उदयपुर, उदयपुरको कटारी प्रहरीले १३ दिन अघि ठूलो परिमाणको प्रतिबन्धित लागू औषध सहित पक्राउ परेर भाग्न सफल एक कारोबारीलाई शनिबार दिउँसो पक्राउ गर्न सफल भएको छ । साविक धनुषा नगराईन १ घर भई सिन्धुली जिल्ला दुधौली नगरपालिका– १० कोकटरीमा बस्दै आएका ३९ वर्षीय लाले भन्ने निलेन्द्रकुमार कर्ण खोजतलासको क्रममा पक्राउ परेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
कर्ण पुस २ गते सिद्धिचरण लोकमार्ग अन्तरगत सिराहाको मिर्चया–कटारी सडक खण्डमा नियमित चेकजाँचको क्रममा पक्राउ परेका थिए । दिउँसो ३ः०० बजे कटारी १ बेलसोत प्रहरी चौकीबाट खटेको टोलीले सवारी चेकजाँचको क्रममा पक्राउ परेका कर्ण तत्काल भाग्न सफल भएका थिए । इप्रका कटारीका डिएसपी ध्रुवकुमार श्रेष्ठका अनुसार भाग्न सफल कर्णले छाडेको झोलामा ठूलो परिमाणको लागू औषध फेला परेको थियो । को ३५ प ६८४५ नं. को मोटरसाईकलमा सिराहादेखि सिन्धुलीतर्फ जाँदै गरेका कर्णको झोलाबाट निट्राभेट–१० नामक लागू औषध १ सय ९५ थान फेला परेको थियो भने डियालेक्स–डिसी नामक सिरप २९ बोतल, जेटकोर्ट–सेभेन नामक ट्याब्लेट १४ थान र सटीराईजीन ट्याब्लेट २० थान फेला परेको डिएसपी श्रेष्ठले बताए ।
सिन्धुली दुधौली प्रहरी चौकीको सहयोगमा पक्राउ परेका उनलाई शनिबारै इप्रका कटारीमा ल्याएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको डिएसपी श्रेष्यठले बताएका छन् । ठूलो परिमाणमा लागू औषध बोकेको पाइएकाले कर्ण प्रयोगकर्ता भन्दा कारोबाही भएको आशंका गरिएको छ । तर, अहिले नै उनी प्रयोगकर्ता वा कारोबाही भन्ने खुलि नसकेको डिएसपी श्रेष्ठले बताए । कर्ण भाग्न सफल भए पनि उनले लागू औषध बोकेको झोलामा साविक धनुषा नगराईन १ ठेगाना भएको कर्णको नागरिक्ता प्रमाणपत्र फेला परेकाले त्यसकै आधारमा खोजतलास गर्दा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया