सुखिलाल चौधरी – उदयपुर । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सोमबार संघीय संसदमा बजेट पेश गरेको छ । संघीय सरकारले बजेट पेश गरेसँगै प्रदेश र स्थानीय तहमा समेत सुत्रबद्ध रुपमा रकम हस्तान्तरण भएको छ ।

७५३ वटै स्थानीय तहका लागि सरकारले चार किसिमका बजेट हस्तान्तरण गरेको छ । समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक गरी सरकारले पालिकाहरुलाई एकमुष्ट रकम पठाएको छ । अब स्थानीय तहरुले हस्तान्तरण भएर गएको रकम समेतलाई जोडेर आफ्नो छुट्टै बजेट ल्याउने छन् ।

उदयपुरको चार नगरपालिका र चार गाउँपालिका गरी ३ अर्ब ९० करोड ७३ लाख बजेट पाएका छन् । चालु तर्फ ३ अर्व २८ करोड १९ लाख र पुँजीगत प्रकृति तर्फ ६२ करोड ५४ लाख गरी ३ अर्व ९० करोड ७३ लाख बजेट विनियोजन भएको छ । नगरपालिका तर्फ २ अर्ब ५७ करोड ७३ लाख र गाउँपालिका तर्फ १ अर्ब ३३ करोड विनियोजन भएको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी आवमा गाउँपालिका तर्फको बजेट घटेर आएको छ ।

उदयपुरमा सवैभन्दा बढी त्रियुगा नगरपालिकामा बजेट विनियोजन भएको छ । नगरपालिका मध्ये सवैभन्दा कम बेलका नगरपालिकामा बजेट विनियोजन भएको छ । त्रियुगा नगरपालिकामा १ अर्व २ करोड ५ लाख बजेट विनियोजन भएको छ भने बेलका नगरपालिकामा ४८ करोड २९ लाख बजेट विनियोजन भएको छ । त्रियुगामा बजेट बढेर आएको छ भने बेलकामा बजेट घटेर आएको छ ।

गाउँपालिका मध्ये सवैभन्दा बढी उदयपुरगढीमा बजेट विनियोजन भएको छ भने सवैभन्दा कम लिम्चुङबुङ गाउँपालिकामा बजेट विनियोजन भएको छ । उदयपुरगढी गाउँपालिकामा ४५ करोड १६ लाख र लिम्चुङबुङ गाउँपालिकामा २२ करोड ५४ लाख बजेट विनियोजन भएको छ । लिम्चुङबुङ गाउँपालिकामा बसाइसराइँको प्रभाव बजेटमा परेको छ । लिम्चुङबुङ गाउँपालिकामा बजेट ९३ लाख घटेर आएको छ ।

उदयपुरमा कुन पालिकामा कति बजेट ?

त्रियुगा नगरपालिकामा बजेट बढेर आएको छ भने कटारी, चौदण्डीगढी र बेलका नगरपालिकामा बजेट घटेर विनियोजन भएको छ । त्रियुगा नगरपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत २० करोड १८ लाख र सशर्त अनुदान शिर्षक अन्तर्गत ७८ करोड ७७ लाख, विशेष अनुदान १ करोड ८० लाख र समपुरक अनुदान पुँजीगत तर्फ १ करोड ३० लाख गरी १ अर्व २ करोड ५ लाख विनियोजन भएको छ । गत वर्षको तुलनामा १६ करोड बढी रकम विनियोजन भएको हो ।

कटारी नगरपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत १० करोड ९७ लाख, सशर्त अनुदान शिर्षक अन्तर्गत ४२ करोड ७४ लाख, विशेष अनुदान तर्फ ७६ लाख र समपुरक अनुदान पुँजीगत १ करोड ७५ लाख गरी ५६ करोड २२ लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षको भन्दा ३ करोड ७३ लाख मात्रै बढी हो ।

चौदण्डीगढी नगरपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत १३ करोड ८० लाख, सशर्त अनुदान शिर्षक अन्तर्गत ३६ करोड १५ लाख र विशेष अनुदान तर्फ ६२ लाख, समपुरक अनाुदान पुँजीगत ६० लाख गरी ५१ करोड १७ लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षको तुलनामा १ करोड ४२ लाख घटेर विनियोजन भएको छ ।

बेलका नगरपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत १२ करोड ७२ लाख, सशर्त अनुदान शिर्षक अन्तर्गत ३१ करोड ६७ लाख, विशेष अनुदान तर्फ २ करोड लाख र समपुरक अनुदान पुँजीगत तर्फ १ करोड ९० लाख गरी ४८ करोड २९ लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षको भन्दा ४ करोड ४८ लाख बजेट घटेर विनियोजन भएको छ ।

उदयपुरगढी गाउँपालिकामा बजेट बढेर आएको छ भने रौतामाई, ताप्ली र लिम्चुङबुङ गाउँपालिकाको बजेट घटेर आएको छ । उदयपुरगढी गाउँपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत १४ करोड ८७ लाख, सशर्त अनुदान शिर्षक अन्तर्गत २८ करोड ६४ लाख, विशेष अनुदान तर्फ ६५ लाख र समपुरक अनुदान तर्फ १ करोड गरी ४५ करोड १६ लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षको तुलनामा १ करोड २८ लाख मात्रै बढी बजेट विनियोजन भएको छ ।

रौतामाई गाउँपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत ९ करोड ४२ लाख, सशर्त अनुदान शिर्षक अन्तर्गत २७ करोड ३९ लाख, विशेष अनुदान तर्फ १ करोड र समपुरक अनुदान पुँजीगत तर्फ ६० करोड गरी ३८ करोड ४१ लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षको तुलनामा ३ करोड १८ लाख बजेट कम हो ।

ताप्ती गाउँपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत ७ करोड ५५ लाख, सशर्त अनुदान शिर्षक अन्तर्गत १७ करोड ९९ लाख, विशेष अनुदान तर्फ १ करोड ९ लाख र समपुरक अनुदान पुँजीगत तर्फ २६ करोड गरी २६ करोड ८९ लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षको तुलनामा २ करोड ३६ लाख कम बजेट विनियोजन गरेको छ ।

लिम्चुङबुङ गाउँपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत ७ करोड १ लाख, सशर्त अनुदान शिर्षक अन्तर्गत १३ करोड ९८ लाख, विशेष अनुदान तर्फ १ करोड ५ लाख र समपुरक अनुदान पुँजीगत तर्फ ५० लाख गरी २२ करोड ५४ लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षको तुलनामा ९३ लाख बजेट घटेर आएको छ ।

हेर्नुस् कुन प्रदेश र स्थानीय तहलाई कति बजेट ?

 

तपाईको प्रतिक्रिया