उदयपुर । परालले छाएको सानो छाप्रो । परालले नै छाप्रो बारबेर गरिएको छ । चिसो भुइँमा परालकै डसना छ । त्यसमाथि पातलो सुकुल छ । छेउमा धुजाधुजा भएका पुराना कपडा जोडेर बनाइएको ओढ्ने सिरक छ । यही छाप्रोमा त्रियुगा नगरपालिका ३ ठाडीका मुसहरी बस्तीका बालबालिकाको दिनचार्य खेलेर वित्छ भने वृद्धवृद्धाहरुको दिनचार्य आगो तापेरै वित्ने गरेको छ । त्यस ठाउँका करिव १० घर परिवारहरुले शीतलहरको कष्ट सहिरहेको छ । जाडो छल्न उनीहरुले परालसँगै पुराना कपडा बेरेर छाप्रोको भ्वाङ टालेकी छन् । झमना सदायले चिसो बढेपछि शरीरलाई न्यानो बनाउन आगो तापेरै रात बिताउने गरेको बताए । चिसो बढेपछि अतिविपन्न बस्तीमा परालकै सिरक–डसना र तातोका लागि परालै बालेर जीवनयापन गर्नुपर्ने बाध्यता आइलागेको छ ।

ठाडीमा किनारमा सुकुमबासीका रुपमा बस्दै आएका मुसहरले वर्षामा घर डुबान र शीतलहरमा चिसोको कहर खेप्नुपरेको छ । ‘चिसो भुइँमा पराल ओछ्याएर डसना बनाएका छौं । ओढ्ने पुरानो तर नतात्ने कपडा छ,’ उनले भने, ‘गरिबलाई खान त पुग्दैन, कहाँबाट न्यानो लुगा लगाउनु, ओढ्नु ।’
सोही मुसहर बस्तीकी छेरु सदायको पीडा पनि उस्तै छ । ‘मजदुरी गरेर कमाएको दुई चार पैसाले पेट भर्ने कि न्यानो लुगा किन्ने ?’ उनले भने, ‘न आफ्नो राम्रो घर छ न लगाउने लुगा नै, सरकारले गरिबलाई चिसोबाट जोगाउन कुनै राहत कार्यक्रम ल्याएन ।’

त्रियुगा नगरपालिकाले गरीब घरपरिवार पहिचान गरेको भए पनि यहाँ अति बिपन्न परिवारले कुनै सुविधा पाएका छैनन् । घरछेउमै पुगेका सिंहदरबारले पनि कुनै वास्ता गरेका छैनन् । ठाडीको मुसहर समुदाय जस्तै अन्य चौदण्डीगढी र बेलका नगरपालिकाका मुसहर समुदाय मात्र हैन विपन्न दलितहरुको पनि समस्या उस्तै छ । घर छेउमा सिंह दरबारको अधिकारसहित आएको भनिएको सरकारले पनि केही नगरेको गुनासो बेलका नगरपालिका १ की माया सार्की बताउँछिन । उनले भनिन्, ‘ठुला बडालाई मात्रै स्थानीय सरकार आयो हामी जस्ता गरिव विपन्न परिबारको लागि खोई के आयो के आयो थाहै छैन् । हाम्रो दिनचार्य सँधै यस्तै हो । कम्तिमा जनताको जन जीविकामा पनि ध्यान दिनु पर्ने सरकार हामीलाई चाहिएको छ ।’

चिसो बढेपछि जिल्ला अस्पतालमा कमन कोल्ड, इन्फ्युन्जा, स्वासप्रश्वास सम्बन्धी समस्या, टनसिलाइटिस अर्थात घाटीको समस्या, निमुनिया लगायत छाला सम्बन्धी रोग लाग्नेको विरामी बढेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मुकेश झाले बताए । चिसो बढेसँगै इमरजेन्सीमा बालबालिका र वृद्ध वृद्धामा स्वासप्रश्वास सम्बन्धी समस्या, निमुनिया, कमल कोल्डको विरामी बढेको डा. झाले जानकारी दिए । चिसोबाट बच्न न्यानो लुगाहरु लगाउने, पंजा, मौजा लगायत बाक्लो ज्याकेट लुगा लगाउने, ता तातो खानेकुरा खाने, तातो पानी पिउनु पर्ने डा. झाले बताए । भिटामिन सी जन्य पदार्थ खानेले छाला फुस्रो नहुने चिसोबाट बच्न सकिने बताए ।

शरीरको हड्डीसहित रुघाखोकीबाट मुक्त हुन, रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि विशेष खानेकुरामा ध्यान दिनु पर्ने डा. झाले बताए ।
जाडो मौसममा शरीरका लागी हरियो सागपात सबैभन्दा उत्तम भोजन हो । यसमा फाइबर, फलिक एसिड, भिटामिन सी, पोटासियम, म्याग्नेसियमका साथै अन्य पोषक तत्व पर्याप्त पाइन्छ । यस्तै जाडो मौसममा गाजरको हलुवाले शरीरलाई निकै फाइदा पुर्याउने गर्दछ । पर्याप्त तरल पदार्थ खानु पर्ने, काजु, पिस्ता र बदाम खानाले शरीरलाई तातो बनाइराख्छ । सामान्यतया मसलाका रूपमा प्रयोग गरिने अदुवा र बेसार जाडो समयमा शरीरलाई तातो बनाइराख्न अत्यन्तै गुणकारी मानिन्छ ।

चिसो मौसममा रुघा, खोकी र ज्वरोसंग लड्नका लागि लंग, मरिच निकै प्रभावकारी मानिन्छ । मरीचमा पनि कालो मरीचले शरीरमा तातोपना बढाउनुका साथै रोगसंग लड्ने क्षमता बढाउँछ । भने बेला बेलामा चिया, कफि वा हर्बल टी पिउनु निकै लाभदायक हुन्छ डा. झाले बताए ।
गेडागुडी तथा माछा मासु, दुध तथा अण्डाले पनि शरीरको तापक्रम बढाउने काम गर्दछ ।

यस्तै माक्स अनिवार्य लगाउने, घाटीमा समस्या भए ज्वरो रुघाखोकी लामो समयसम्म लागि रहेमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्ने पनि डा. झाले बताए ।

तपाईको प्रतिक्रिया