उदयपुर/मर्मतमा बन्द रहेको उदयपुर सिमेन्ट उद्योगले उत्पादन गर्न थालेको छ । उद्योग स्थापना भएको २५ वर्षपछि ८ करोड रुपैयाँ लागतमा एक महिना लगाएर मर्मत गरिएको हो ।
असोज महिनाको पहिलो सातादेखि सुरु भएको मर्मत कार्य कात्र्तिकको पहिलो सातासम्म लागेको उद्योग प्रशासनले जनाएको छ । उद्योगका अनुसार २२ दिनभित्र मर्मतको काम सक्ने लक्ष्य लिए पनि केही प्राविधिक समस्याले थप आठ दिन लागेको थियो । उद्योगको मुख्य भाग मानिने किल्लर (कच्चा पदार्थ पकाएर सिमेन्ट बनाउने अग्नि यन्त्र) लगायत २२ वटा ठूला यन्त्रको पूर्ण मर्मत र पुनः जडान गरिएको छ ।
उद्योगका मेकानिकल विभागका प्रमुख टीका कुँवरका अनुसार धेरै सामानहरु खिएर कामै नलाग्ने र केही टुटेर उद्योग बन्द हुने अवस्था आएपछि एक महिना लगाएर मर्मत गरिएको हो । ‘पाँच दशमलब एक मिटर भट्टी (किल्लर) नै चेन्ज गरिएको छ । धेरै पुरानो भएका पार्टपूर्जा मर्मत र चेन्ज गर्नु प¥यो,’ उनले भने, ‘उद्योगमा पहिलो पटक ग्राफाइड सिल जडान गरी उत्पादन समेत सुरु गरिएको छ ।’ मेकानिकल विभागाका अनुसार २४ मिटर लम्बाई र चार मिटर चौडाई भएको कुलर, ग्राफभेड वेल्ड फिल्टर, एकपेन्सन जोइन्डको १४ ठाउँमा मर्मत गरी नयाँ बनाइएको छ ।
सैगरी रमिल फ्यान, जिबिएस फ्यान, एफसिएफ फ्यान, १५ टनको ६ ठाउँमा डक चेन्ज, टोटल लुब्रिकेट स्टिम, लाइन्भर, बकट एलिवेल्ट, ४० वटा प्रेसर टान्मिटर चेन्ज, भेरी लेबल फ्रिकुइन्सी ड्राई पाँचवटा चेन्ज, इलेक्स मर्मत गरिएको नायब महाप्रबन्धक महेश काफ्लेले जनाकारी दिए । ‘मर्मतपछि उद्योगमा नयाँपन आएको छ,’ उनले भने, ‘उत्पादन समेत बढ्ने छ ।’ उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले एक महिना लगाएर मर्मत गरेपछि उत्पादन सुरु गरिएको बताए ।
उद्योगको मुख्य भाग मानिने किलिङकर भट्टी (कच्चा पदार्थ पकाएर सिमेन्ट बनाउने अग्नि यन्त्र ) पहिलो मर्मत भएको हो । ६० मिटरको किलिङकर भट्टी २४ मिटर र कोइला आउने भागको ५ मिटरमा क्रयाक थियो । १८० डिग्रीमा घुम्नु पर्ने क्लिङ्कर मेसिन ७० डिग्रीको फरकमा घुमिरहेको थियो । यो कुनै समय पनि ब्रस्ट हुन सक्ने भएकोले मर्र्मत गरिएको महाप्रबन्धक पौडेलले बताए ।

मर्मतपछि उद्योगले दुई दिनमा १३ हजार बोरा सिमेन्ट उत्पादन गरेको छ । उत्पादन क्रमिक रुपले बढ्दै जाने उद्योग विक्री विभागले जनाएको छ । उद्योगले पछिल्लो दुई वर्षयता ७ सय ६० टन दैनिक उत्पादन गर्दै आएकको छ । मर्मतपछि कम्तीमा ८ सय ५० देखि ९ सय टनसम्म सिमेन्ट उत्पादन हुने उद्योगले जनाएको छ । २०४४ सालमा जापान सरकारको सहयोगमा स्थापित उद्योग नेपाल सरकारलाई हस्तान्तरणसँगै राजनीतिककरण हुँदा बर्सेनि उत्पादन घट्दै गएको थियो । सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले गैंडा छाप सिमेन्टको उत्पादन गर्दै आएको छ । पछिल्लो समयमा उदयपुर सिमेन्ट उद्योगमा सुधार भएको हो ।
जापान सरकारको सहयोगमा स्थापित उद्योग नेपाल सरकारलाई हस्तान्तरणसँगै दलीय भाग वण्डा र मजदुर राजनीतिकरणले वर्षेनी उत्पादन घट्दै टाट पल्टन लागेपछि ०७१÷७२ मा सरकारले नीजिकरण गर्न लागेको थियो । तर, सरकारले नीजिकरणको निर्णय फिर्ता लिदै पौडेललाई जिएम नियुक्त गरेर उद्योग सुधारको जिम्मा दियो । पौडेल नेतृत्वको व्यवस्थापकीय सञ्चालनपछि उद्योगले वर्षेनी सुधार गर्दै क्षमता अनुुसार उत्पादन गर्ने अवस्थामा पुर्याएको कर्मचारीहरू बताउँछन् ।
उद्योगका बिक्री विभाग प्रमुख रामबहादुर जिसीका अनुसार ०७१÷७२ को दाँजोमा पछिल्लो आर्थिक वर्ष झण्डै दोब्बर उत्पादन वृद्धि भएको छ । ०७१÷७२ मा १४ लाख ४६ हजार २ सय ६७ बोरा उत्पादन भएको उद्योगले ०७४÷७५ मा २४ लाख ६ हजार ९ सय ७४ बोरा उत्पादन गरेको छ । ०७२÷७३ मा १३ लाख ५८ हजार १ सय ८७ बोरा र ०७३÷७४ मा १९ लाख ७३ हजार २ सय ९४ बोरा गैंडाछाप उत्पादन गरेको थियो ।
जिसीका अनुसार ०७४÷७५ मा उद्योगले सिमेन्ट बिक्रीबाट २ अर्व ९ करोड ४० लाख ६७ हजार ३ सय ८० रुपैयाँ आर्जन गरेको छ । आसपासका स्थानीय र कर्मचारी मजदुरलाई धुलो, धुँवाको प्रदुषण खेप्नुपर्ने समस्याबाट मुक्ति दिलाउन १ वर्षअघि मात्र उद्योगमा प्रदुषणरहित यन्त्रसमेत जडान गरिसकिएको छ। वर्षमा ६÷७ महिनाभन्दा बढी नचल्ने उद्योगलाई मर्मतको समयबाहेक बाह्रै महिना सुचारु राख्न गरिएको उनले बताए ।
उद्योगका अर्का डीजीएम महेश काफ्लेका अनुसार उद्योगमा पुरानो पुस्ताका कर्मचारीलाई कानुन अनुसारको सेवासुविधासहित बिदा गरेर ३ दर्जन बढी नयाँ उर्जावान, सिर्जनसिल र सक्रिय युवा प्राविधिक कर्मचारी नियुक्ती गरिएको छ ।

तपाईको प्रतिक्रिया