उदयपुर । लिम्चुङबुङ गाउँपालिका उदयपुरमा शुक्रबार हिमापात भएको छ । गाउँपालिकाको वडा नं. ३ नगरे, एभरेष्ट भ्यू–टप (दोबाटे) र माझखर्कमा हिउ परेको हो ।

तस्विर : गाउँपालिका अध्यक्ष मेजर कुमार राईको फेसबुकबाट

हिउ परेपछि पालिका भरिनै अत्याधिक चिसो बढ्नुका साथै जनजीवन अस्तव्यस्त समेत बनेको गाउँपालिका अध्यक्ष मेजर कुमार राई बताए । तर, हिउ पर्नु प्राकृतिक प्रक्रिया र पर्यटनसँग प्रत्यक्ष जोडिने माध्यम पनि भएकाले पर्यटकले थप अतिरिक्त मनोरञ्जन लिने राईले विश्वास व्यक्त गरे । राई भन्छन्–‘एभरेष्ट भ्यू–टपबाट हिमाल हेर्ने मात्र हैन, हिउसँग खेलेर प्रत्यक्ष रुपमा मनोरञ्जन समेत लिन सकिन्छ ।’ त्यसैले, लिम्चुङबुङ गाउँपालिका भ्रमण गर्न सवैलाई चुले निम्तो समेत गरेका छन् ।

लिम्चुङबुङ गाउँपालिका भौगोलिक हिसावले उदयपुरको सवैभन्दा अग्लो स्थानमा रहनुका साथै अन्य स्थानीय तहहरु भन्दा बेग्लै परिचय र पहिचान बोकेको गाउँपालिका हो । त्यसैले, लिम्चुङबुङ भौगोलिक बसोबास र रहनसहनको हिसावले निकै मनमोहक रहेको प्रमूख प्रशासकीय अधिकृत टार्जनकुमार लिम्बुले बताए । लिम्बु भन्छन्–‘हामी पालिकाभित्र रहेको स्थानीय प्राकृतिक स्रोत, साधनको पहिचान गरी उचित संरक्षण र प्रबद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मनोरञ्जन गराउँन चाहान्छौं ।’

कृषि, पर्यटन र प्राकृतिक स्रोत साधनको भरपुर उपयोग गर्दै निकट भबिष्यमै पालिकाबासीको जीवनस्तर उकास्दै समृद्धिको दिशातिर अघि बढ्ने लक्ष्य रहेको लेखा अधिकृत तारा किरण राईले बताए ।

यस्तै रौतामाई गाउँपालिका वडा नं. १ नामेटारको चित्रेथान, भालेबास लगायतको क्षेत्रमा हिउ परेको छ । उदयपुरको हकमा समुन्द्र सतहदेखि सवैभन्दा अग्लो स्थान चित्रेथान हो । हिउ परेसँगै चिसो बढेको छ । चिसोले वरिपरिका जनजिवन प्रभावित भएको छ ।

यस्तै कटारी नगरपालिका १४ बेतिनी भन्ज्याङमा पनि हिउ परेको स्थानीयले जनाएको छ । उच्च पहाडी क्षेत्रमा हिउँ परेसँगै चिसो बढेपछि उदयपुरको जनजिवन प्रभावित भएको छ ।

तपाईको प्रतिक्रिया