । यो नेपाली राजनीतिकको तीतो विडम्वना हो । हरेक आन्दोलनमा राजनीतिक पार्टीले तिनै निम्न वर्गका जनताहरुलाई नै भ¥याङ बनाएर सफलतामा पुग्ने गर्दछन । तर त्यहाँ पुगेपछि यी समुदायलाई विर्सने गर्दछ । हालका संसदवादी दल पटक–पटक सत्तामा पुगेर पनि यस्ता वर्गको समस्यालाई कहिल्यै सम्वोधन गरेनन् । नेपालका राजनीतिक नेताहरुले आँखा देखे पनि कान नसुन्ने प्रवृतिले आज यो समस्या खडा भएको हो । जसले गर्दा धनी र गरिब बीचको खाडल पुर्न कहिल्यै प्रयास गरिएन ।
गत वर्ष २०७५ साल सम्झने हो भने उही महँगी, उही मूल्यवृद्धि, उही असुरक्षा, भ्रष्टाचार । कहीं कतै सन्तोष लिने ठाउँ भएन । स्थानीय सरकारमा राम्रालाई भन्दा हाम्रालाई बढी प्राथमिकतामा राख्दै कामकाज अघि बढ्यो । स्थानीय सरकारको गति चलेपनि बेला बेलामा विवादित बन्दै गएको समाचारहरु पढ्न र सुन्न पाईयो । स्थानीय तहमा पहिलाका भन्दा बढी भ्रष्टचार बढ्यो, पहुँच, अवसरवादीले मात्रै लाभ लिन पाए भने उही नारामा मात्रै सिंह दरबारको सरकार गाउँ गाउँमा भाषणै सिमित हुन पुग्यो । चुनावताका नेताहरुले बोलेको अधिकांश भाषणका कुराहरु आम सर्वसाधारणहरुको लागि कति पुरा भए कति पुरा भए त्यसको समिक्षा हुनु जरुरी छ ।

अहिले राजा ज्ञानेन्द्र शाह विभिन्न भ्रमणका नाममा तराई तथा पहाडी जिल्ला दौडहामा रहेको छ । राजा सलबलाई रहेको छ । अहिले राजा आउँ देश बचाउँ भन्न सम्मका नाराहरु घन्किन थालिसकेको अवस्थामा राजनीतिक दल, जनप्रतिनिधि र कर्मचारीको रवैयाले फेरि लोकतन्त्रको अवसान नहोस् ।
कर्मचारीहरु स्थानीय, प्रदेश वा संघ कुन तहमा रहने विवादले विकासले फड्को मार्न सकेन । स्थानीय तहमा कर्मचारीहरुको हैकम बढदै गयो । भ्रष्टचार शुन्यतामा झार्ने प्रधानमन्त्रीको पटक पटकको भाषण भाषणमै सिमित रहयो । सुन काण्ड, वाइडवडी जहाज खरिद प्रकरण काण्डको साथै निर्मला बलात्कार काण्ड, बलुवाटार काण्ड लगायतका चर्चित काण्डहरु घटे । के जनता यसैका लागि लोकतन्त्र ल्याएका थिए । प्रश्न खडा भयो । जनता झन झन गरिव हुँदै गए भने आकाशिने झन झन आकाशिदै गए । के लोकतन्त्रका हिमायतीहरुले यसको जवाफ दिन सक्छ ?
गत वर्ष जे जसरी वितेपनि अवका आँउदा वर्षमा नेपाली भूमिमा लोकतन्त्रको सकारात्मक चर्चा अनि असल प्रभाव कायम रहोस् ।
सामन्तवाद, गैरराष्ट्रवाद भनिए पनि सामन्तिका ढुकुटी फुट्नै सकेन । गरिव झन गरिवै नै रहे । जनआन्दोलन पश्चात नागरिकहरुमा पलाएका आशाहरु निराशामा परिणत हुँदै गए । सरकार बदलिन्छन् तर प्रवृत्ति उस्तै छन् । शहिद र घाइतेका परिवारहरुका पिडा उस्तै छन् ।
लोकतन्त्रलाई सच्चा अर्थमा लोकतन्त्र साबित गराईयोस, छोराछोरीलाई विदेश पठाएर ल्याएको ज्यालालाई रेमिट्यान्स या विपेष्रण जे भने पनि, दिगो हुँदैन । नेपालीहरु ज्यालादारी गरेर कमाउन जाने मजदुर मात्र हैनन, विश्व परिपेक्ष्यमा नेपालीहरुको गहकिलो उपस्थितीलाई लोकतन्त्रले उजागर पनि त गर्न सकेको छैन ।
जनप्रतिनिधि र कर्मचारी तन्त्रमा स्मरण रहोस् हरेक आन्दोलनमा निम्न वर्गको जनताको निर्णायक र ऐतिहासिक भूमिका रहदै आएको छ । २००४ सालको जयतु संस्कृतम आन्दोलन, २००७ सालको राणाशाही विरोधी आन्दोलन, २०१७ सालको फौजी कुविरोधी आन्दोलन, २०४६ सालको जनआन्दोलन र २०६२÷२०६३ को १९ दिने महान जनआन्दोलन भाग–२ त्यसका जिउँदा उदाहरणहरु हुन । हाम्रा तीन पुस्ताले लोकतन्त्रका लागि लडे तर अवको आन्दोलन जनप्रतिनिधि, भ्रष्टचारी, कालाबजारी, कर्मचारी तन्त्रको विरुद्धमा गर्न नपरोस् । न्याय र समृद्धीको वास होस् । हरेक चुल्होमा आगो बलोस्, आँगनमा फुल फूलोस अनि मनमा नेपालीपन होस् ।

तपाईको प्रतिक्रिया