उदयपुर – प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा गठबन्धनका उम्मेदवारहरुले प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । मतदातासामु सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा आगामी पाँच वर्ष गरिने कामहरुको विवरण सार्वजनिक गरिएको छ ।

जसमा प्रदेश र संघीय संसदमा जनपक्षीय कानुन बनाउने, आफ्नो क्षेत्रमा अधिकतम बजेट पार्न तथा देश र जनताको समग्र हितमा आफूलाई उभ्याउने ।, स्थानीय सरकारले गर्न नसक्ने विकासका कार्य गर्नका लागि प्रदेश र केन्द्रीय योजना ल्याउन स्थानीय सरकारसँग मिलेर सहकार्य गर्ने ।

प्रत्येक पालिकाको विकास र समृद्धिको गुरुयोजनाको आधारमा योजनाबद्ध विकासलाई प्राथमिकता दिई तीनै तहको सरकार र जनतासँग सहकार्य गर्ने । गुणस्तरीय शिक्षा र स्वास्थ्यको सर्वसुलभ व्यवस्था गर्न नीति, कानुन र कार्यान्वयनमा जोड दिई आफ्नो क्षेत्रमा कार्यक्रम ल्याउने लगायतका योजना रहेका छ ।

प्रतिनिधिसभा २ मा जगन्नाथ खतिवडा कमल चिन्हमा, नारायण बहादुर बुर्जा मगर प्रदेश सभा सदस्य पदका उम्मेदवार उदयपुर २ (क) गोलाकार भित्रको सहिँया हथौडा र रामकुमार खत्री प्रदेशसभा सदस्य पदका उम्मेदवार उदयपुर–२(ख) रुख चुनाव चिन्हमा उम्मेदवार रहेका छन् ।

हेरौँ जस्ताको तस्तै

आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरु,

२०७९ मंसिर ४ गते नेपाली जनतालाई आगामी ५ वर्षका लागि मतदानको शक्तिद्वारा देशको भविष्य निर्धारण गर्ने अवसर आइरहेको छ । हाम्रो संविधानले आवधिक निर्वाचनद्वारा जनमतको परीक्षण गर्ने, राजनीतिक दलले विगत ५ वर्षमा गरेका कामहरुको मूल्याङ्कन गर्ने र जनता एवं देशको भविष्यको बाटो तय गर्ने व्यवस्था गरेको छ । यसकारण हामी पाँच वर्षमा एक पटक आउने यो सर्वाधिक महत्वपूर्ण दिनमा राजनीतिक दलहरुलाई जिम्मेवारी दिने र राष्ट्रले प्रदान गरेको जिम्मेवारीलाई पूरा गर्न गइरहेका छौँ । यो निर्वाचनमा हामी पाँच राजनीतिक दल (नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपाल) चुनावी गठबन्धन गर्दै आम जनताको सामु उपस्थित भएका छौँ । देशको राजनीतिक स्थायित्व, भौतिक तथा मानवीय विकास, सुशासन, राष्ट्रिय सुरक्षा, गठबन्धनको सरकार संचालन गर्ने प्रतिबद्धताका साथ घरदैलोमा आएका छौँ ।

देशभरि नै हामीले गठबन्धनद्वारा निर्वाचनमा जाने निर्णय गरिसकेका छौँ । आगामी ५ वर्ष नागरिकको सेवा, विकास र समृद्धिका लागि हाम्रो हातमा जिम्मेवारी प्रदान गर्न अनुरोध गर्दछौँ । उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा पनि सोही गठबन्धनका साझा उम्मेदवारका रुपमा तीन राजनीतिक दलका तर्फबाट हामीहरुलाई उम्मेदवार बनाइएको छ । संघीय निर्वाचन क्षेत्रमा नेता जगन्नाथ खतिवडा (कलम), उदयपुर २ (१) बाट प्रदेशसभाका लागि नेकपा माओवादी केन्द्रका नेता नारायण बुर्जा मगर (गोलाकारभित्रको हँसिया हतौडा) र उदयपुर २ (२) बाट नेपाली काँग्रेसका नेता रामकुमार खत्री (रुख) लाई अगाडी सारेका छौँ र गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आव्हान गर्दछौँ ।

हाम्रो देशको विगत ५ वर्षको राजनैतिक अवस्था निकै उथलपुथलपूर्ण रह्यो । अस्थिर र प्रतिगमनकारी गतिविधिले शान्ति र विकासलाई संकटमा धकेल्यो । दुई–दुईपटक संसद विघटनको कुप्रयास भयो । संविधानलाई मिचेर देशलाई राजनीतिक शून्यता सिर्जना गरी संकटग्रस्त बनाउने र सर्वसत्तावादी शासन चलाउने हर्कतहरु भए । संसदमा भएको बहुमतको शक्तिमा मुलुकको सुदिन आउने जनताको सपनालाई चकनाचुर पारियो र अस्थिरता बढाइयो ।

यस्ता अलोकतान्त्रिक, प्रतिगमनकारी कार्यका विरुद्धमा राजनीतिक दलहरुको अग्रगमनकारी मोर्चा बनाई संविधान र संसदको रक्षा गर्न सफलता प्राप्त गर्न सक्यौँ र जसले दलहरुलाई अझ बढी एकताबद्ध भई सहकार्य गर्न प्रेरित गरेको छ । यी घटनाक्रमहरुले जनताको मनोविज्ञान परिवर्तन गरिदिएको छ । बहुमतको बलले मात्र राजनीतिक स्थायीत्व आउँदैन रहेछ । लोकतान्त्रिक व्यवहारसहितको सहकार्य, कानुनको पालना एवं राजनीतिक संयम अपनाइएन भने संसदको बहुमत पनि ढल्दो रहेछ भन्ने पुष्टि गरेको छ । त्यसैले अबको ५ वर्ष सहकार्य र गठबन्धनद्वारा साझा सहमतिको सरकार सञ्चालन गरी अगाडी बढ्ने राष्ट्रिय प्रतिबद्धता सहित देशको राजनीति अगाडी बढेको छ । हामी यसैको पालना गर्न प्रतिबद्ध छौँ ।

आदरणीय मतदाता महानुभावहरु,

हामी गठबन्धनका उम्मेदवारहरु जिल्लाका विकासको लागि ५ वर्षसम्म सहकार्य गर्न प्रतिबद्ध छौँ । गठबन्धनको साझा भावनालाई कदर गर्दै आफूलाई विजयी बनाउने जनताको सेवालाई उच्च प्राथमिकता दिएर साझा योजना बनाई काम गर्ने अठोटमा छौँ ।
हामी हाम्रो उम्मेदवार र हाम्रो राजनीतिक दललाई विश्वास र भरोसा गर्नुहोस्, हामी प्रतिफल दिनेछौँ । यही सहकार्य र एकताको भावनालाई प्रतिनिधित्व गर्न हामी संघीय तथा प्रदेश सांसदका उम्मेदवारहरु संयुक्त प्रतिबद्धता–पत्र तयार गरी यहाँहरुको माझमा आएका छौँ । कृपया प्रतिनिधिसभाका सदस्यको उम्मेदवारलाई (कलम) चिन्हमा, उदयपुर २(१) प्रदेशसभा सदस्यको उम्मेदवारलाई (गोलाकार भित्रको हँसिया हतौडा) चिन्हमा र उदयपुर २(२) प्रदेशसभाका सदस्यको उम्मेदवारलाई (रुख) चिन्हमा मतदान गरी विजयी बनाउन र पाँच वर्ष सेवा गर्ने अवसर प्रदान गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

हाम्रा उम्मेदवारहरुका प्रतिबद्धता यस प्रकार छन् :

१. प्रदेश र संघीय संसदमा जनपक्षीय कानुन बनाउने, आफ्नो क्षेत्रमा अधिकतम बजेट पार्न तथा देश र जनताको समग्र हितमा आफूलाई उभ्याउने ।

२. स्थानीय सरकारले गर्न नसक्ने विकासका कार्य गर्नका लागि प्रदेश र केन्द्रीय योजना ल्याउन स्थानीय सरकारसँग मिलेर सहकार्य गर्ने ।

३. प्रत्येक पालिकाको विकास र समृद्धिको गुरुयोजनाको आधारमा योजनाबद्ध विकासलाई प्राथमिकता दिई तीनै तहको सरकार र जनतासँग सहकार्य गर्ने ।

४. गुणस्तरीय शिक्षा र स्वास्थ्यको सर्वसुलभ व्यवस्था गर्न नीति, कानुन र कार्यान्वयनमा जोड दिई आफ्नो क्षेत्रमा कार्यक्रम ल्याउने ।

५. युवा रोजगार तथा स्वरोजगारका कार्यक्रम ल्याउने ।

६. खेलकुद, कला, साहित्य, संस्कृति तथा अन्य बौद्धिक प्रतियोगिताद्वारा सक्षम जनशक्ति विकास गर्न युवालाई पे्ररित गर्ने कार्यक्रम ल्याउने ।

७. मिर्चैया–कटारी–घुर्मी सडक, कटारी–बाहुनीटार–जरुवा हुदैँ रुन्चे भञ्ज्याङ्ग, रिस्कू–देउलीकुना– कुर्कुनटार–उदयपुरगढी, नेपालटार–उदयपुरगढी–ढुंग्रे–माझखर्क, कटारी–बसेरी–मयंखु, नुनथला–रुपाटार– ठानागाउँ–बासबोटे सडक र यस्तै प्रकारका लामो दुरीका महत्वपूर्ण सडकलाई पक्की बनाउने ।

८. विकासका दृष्टिले निकै पछाडी परेको उत्तरी सीमानाका बासिन्दाको जीवनमा ठूलो परिवर्तन ल्याउने योजनाका साथ सुरुवात गरिएको घुर्मी–चतरा सडक (सुनकोशी कोरिडोर) ५ वर्षभित्र सम्पन्न गर्ने ।

९. प्रत्येक पालिकाका वडाहरु जोड्ने मुख्य सडकलाई कम्तिमा १२ महिना नै चल्न सक्नेगरी स्थायी बनाउने र ग्रामीण कृषि सडकलाई बाह्रै महिना यातायात सञ्चालन गर्नसक्ने गरि मर्मतसम्भार गर्ने ।

१०. तिम्नाई–महेन्द्र राजमार्ग, सिस्नेरी–बन्दीपुर, भोर्ले–सर्रे (सिराहा), बगपति–मड्यान (सिराहा), नेपालटार–काभ्रेपानी–लाहान (सिराहा), नेपालटार–सान्दाने–काभ्रेपानी–तरेगाना (सिराहा), नेपालटार– धप्पर–बर्दमार सडकको निर्माण गर्ने ।

११. रौतामाईको निकासबाट सल्ले हुँदै कोशी जोड्ने सडक, निकासबाट आँपटार हुँदै कोशी जोड्ने सडक, पुवाँरे भन्ज्याङ्ग–भुट्टार–ओख्रेनी हुँदै चौकी भन्ज्याङ्ग जोड्ने सडक, तीनचोके–लाफागाँउ–कुर्लेटार सडक, जाँते–बुईखाभन्ज्याङ्ग–बलम्ता–ताँम्लीछा–बाँसबोटे सडक मर्मत तथा स्तरीकरण गर्ने ।

१२. मुर्कुची–माँझखर्क–हलेसी (खोटाङ्ग) जोड्ने सगरमाथा सडक निर्माण गर्ने । मधेश प्रदेश हुँदै कोल्टे– मैनाटार–चुरुम्फा–लिम्चुङबुङ सडक निर्माण गर्ने ।

१३. निर्माणाधीन सडकलाई पूर्ण गर्ने, अस्थायी सडकलाई स्थायी बनाउने र स्थानीय तहले प्राथमिकता निर्धारण गरेका आधारमा गुरुयोजना बनाई पूरा गर्दै जाने ।

१४. कटारी नगरपालिका वडा नं १ (बेलसोत) को टाउन प्लानिङ गरी व्यवस्थित आधुनिक बजारको रुपमा विकास गर्ने ।

१५. कटारी–तित्रीबोट जोड्ने मरुवाखोलामा, सोमबारे–रिस्कू जोड्ने वैद्यनाथ खोलामा, जलजले–सुघारे जोड्ने वैद्यनाथ खोलामा, अँधेरीखोला हाडेबासमा, पुवाँरे–भुट्टार जोड्ने रसुवाखोलामा, सोरुङखोला, राकुला, छापाङ, लेखगाउँ–कटहरे जोड्ने यारीखोला तथा सुनकोशी नदीको गोडेलीघाटमा र सोरुङ– डिकुवा जोड्ने पक्की पुल उच्च प्राथमिकताका साथ निर्माण गर्ने । यसैगरी, निर्वाचन क्षेत्रका सबै खो लामा जनताको र विद्यालयका बालबालिकाहरुको आवतजावतको समस्यालाई मध्यनजर गरी काठे पुल, झोलुङ्गे पुल, पक्की पुल, कल्भर्ट तथा कज–वेहरुको निर्माण गर्ने ।

१६. स्वास्थ्य भवन, विद्यालय भवन, वडा कार्यालय, प्रहरी कार्यालय, सामुदायिक भवन, खेल मैदान, र कभर्डहलहरु निर्माण गर्ने योजना बनाई काम गर्ने, साथै नेपालटार बजार र मुर्कुची बजारमा कभर्डहल बनाउन विशेष प्राथमिकता दिने ।

१७. कटारी अस्पताललाई प्रादेशिक अस्पतालमा विकास गरी १०० बेडको बनाउने ।

१८. तावा, वैद्यनाथ, बहादुरा, राकुला, रसुवा, छाताङ, यारी, सुनकोशी, सोरुङ, पौवा, कमला, बलान खोला जस्ता ठूला खोला तथा नदीहरुमा पुल निर्माण गुरुयोजना बनाई क्रमशः समन्वय गर्दै जाने ।

१९. कटारी नगरका वडा नं २,३,४,५ लाई आधुनिक शहरको रुपमा विकास गर्न गुरुयोजना बनाई योजनाबद्ध कार्य गर्ने ।

२०. निर्वाचन क्षेत्र नं. २ का पालिकाका मुख्य व्यापारिक तथा पर्यटकीय केन्द्रलाई व्यवस्थित बजारका रुपमा विकास गर्ने ।

२१. कटारी नगर, नेपालटार बजार, मुर्कुची बजार तथा विकास हुँदै गरेका अन्य बजारहरुको ढल निकास तथा फोहोर मैला व्यवस्थापन गर्ने परियोजना ल्याउने ।

२२. जिल्लाका सबै पालिकामा पुग्न बाँकी रहेको विद्युतलाई जिल्लाभरि नै विस्तार गरी जनताका घरघरमा बिजुली बत्ती पु¥याउने ।

२३. खानेपानीको चलिरहेको योजनालाई पुरा गर्ने र खानेपानीको योजना नभएका पालिकामा खानेपानी योजना निर्माण गर्नुका साथै लिफ्ट खानेपानी योजनाको निर्माण गर्ने ।

२४. चुरे, महाभारतजस्ता पर्वतीय क्षेत्रको संरक्षण गरी पर्यावरणीय सन्तुलन र वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गर्ने ।

२५. चलिरहेको सिँचाई योजनालाई पूरा गर्न र सिँचाई नभएको ठाउँमा सिँचाई तथा लिफ्ट सिँचाई योजना निर्माण गर्ने ।

२६. नदी तथा पहिरो नियन्त्रण गरी जग्गा जमिन कटानबाट जनतालाई बचाउन बाढी, डुबान र कटानले समस्याग्रस्त बनाएका सुनकोसी, कमला, बलान, तावा, बैद्यनाथ, ककरु, रसुवा, यारी, छांैडिया जस्ता खोला तथा नदीहरुको नियन्त्रण गर्न बजेटको व्यवस्था गर्ने ।

२७. पर्यटन प्रबद्र्धन र विकास गर्न रौता पोखरी, ताप्ली पोखरी, बेतेनी, माझखर्क, उदयपुरगढी लगायतका क्षेत्रमा पूर्वाधार विकास गर्ने र लिम्चुङबुङमा निर्माणधीन एभरेष्ट भ्यु टावरको निर्माण सम्पन्न गर्ने ।

२८. यस क्षेत्रका कुन–कुन पालिकामा के–के उत्पादन भईरहेका छन् र कुन–कुन उत्पादनलाई विशेष जोड दिई पकेट तथा जोन क्षेत्र बनाई लगानी गर्न सकिन्छ भन्ने सम्भावनाको प्राविधिक नक्साङ्कन गरी लगानी केन्द्रीकृत गर्ने र उत्पादन, रोजगारी तथा आयआर्जनमा टेवा पु¥याउने ।

२९. यस क्षेत्रका विभिन्न ठाउँमा स्थापना भएका र भविष्यमा स्थापना हुन सक्ने खानी, उद्योग तथा विभिन्न संरचनाबाट हुन सक्ने प्रदूषण नियन्त्रण गर्न स्थानीय सरकारसँग समन्वय गरी कार्य गर्ने ।

३०. परेवा झरना, काभ्रेपानी, उदयपुरगढी, रौता पोखरी, ताप्ली पोखरी, एभरेष्ट भ्युटावरजस्ता पर्यटकीय क्षेत्रमा पर्यटकीय सडकको निर्माण गर्ने गरी बजेटको व्यवस्था गर्ने ।

३१. महाभारत पर्वतश्रृङखलामा रहेको रौतामाई पोखरी र यसको आसपासको क्षेत्रको जलाधार संरक्षण गर्ने, पर्यटकीय विकासका लागि एक विकास समिति बनाई स्वायत्त ढंगले काम गर्ने र रौतामाईको मन्दिर एवम् अन्य पूर्वाधारको निर्माण गर्ने । यस क्षेत्रलाई विकास गर्दै विशेष पर्यटकीय क्षेत्र घोषणा गरी संरक्षण र प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने ।

३२. वैज्ञानिक तथा व्यवसायिक कृषि तथा पशुपालनलाई प्रोत्साहन गरी बेरोजगारी समस्याको समाधान गर्ने ।

३३. कृषि बीमाको कार्यक्रम लागु गर्ने, साना तथा घरेलु उद्योगहरु स्थापना गर्ने वातावरण सिर्जना गरी आयआर्जनको अवसर प्रदान गर्ने ।

३४. वैज्ञानिक र रोजगारमूलक शिक्षा प्रणाली लागु गर्नका लागि विशेष जोड दिने ।

३५. प्राविधिक शिक्षामा बढी जोड दिने र दक्ष जनशक्ति उत्पादन गर्ने ।

३६. कटारीमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजलाई व्यवस्थित गर्ने । त्यसैगरि उदयश्री बहुमुखी क्याम्पसलाई स्तरोन्नती गरी व्यवस्थित गर्ने ।

३७. एक पालिका एक अस्पतालको व्यवस्था गर्ने र भएका स्वास्थ्य संस्थाहरुलाई सुविधायुक्त बनाउने ।

३८. ज्येष्ठ नागरिकको लागि उपचारमा सहुलियतको व्यवस्था मिलाउने र स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने ।

३९. यो मुलुक बहुजाति, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक भएकोले सबै जाति, भाषा, धर्म, सँस्कृतिको संरक्षण तथा संवद्र्धन र विकासमा सहयोग गर्ने ।

४०. मयंखु–बेतिनी–लिम्पाटार–माझखर्क सडक र बेतिनी–सोरुङछबिसे–रुपाटार सडक निर्माण गर्ने ।

४१. धार्मिक तथा जातीय संस्कार, परम्परा र विश्वासअनुसारका देवस्थल तथा घाटको व्यवस्था गर्ने ।

यस निर्वाचन क्षेत्र नं. २ को विकासको लागि तीनै तहको आपसी समन्वय सहयोग र सहकार्य अति जरुरी हुने हुँदा हामी प्रतिनिधिसभा र प्रदेशसभाका लागि गठबन्धनका उम्मेदवारहरु यही भावनाका साथ काम गर्न प्रतिबद्ध छौं । निर्वाचन क्षेत्र नं.२ भित्रका सबै योजनाहरु हाम्रा लागि उत्तिकै महत्वपूर्ण हुनेछन् । स्थानीय तहले गरेको प्राथमिकता निर्धारणलाई आधार बनाई सहकार्य गरिने छ । माथि उल्लेखित गरिएका हाम्रा प्रतिबद्धता पूरा गर्न जनताको मतदानद्वारा प्राप्त हुने ऊर्जाले मात्रै हाम्रा प्रतिबद्धता पूरा गर्ने इच्छाशक्तिलाई झन् सशक्त बनाईदिने छ । हाम्रा साझा संकल्पहरु पाँच वर्षसम्म मिलेर नै पूरा गर्ने छौँ ।

जनताका साना या ठूला समस्या समाधान गर्न हामी सधैँ प्रयत्नशील रहने छौँ । स्थानीय सरकारसँगको व्यापक परामर्श र सहकार्यमा हाम्रा कामहरु अगाडी बढाउने छौँ । यहाँको जनमतले राजनीतिक दलहरुको एकतालाई बल प्रदान गर्ने छ र स्थायी सरकार दिने छ । तसर्थ, गठबन्धनमा मतदान गर्नु देशलाई असल बाटोमा हिँडाउन योगदान गर्नु हो । कृपया हामीलाई मतदान गरी सेवा गर्ने अवसर प्रदान गरिदिनुहोस् ।

धन्यवाद ।

 स:शुल्क सहित प्रकाशित

तपाईको प्रतिक्रिया