उदयपुर, माघे संक्रान्ति । ज्योतिषशास्त्रअनुसार सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन । त्यसैले यो दिन दिनलाई मकर संक्रान्ति भनिन्छ ।
चलनचल्तीको पात्रोमा माघ १ गते सूर्य दक्षिणायनबाट उत्तरायण हुने बताइएको हुन्छ । तर माघ १ भन्दा २३ दिनअघि नै उत्तरायण भइसकेको बताइन्छ । ‘निरयण’ मान मान्नेहरूले माघे संक्रान्तिलाई सूर्य उत्तरायण हुने दिन माने पनि ‘सायन’ मान्नेहरूले पुस ७ गते नै उत्तरायण हुने मान्छन्। वेददेखि, पुराण र गीतासम्मका ग्रन्थमा उत्तरायण र माघ महिनाको महिमा बताइएको छ । यो दिन बिहान सबेरै उठी विशेषगरी दोभान वा त्रिवेणीमा स्नान, तर्पण गर्ने परम्परा छ । नदी, तलाउ र पवित्र स्थलमा स्नान गरी पितृतर्पण, देवपूजन, हवनआदि नित्यकर्म सकी पुरोहितहरूबाट संक्रान्ति महिमा सुन्ने परम्परा छ । ठाउँअनुसार यो दिन तिलको लडडु, घिउचाकु, तरूल, खिचडी, सेलरोटी, फुलौरा आदि दान गर्ने र खाने चलन छ । यी खानेकुराले माघको जाडोमा उष्णता दिनुको साथै स्वास्थ्यलाई समेत फाइदा पुग्ने बताइन्छ ।
माघे संक्रान्तिको आसपास सूर्य उत्तरायण हुने र विस्तारै दिन लामो हुँदै जाने र केही न्यानो बद्ढै जाने समेत हुन्छ । ऋतुको हिसावले हेमन्त सकिएर शिशिर ऋतु लाग्ने भएकाले यो पर्वको महत्व छ ।

माघेसंक्रान्तिका दिन उदयपुरको कटारी नगरपालिकाको कमला, तावा र ककरु नदीको संगमस्थल त्रिवेणीघाट, त्रियुगा नगरपालिकाको त्रियुगा, बरुवा र मोथियाही खोलाको संगमको साथै बेलका नगरपालिकामा भौरा मन्दिरमा पनि मेला लाग्ने गरेको छ ।
त्रिवेणी मेलालाई पहिले पहिले मैनी मेला भन्ने गरेको थियो । यो मेला १५ दिनसम्म लाग्ने गरेको छ । मेलामा मकर स्नान गरी भाकल गरे अनुसारको पशुपंक्षी बलि दिई पुजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास रहँदै आएको छ । मेलाको आकर्षण सोलखुम्वुको भोटे घोडाको दौड प्रतियोगिता, खोटाङे भोटे कुकुर, ओखलढुङ्गाको राडिपाखी, सिन्धुलीको जुनार र स्थानीय उत्पादनको किनबेचलाई लिने गरिएको भएपनि पुराना आकर्षणहरु लोप भैसकेका छन् । प्रदेश नं. १ कै पुरानो र लामो समय लाग्ने मेलामा स्थानीय उत्पादन, रोटेपिङ्, मौतका कुवा, बुगी–बुगी डान्स लगायतका मनोरञ्जनात्मक खेलहरु रहेको मेला आयोजक समितिले जनाएको छ । मेलामा प्रदेश नं. १ को झापा, मोरङ, सुन्सरी, इलाम, सोलुखुम्बु, ओखलढुंगा, खोटाङको साथै छिमेकी जिल्ला सिन्धुली, रामेछापका भक्तजनहरुको घुइचो लाग्ने गरेको छ । यस्तै प्रदेश नं. २ अन्तर्गतका सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाहीको साथै भारतवाट समेत मेला घुम्न आउनेहरुको घुइचो लाग्ने गरेको छ । त्रिवेणीमा मंगलबार बिहानैदेखि मकर नुहाउनेहरुको घुइँचो लागेको छ ।

तपाईको प्रतिक्रिया