
चर्चित अन्तर्राष्ट्रिय साहित्यकार विलीयम सेक्सपीयरले भनेका छन् ‘जब बुवाले सन्तानलाई केही दिन्छन्, तब, बुवा र सन्तान दुवै हाँस्छन् । तर, सन्तानले बुवालाई केही दिन्छन् तब, बुवा र सन्तान दुवै रुन्छन् ।’ यो भनाईभित्र एक बाबुले छोरा छोरीप्रति दर्शाउने मायाको गहिराई देख्न सकिन्छ । अर्थात कुन बाबू चाहन्दैनन् आफ्नो सन्ताले कहिल्यै बेखुसी हुनु नपरोस् ? हरेक बुवाको सपना नै सन्तानको उज्यालो भविष्य हो । रातवीरात, भोक प्यास, झरी घामपानी केही नभनी परिस्थितीसँग पौठाजोरी खेल्दै सन्ततीको भविष्य सुनिश्चित दिलाउनलाई जीवनभर दौडीरहने संसारकै एक व्यक्ति हुन् बुवा ।
जीवनपर्यन्त सन्तानको सुखका लागि दुःख अंगालीरहदा पनि मुस्कुराईरहने बाबुहरु अहिले पछिल्लो समय पश्चिमा संस्कृतिको सिकार हुन थालेका छन् । सामाजिक सञ्जाल फेसबुकको निजी ‘टाइमलाईन’ र ‘डे’हरुमा व्यूटीप्लसबाट खिचीएका चिल्ला तस्वीरहरु पोष्ट गरी ‘आई मिस यु, लभ यु पापा’ जस्ता क्याप्सन लेख्नेहरुको धुईरो लाग्छ । तर, उनीहरुको घरमा ७०÷८० वर्षका बाबु घरमा भेटिदैनन् । खोज्दैजाँदा भेटिन्छन् बृद्धाश्रमको चिसो सिमेन्टीमा आँशुका बलिनधाँरा बगाउदै गरेको अवस्थामा । त्यो पल उनीहरुमा आफूले जन्म दिएको थुप्रै सक्ला सन्तान भएर पनि आफूलाई एक ‘अपुताली’को रुपमा पाउदा कति पीडा हुदो हो सजिलै अनुमान लगाउन सकिन्छ । तर, भावभङ्गीमा भने उस्तै आँशादायी । छोरा छोरीले बृद्धाश्रममा राखेर जाँदा आफूले त्यहाँ भोग्नुपर्ने पीडाभन्दा बढी ति सन्तान घरमा पुग्लान कि नपुग्लान भन्नेमा चिन्ता लिदै गरेका आमाबाको मधुरो आँखामा आँखा जुधाएर कसरी बिदा माग्न सकिरहेका छन् आजकलका पास्चत्ये मनकारीहरु ?
‘आमाको माया पाउन तिमी योग्य हुनुपर्दैन तर, बाबुको माया पाउनका लागि तिमी योग्य हुनैपर्छ ।’ रोबर्ट फ्रोस्टको यो भनाई सापटी लिन मन लाग्यो । आमाले सन्तानलाई माया गर्नुमा भावनात्मक सम्बन्ध रहन्छ तर, बाबुले सन्तालाई माया गर्नुमा केही स्वार्थ रहन्छ । त्यो स्वार्थ भनेकै सन्ततीको उज्वल भविष्य । तातेतातेको हरेक पाईला हुदै कपुरी ‘क’ अनि आफूमा भएसम्मको सबै शिक्षा र अनुभव बाँडेर स्वावलम्बी बनाउन सिकाउने बाबुहरुलाई बिर्सने संस्कारलाई पश्रय दिने बैगुनीहरुले लिजा मिन्नेलीको भनाई मनन् कहिले गर्ने ? उनले भनेका छन्, ‘बुबाले मलाई सपना दिनुभयो, जसबाट मैले आफ्नो भविष्य देख्न सकेँ’ हरेक पाईलामा आफूलाई विर्सेर सन्ततीप्रति समर्पित बाबुको अपार योगदान कहिले बुझ्ने हामी महान पिताका देखावटी खोस्टे पूजारीहरुले ?
मेरो बुवा को हुन् भन्दा पनि मेरो भित्री मनको दृष्टिकोणमा बुबाको स्थान के भन्ने बढी महन्वपूर्ण छ । त्यसकारण हामीले यो बुझ्न जरुरी छ कि हाम्रो परिवारभित्रको ज्येष्ठ व्यक्तित्व हजुरबा, हजुरमा, आमा र बालाई वर्षदिनमा एक पटक भित्तेपात्रोको तिथीलाई औपचारिकता दिनका लागि मात्र सम्झेर पुग्दैन । अनि आफ्ना बा, आमालाई माया गर्नका लागि ‘कुशे औंशी र मातातीर्थ औंशीनै कुरीरहनुपर्छ भन्ने सोँच त्याग्नुपर्छ । समाजमा देखाउनका लागि फेसबुके मायाले वर्षौदेखि परिवारबाट टाढीएर बृद्धाश्रममा एकान्त जीवन बिताइरहेका हाम्रो बाबुको मनभित्र लागेको डढेलो निभ्दैन ।
नयाँ पुस्ताले मानवीय धर्म र कर्तव्य बिर्संदा देशभरका २६ लाख हाम्रा ज्येष्ठ नागरिक अर्थात बाबु–आमाहरु अहिले आखीरी समय दाँगबत्ती दिनेकोसमेत बेटुंगो महसुस गरिरहेका छन् । यो समस्या फेसबुकको वालपोष्टबाट हैन मनभित्र र घरभित्रको जिम्मेवार सन्तानबाट कुशल सन्तती बनेर समाधान गर्न जरुरी छ । हाम्रा ‘बा’लाई एकदिनको गुलीयो लड्डु भन्दा बढी बाँकी ३६४ दिन न्यानो सम्भारीत अंगालो र काखको खाँचोछ ।
जय बुवा !
जय कर्मदाता !









