काठमाडौँ — प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको नेकपा स्थायी कमिटीको बैठकमा शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायत सबैजसोले गलामा नीलो डोरीसहितको एउटा कार्ड भिरेका थिए ।पार्टीले बैठकमा प्रवेश गर्न उक्त कार्ड बनाएको भने होइन । कोरोना भाइरसबाट सुरक्षित हुन भनेर पार्टीले स्थायी कमिटी सदस्यहरुका लागि खरिद गरेर दिएको हो, जुन कार्डमा लेखिएको छ– ‘भाइरस रिमुभिङ कार्ड ।’

पार्टीले यो कार्ड ‘बियोन्ड द वाल ट्रेडिङ कम्पनी’ बाट बुधबार खरिद गरेको हो । ‘केटाकेटी हुँदा धामीले जन्तर लगाइदिन्थे । बोक्सी लाग्दैन, भूतप्रेत लाग्दैन भनेर गलामा झुन्ड्याइदिन्थे । अहिले कोरोना जन्तर लगाइदिए,’ स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले भने, ‘कार्ड माधव नेपालले ल्याउनुभएको हो । डाक्टरहरूले दिएको भन्ने छ । जापानमा पनि धेरैले लगाएर हिँड्छन् रे । घाममा नदेखाउनू भन्ने नियम रहेछ । अरूले लगाएको देखेपछि मैले मागेँ । यसले भाइरस उडाउँछ कि उडाउँदैन, उही बेसारको धूलोजस्तै हो कि ।’

चिकित्सकहरु भने कोरोनाबाट बच्ने र बचाउने कुनै औषधि र प्रविधि विकास नभएको बताउँछन् । ‘कोरोना भाइरस नसर्ने र सरे पनि निको हुने कुनै पनि डिभाइस बनेको छैन । कुनै पनि किट वा कार्डलाई भाइरस मार्न योग्य हुने भनेर आधिकारिक निकायले मान्यता दिएका छैनन्,’ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने, ‘कुनै पनि वस्तु औषधि वा प्रतिरोधात्मक हो वा होइन भन्नलाई त आधिकारिक संस्थाले प्रमाणित गरेको हुनुपर्छ । प्रमाणित नभएको किट लगाउँदा सर्वसाधारणमा भ्रम पैदा हुन सक्छ । किट लगाएरै कोरोना सर्दैन भने त ढुक्कसँग लगाए भइहाल्यो नि । मास्क लगाउनु पनि पर्दैन । दूरी कायम गर्नु पनि पर्दैन ।’

प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको बैठकमा शुक्रबार सभापति कल्याणी खड्काले पनि ‘भाइरस रिमुभिङ कार्ड लगाएकी थिइन् । कार्डले ढुक्क नभएरै हुन सक्छ, उनले मास्क पनि लगाएकी थिइन् । उनले बैठक अवधिभरि नै मास्क खोलिनन् । ढोकैमा सेनिटाइजरको बोतल राखिएको छ । बैठक कक्षमा पनि दूरी कायम हुने गरी कुर्सी व्यवस्थापन गरिएको छ । नेकपाका सबैजसो र कांग्रेसकी रंगमति शाहीको गलामा त्यही कार्ड थियो । ‘यो कार्डले दुई मिटरसम्म भाइरसलाई निष्क्रिय बनाउँछ रे भनेर छोराले दिएको हो,’ सभापति खड्काले भनिन् । उनको छोरा विप्लव केसीको बियोन्ड द वाल ट्रेडिङ कम्पनीले चीनबाट १० हजार थान यो कार्ड नेपाल ल्याएका छन् । यही कार्ड नेकपाका नेताहरुले खरिद गरेर लगाएका हुन् ।

कम्पनीले सांसदहरुलाई २५ प्रतिशत छुट दिएर बिक्री सुरु गरेको थियो । नेकपाले बुधबार ६० वटा कार्ड खरिद गरेर स्थायी कमिटी सदस्यलाई वितरण गरेको हो । नेकपाले एउटा कार्डलाई भ्याटसहित ६ सय २५ रुपैयाँमा खरिद गरेको हो । बियोन्ड कम्पनीले नेकपाका नाममा ३७ हजार ५ सय रुपैयाँको बिल जारी गरेको छ । ‘बैठकमा सहभागीलाई वितरण गर्ने भनेर माग भएपछि ६० वटा कार्ड पार्टीले खरिद गरेको हो,’ बियोन्ड कम्पनीका प्रमुख केसीले भने, ‘सांसद र अरू नेताहरुले भने व्यक्तिगत रूपमा खरिद गर्नुभएको हो ।’

कम्पनीले व्यक्तिगत रूपमा लिनेलाई प्रतिकार्ड ७ सय रुपैयाँमा बिक्री गर्ने गरेको छ । संसद् र समितिको बैठकमा सांसद यो कार्ड लगाएर उपस्थित हुन थालेपछि नेकपाका अरू सांसदले एकपछि अर्को खरिद गरेका हुन् । अधिकांश सांसदले विकास समिति सभापति खड्काको सम्पर्कमा पुगेर कार्ड किन्ने गरेका छन् । ‘मलाई कहाँ पाइन्छ यो कार्ड भनेर सोध्नुहुन्छ, मैले छोराको नम्बर दिने गरेकी छु,’ उनले भनिन् ।
कम्पनीका प्रमुख केसीले अन्य मुलुकमा यस्ता कार्ड प्रयोगमा रहेकाले नेपालमा पनि भित्र्याएको बताए । कोरोनाबाट बच्ने कार्ड भन्दै बिक्री गर्नुअघि उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमतिसमेत लिएका छैनन् । ‘विश्वमा कोरोनाबाट बच्ने यस्ता कार्डलगायत जे पत्ता लागे पनि हामीलाई जानकारी आउँछ,’ मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीले भने, ‘यस्ता कुनै पनि कार्डले मान्यता पाएका छैनन् । नेपालमा बिक्री भइरहेको बारे हामीलाई थाहा छैन ।’ उनका अनुसार कोरोनासम्बन्धी जुनसुकै प्रविधि वा औषधि प्रयोगमा लैजानुअघि मन्त्रालयमा निवेदन दिनुपर्छ । तर मन्त्रालयमा कतैबाट पनि निवेदन आएको छैन ।

कार्ड बिक्रेता केसीले भने अमेरिकाको एफडीआईजस्ता संस्थाबाट मान्यता प्राप्त सामान बिक्री गरिरहेको दाबी गरे । सरुवा रोग विशेषज्ञ डा. पुनले नेताहरुले गलत सन्देश जाने कार्ड लगाउँदा जनतामा समेत असर पर्ने बताए । ‘राष्ट्रिय व्यक्तित्वहरुले नै लगाएपछि अरूले पनि लगाउँछन् । कोरोना लाग्दैन भनेर सचेतनासमेत अपनाउन छाड्दा समस्या आउन सक्छ,’ उनले भने ।

‘अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) द्वारा मान्यता दिइएको दाबी गरिएको ‘भाइरस ब्लकर डिस्इन्फेक्सन कार्ड’ एफडीएमा दर्ता नै नभएको देखिएको छ । एफडीएलगायत विश्वका धेरै औषधि नियामक निकायहरुले यस्ता सामग्रीको प्रयोग नगर्न नै सुझाव दिएको पनि पाइएको छ ।

यस्तो कार्डमा क्लोरिन डाइअक्साइड, ग्यास सस्टेन रिलिज एजेन्ट, जियोलाइट र बाँसको कोइलाजस्ता पदार्थ राखिएका हुन्छन् । कार्ड निर्माताले ३० देखि ६० दिनसम्म ५० सेन्टिमिटर वरपरसम्म निकै कम मात्रामा (लो कन्सन्ट्रेसन) क्लोरिन डाइअक्साइड हावामा उत्सर्जन गर्दै वरपर भएका ब्याक्टेरिया, धूवाँ वा प्रदूषण हटाउने दाबी गरेका छन् ।

एफडीएले भने मार्च ८ मा एउटा सूचना नै प्रकाशन गरेर ‘क्लोरिन डाइअक्साइड’ युक्त कुनै पनि सामग्रीले कोभिड–१९ बाट जोगाउन सक्ने तथ्य हालसम्म कहीँकतैबाट पनि पुष्टि नभएको जनाएको देखिन्छ । त्यस प्रकारको सामग्रीको बिक्रीवितरण गरे कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ । यस्तै अमेरिकाको इन्भारोमेन्टल प्रोटेक्सन संस्थाले समेत यस प्रकारका सामग्रीले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै प्रतिबन्ध लगाएको देखिन्छ । एसियामा भियतनाम र थाइल्यान्डले यस्ता सामग्रीको बिक्रीवितरणमा प्रतिबन्ध नै लगाएका छन् भने केही देशमा बिक्रीवितरण भइरहेको छ ।

अमेरिकी संस्था एफडीएका अनुसार क्लोरिन डाइअक्साइडयुक्त सामग्रीको असुरक्षित प्रयोगले मानिसको ज्यानैसम्म जाने खतरा रहन्छ । सो रसायनका कारण श्वासप्रश्वासमा गम्भीर समस्या आउनुका साथै मुटुको चालमा गडबडी, रक्तचापमा कमी, डिहाइड्रेसन (शरीरमा पानीको कमी), रगतमा क्षय, गम्भीर प्रकारको झाडाबान्तासमेत हुन सक्छ । आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

तपाईको प्रतिक्रिया