
चुनावका बेला हरेक गाउँ र वस्तीमा गाउँ गाउमा सिंहदरबार भन्ने नारा गुन्जिएको थियो । चुनाव कति महत्वपूर्ण छ भन्ने यसैबाट थाहा हुन्थ्यो । जनताले आफ्नै गाउँमा सिंह दरबारका लागि खुलेर मतदान पनि गरे । स्थानीय तहको निर्वाचनले नागरिकहरुमा एक प्रकारको नयाँ विकासको आश पनि जगायो ।
२० वर्ष सम्म एकै स्वाद, कर्मचारी तन्त्रले विरक्तिएका जनताले स्थानीय जनप्रतिनिधि आएपछि केहि फरक स्वादको अनुभूति गरे । वास्तवमा गाउँ गाउँमा सिंह दरबार नै आउँछ भनेर नागरिकको अभिमतले यति खेर गाउँ गाउँमा सिंह दरवार हैन, यौन अपराध पो भित्रिएको महशुस गरिरहेका छन् भन्दा फरक नपर्ला । आजभोली यौन अपराधको घटनाहरु नसुनेको दिन नै हुदैन । यौन अपराधका अधिकांश घटनाहरु आफ्नै अभिभावक, संरक्षकत्व, साथीहरु, आफन्तबाट हुने गरेका कारण यो अपराध अझ बढी जटिल बन्दै गएको छ जस्तो लाग्छ । यौन अपराधवाट बालिकाहरु बढी मात्रामा शिकार बनिरहेका छन् । त्यति मात्र हैन वृद्ध महिला समेत यौन हिंसाको शिकार बनेका छन् । बालिकाहरुले हिंसाको प्रतिकार गर्न नसक्ने, घटनाको बारेमा यथार्थ जानकारी गराउन नसक्ने भएका कारण यौन पिपाशुहरु आफुले गरेका कुकृत्यबाट जोगिन सकिन्छ भन्ने मनसायका साथ अवोध बालिकालाई यौन हिंसा गर्ने गरेको पाइन्छ । कतिपय यौन अपराधका घटनाहरु माया—प्रेमका कारण र विवाह गर्ने आश्वासनका कारण पनि हुने गरेको देखिन्छ । विवाह गर्ने प्रलोभन, आश्वासन र अनुचित प्रभावमा पारी शारीरिक सम्वन्ध कायम गरिसकेपछि विवाह गर्न नै इन्कार गर्ने गरेका पनि समाजमा प्रशस्तै उदाहरण रहेका छन् ।
यौन अपराध सवैभन्दा बढी जघन्य तथा क्रुर अपराध हो । यस प्रकारको अपराधले महिलाको शारीरिक, मानसिक र सामाजिक रुपमा समेत गम्भीर क्षति पुग्न जान्छ । कानूनले यौन अपराधलाई जघन्य अपराधको रुपमा परिभाषित गरेको छ, अधिकतम सजायको व्यवस्था पनि गरेको छ, अनि वैवाहिक बलात्कार गर्नेलाई समेत कानूनको दायरामा ल्याईएको छ तर पनि यौन हिंसाका घटनाहरु दिन प्रतिदिन बढी रहेका छन् । कतिपय यौन अपराधका घटना प्रकाशमा नै आउदैनन् सार्वजनिक भएको आपराधिक घटनामा पनि निष्पक्ष ढंगबाट अपराध अनुसन्धान हुदैन त्यसैले दोषीले उन्मुक्ति पाउने गरेका कारण पनि यस प्रकारका घटनाहरु वढिरहेको छ ।









