उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेमा शनिबारदेखि सुरु भएको प्रथम वडाध्यक्ष गोल्डकप फुटवल प्रतियोगितमा कटारी फुटवल क्लव विजयी भएको छ ।निर्धारित ६० मिटेको खेलमा चौदण्डिगढी नगरपालिकालाई ५–२ ले पछि पार्दै कटारीले जित निकालेको हो । पहिलो खेलमै सहजै जित निकालेको कटारीले अव १९ गते सेमिफाईनल खेल खेल्दैछ ।

मध्यान्न अघि लगातार तीन गोल गर्दै अघि बढेको कटारीलाई व्रेकपछि चौदण्डिले दुई गोल जवाफी फर्कायो । खेल सुरु भएको १४ औँ मिनेटमा कटारीका प्रताप राईले खाता खोलेका थिए । लगत्तै २० औँ मिनेटमा थप एक गोल गर्दै कटारीका आकाश राईले टिमलाई अग्रता दिलाएका थिए ।

खेल सुरु भएको २५ औँ र ४० औँ मिनेटमा कटारीकै सुरन धामीले तेस्रो र पाँचौ गोल गर्दै टिमको जितलाई सुनिश्चित गराए । सुरुवातीचरणबाटै निकै दवावमा राखेको कटारीका लागि ३३ औँ मिनेटमा किरण दनुवारले चौथोँ गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

मध्यान्न पछि खेल सुधार गरेको चौदण्डिले जवाफीमा दुई गोल गर्यो । चौदण्डिका लागि १६ औँ मिनेटमा विश्वास राईले एक गोल गर्दै खाता खोलेका थिए । लगत्तै २८ औँ मिनेटमा रितेश तामाङ्गले थप एक गोल गर्दै टिमलाई हौसला दिएका थिए ।

प्रतियोगिताको म्यान अफ दी म्याच कटारीका प्रताप राई घोषित भए । उनलाई नगद एक हजार पाँच सयले सम्मान गरिएको आयोजक समितिका सदस्य रुपेश मगरले बताए । उनका अनुसार आईतबारको खेल गोलबजार स्पोर्टस क्लव सिरहा र नेपाली सेनाको पशुपतिप्रसाद गण बोक्सेविच हुने छ ।

सिरहा, सप्तरी, सुनसरी र उदयपुर गरी ८ वटा टिम सहभागि रहेको प्रतियोगिताको वितेताले १ लाख र उपविजेताले ५० हजार पाउने छ । वडा युवा तथा खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिता उदयपुरकै लागि यो सबैभन्दा ठुलो धनराशीको गोल्डकप हो । यसअघि वडाहरुले सामान्य राशीका वडास्तरीय प्रतियोगिताहरु हुँदै आएका छन् ।

वडाध्यक्ष किरण पाण्डेले आगामी बर्षलाई अझ बढाएर लैजाने बताए । उनले भने, ‘यो वडाको सानो वजेटबाट सुरुवात गरेका हौ यसलाई आगामी बर्ष राशी बढाउँदै निरन्तरता दिने लक्ष्य छ ।

प्रतियोगिताको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले खेलकुद एउटा इज्जत र गौरवको बिषय भएकाले यसलाई राशी सँग नदाज्न आग्रह गरे । उनले भने, ‘निर्वाचित भएसँगै मुलुक लगातार चुनावमा होमिएकाले सोचेअनुरुप काम हुन सकेन यधपि विकासका केही तानावुना बुन्न सुरु भएका छन्, अव चाँडै विकासले गति लिन्छन् ।

उपमेयर महेश्वरी राईले खेलकुद क्षेत्रको वृहतर विकासका लागि नगर र वडास्तरीय युवा तथा खेलकुद समिति बनाई गतिविधि अघि बढाइएको बताए । उनले भनिन्, ‘खेलकुद क्षेत्रको विकास र दिगोपनाका लागि सबै वडामा खेलमैदान निर्माण गरी गतिबिधीहरु अघि बढाउँछौ ।
नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य इश्वरमणि राउतले खेल क्षेत्रको अनुशासन राजनीतिमा प्रयोगमा ल्याउन सके देश विकास सहजै हुने बताए ।

तपाईको प्रतिक्रिया