उदयपुर । चैतको तेश्रो सातादेखि फुल्ने गुराँस माघ फागुनमा नै फुलेको देखेर लिम्चुङबुङ गाउँपालिका ५ जाँते मिनासिकाका टीकाप्रसाद काफ्ले छक्क परेका छन् । ६० वर्षीय काफ्लेले वरिपरि जंगलमा गुराँस फुलेको देखाउँदै भने,–‘जमाना फेरियो भन्थे, हो रहेछ, चैत दोश्रो सातामा फुल्ने गुराँस फागुन नलाग्दै फुल्यो, पोहोरसम्म गुराँस चैतमा फुलेको थियो ।जिल्लाको नामेटार, जाँतेमा मात्र होईन उदयपुरको उच्च भु–भाग, रचने, जिरे, टाट्ने, द्धारेभन्ज्याङ, दारेगौडा, खलंगा, खर्क, भुङजुङ डाँडा, मरेडाँडा, लगाएत जंगलमा पनि गुराँस ढकमक्क फुलेको छ ।
जाँतेको लोखृमथुम्कादेखि द्धारेभन्ज्याङ सम्मको ५० किलोमिटर क्षेत्रका जंगलमा गुराँस राताम्मे फुलेको छ । गुराँसका कोपिला पनि प्रशस्त लागेका छन् । चैतको अन्तिम साता सम्ममा यस क्षेत्रका सबै गुराँस फुलिसक्ने अवस्थामा छन् ।
समुन्द्र सतहबाट २ हजार २ सय ५० मिटरको उचाइमा रहेको भुङजुङच डाँडा, चित्रे, लगायतका डाँडाहरुमा लालीगुराँस फुलेका कारण अत्यन्त रमणीय बनेको लिम्चुङबुङ गाउँपालिका ३ बाराहाका मान बहादुर बस्नेत बताउँछन् । यहीँबाट विश्वको सर्बोच्च शिखर सगरमाथा, कंन्चनजंघा, गणेश हिमाल, गौरापार्वती लगायत हिमश्रृङखलाको समेत दृश्यावलोकन गर्न सकिने उनले बताए । उनले जंगलमा फुलेका लालिगुराँस, नजिकै देखिने हिमश्रृङखला र सोहि ठाँउमा रहेको बैरागी गुफाले पर्यटकहरुको मन लोभ्याउने बताए । तर सो क्षेत्रमा यातायातको सुविधा पुगेपनि त्यहाँ रहेका प्राकृतिक सम्पदाको संरक्षण र प्रचार प्रसारकै कारण पर्यटक आवागमनमा समस्या भएको बताए ।
यस्तै कटारी नगरपालिका ११, १२ र १३ नम्बर वडाहरुमा पनि प्रसस्त मात्रामा गुराँस फुलि सकेका छन् । सिद्धिचरण राजमार्ग अन्तर्गतका स्कुले बालबालिकाहरुले गुराँसको फुल बेचेर कापी कलम किन्ने गरेको छन । कटारी नगरपालिका ११ का दानबहादुर मगरले भने–‘गुराँसका बोटमा कोपिला लागिसकेका छन्, पहिला पहिला फागुनमै गुराँस फुल्ने थिएन ।
यस क्षेत्रका किशोर किशोरीले जंगलमा फुलेको गुराँस टिपेर पुजा आजामा चलाउन थालेका छन् भने कोहि नयाँ पाहुना आए गुराँसकै माला लगाएर सम्मान गर्न थालेका छन् । गुराँस फुल्ने समय चैत महिना भए पनि फागुन पहिलो सातामै गुराँस फुल्नुलाई जलवायु परिवर्तनको असर भएको अनुमान गरिएको छ ।
उदयपुरका यस क्षेत्रमा सात प्रजातिका गुराँस छन् । जलवायु परिवर्तन र तापक्रमका कारणले चैत्रमा फुल्नु पर्ने गुराँस फूल एक महिना अगाडि नै फुलेको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया