२०७५ साल अब हामी बीच पुरानो भएर सदाका लागि बिदा भएको छ । आजदेखि हामी निकै सपनाहरू, कामनाहरू साँचेर नयाँ वर्ष विक्रम सम्वत् २०७६ लाई स्वागत गर्दैछौं । एउटा वर्ष सकिनु र अर्काे वर्ष आरम्भ हुनु सामान्य प्रकृया हो । केवल एउटा ‘क्यालेण्डर’ वा ज्योतिषीय पात्रो फेरिए जस्तो मात्र । तर वास्तविकता त्यस्तो हुँदैन । व्यक्ति, समाज वा राष्ट्रको जीवनमा बितेको वर्षभरिका घटनाहरू र आगामी वर्षका सम्भावनाहरूको आफ्नै विशिष्ट महत्व हुन्छ । एउटा व्यक्ति, समाज वा राष्ट्रले बितेको वर्षबाट धेरै शिक्षा लिन्छ र आगामी वर्षको मार्गचित्र कोर्छ । बितेको वर्षको मूल्यांकन र नयाँ वर्षको सपना हामी यसैकारण निर्धारण गर्छाै । त्यसो त वि.सं. २०७५ लाई पनि हामीले एकदमै नयाँ आशा र सम्भावनाको दृष्टिले हेरेका थियौं । त्यो पुरा भयो भएन समिक्षाको बिषय बन्ला । स्थायी सरकार बनेर राज्य समृद्धिको मोडमा रहेको बेला राम्रै राम्रो सोच्नु र राम्रै राम्रो सपना देख्नु हामी सबैका लागि स्वाभाविक थियो । तर फेरि पनि हामीले सोचेजस्तो, हामीले कामना गरेजस्तो वा हामीले सपना देखेजस्तो केही पनि भएन । उही महँगी, उही मूल्यवृद्धि, उही असुरक्षा, भ्रष्टाचार । कहीं कतै सन्तोष लिने ठाउँ भएन । स्थानीय सरकारमा राम्रालाई भन्दा हाम्रालाई बढी प्राथमिकतामा राख्दै कामकाज अघि बढ्यो । स्थानीय सरकारको गति चलेपनि बेला बेलामा विवादित बन्दै गएको समाचारहरु पढ्न र सुन्न पाउँछौ । स्थानीय तहमा पहिलाका भन्दा बढी भ्रष्टचार बढ्यो, पहुँच, अवसरवादीले मात्रै लाभ लिन पाए भने उँही नारामा मात्रै सिंह दरबारको सरकार गाउँ गाउँमा भाषणै सिमित हुन पुग्यो । चुनावताका नेताहरुले बोलेको अधिकांश भाषणका कुराहरु आम सर्वसाधारणहरुको लागि कति पुरा भए कति पुरा भए त्यसको समिक्षा हुनु जरुरी छ । कर्मचारीहरु स्थानीय, प्रदेश वा संघमा रहने विवादले पनि २०७५ फलदायी हुन सकेन । सुन काण्ड, वाइडवडी जहाज खरिद प्रकरणको साथै निर्मला बलात्कार काण्ड यस वर्षको चर्चित काण्ड हुन पुग्यो भने वर्ष सकिनै लाग्दा बालुवाटार जग्गा काण्ड पनि थपिएको छ । यो काण्डको वास्तविकता नबाहिरिए पनि केही ठूलाबडा मुछिएको देखिन्छ ।
अन्तमा हामीले हाम्रा प्रिय पाठकहरूबाट पाएका माया, हौसलाहरु त्यसै मर्न दिनेछैनौं । नयाँ बर्ष २०७६ सवैको हर्ष र उत्साहको बर्ष बनोस्, देशले सम्वृद्धिको बाटो समाओस्, भ्रष्टाचार र कुरीतिका घटना सुन्न नपरोस् , प्राकृतिक प्रकोप र अप्रिय घटना नदोहोरिउन । नयाँ बर्ष २०७६ को पावन अवसरमा हामी हाम्रा सम्पूर्ण पाठक र विज्ञापनदाताहरूको साथै सम्पूर्ण मान्यजन, स्वदेश तथा विदेशमा रहनुहुने आमाबुवा, दाजुभाई, दिदीबहिनी, शुभचिन्तक सबैमा उन्नती, प्रगति, सुख, समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
कार्यकारी सम्पादक

तपाईको प्रतिक्रिया