उदयपुर – उदयपुरको बेलकामा भएको चाडपर्व केन्द्रीत बजार अनुगमनमा संयुक्त अनुगमन टोलीले धेरै पसलेलाई कार्वाही गरेको छ । बुधबार बेलका नगरपालिका समेत संलग्न संयुक्त जिल्ला अनुगमन टोलीले रामपुर बजारका विभिन्न पसलहरुलाई मापदण्ड विपरितका समानहरु विक्रि वितरण गरेको अभियोगमा एक दर्जन पसललाई जरिवाना गरेको हो ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको अनुगमनबाट बेलका ९ रामपुर बजारको सगरमाथा एग्रीकल्चर प्राली (डेरी) लाई ३५ हजार, मनकामना डेरी उद्योगलाई २० हजार, दिपक किराना पसललाई १५ हजार, रामपुर पाउरोटी उद्योग १५ हजार, शनिचर मिठाई पसल १० हजार, रंगलक्ष्मी मार्ट १० हजार, सुमित सानदार मम चिसो पेय पद्धार्थलाई १० हजार र बेलका नगरपालिका ८ को अल पसललाई १० हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि महेश विष्टले जानकारी दिए ।

विष्टका अनुसार बेलका नगरपालिकामा एक दिन गरिएको अनुगमनमा मात्रै १ लाख २० हजार विभिन्न फर्महरुलाई जरिवाना गरिएको छ । यस अघि सोही टोलीले जिल्ला सदरमुकाम गाईघाट बजारको सगरमाथा ट्रेडस गाईघाटलाई २० हजार र न्यु रितिक टे«डस गाईघाटलाई १५ हजार रुपैया जरिवाना गरेको थियो ।

बेलकाको सगरमाथा एग्रीकल्चर प्राली (डेरी) ले पाउडर दुध प्रयोग गर्ने गरेकोले सबै भन्दा बढि ३५ हजार जरिवाना गरिएको हो भने मनकामना डेरी उद्योगले खाद्य प्रविधि सँग अनुमति नलिई डेरी संचालन गरेकाले २० हजार जरिवाना गरिएको खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय गाईघाटका प्रमुख रमेश प्रसाद दाहालले बताए ।

चाडपर्वमा व्यापारीले म्याद गुज्रेका बस्तुहरु बिक्री गर्ने, अखाद्य बस्तुको वेचविखन गर्ने, उपभोग्य बस्तुको किृतिम अभाव सृजना गरी कालोबजारी गर्ने जस्ता कार्य गर्ने गरेकाले उपभोक्ताको हितलाई मध्यनजर गरी अनुगमन कार्यलाई तिव्रता दिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।

म्याद समाप्त भएका समान विक्रि गर्न राखेको अभियोगमा जरिवना गरिएको उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले जानकारी दिए ।

गाईघाटबाट म्याद गुज्रेका समानहरु पहाडी रौतामाई, लिम्चुङबुङ, ताप्ली गाउँपालिका र खोटाङ जिल्लाका विभिन्न स्थानहरुमा पठाईने गरेको सूचनाको आधारमा अनुगमन गरिएको सहायक प्रजिअ पोखरेलले बताउनु भयो ।

संयुक्त अनुगमन टोलीमा जिल्ला प्रशासन, कर, घरेलु, खाद्य प्रविधी तथा गुण नियन्त्रण, पत्रकार र जिल्ला प्रहरी कार्यालयको प्रतिनिधी रहेका छन ।

तपाईको प्रतिक्रिया