नेपालटार । उदयपुरगढी गाउँपालिकाको गाउँसभाले ६६ करोड ७ लाखको बजेट पारित गरेको छ । गाउँपालिकाको बिहीबार सम्पन्न गाउँसभाले आगामी आर्थिक बर्ष २०७८/७९ को लागि बार्षिक नीति तथा कार्यक्रम सहित बजेट पास गरेको हो ।

पालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरको अध्यक्षतामा सम्पन्न गाउँ सभाले संघवाट आउने अनुदान, प्रदेशबाट प्राप्त हुने अनुदान र आन्तरिक आय समेटेर बजेट निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद सुवेदीले बताए ।

पालिकाको प्रमुख स्रोत भनेको संघीय सरकारबाट समानिकरणमा प्राप्त हुने १६ करोड ४ लाख रकम र संघकै राजस्व बाँडफाडबाट प्राप्त हुने ९ करोड ४८ लाख रकम हो । अन्य प्रदेशबाट विनियोजन भएको रकम ९५ लाख वित्तिय समानिकरण अनुदान र आन्तरिक आय वापतको ७० लाख नै पालिकाको बजेटको प्रमुख श्रोत रहेको पालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले जानकारी दिए ।

पालिकाले सामाजिक विकास तर्फ ४ करोड, पूर्वाधार विकास तर्फ ९ करोड, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ करोड १५ लाख, आर्थिक विकास तर्फ २ करोड र म्याचिङ्ग फण्डमा ३ करोड ५ लाख विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।

सामाजिक सुरक्षा कार्यक्रमतर्फ ८ करोड १० लाख र संघबाट प्राप्त हुने सशर्त अनुदान तर्फ २५ करोड ४३ लाख खर्च गर्ने लक्ष्य राखेको छ ।

तपाईको प्रतिक्रिया