

माक्र्सवादी पार्टीहरुमा विचार र सिद्धान्तको सर्वोपरि तथा महत्तम भूमिका हुन्छ । यो कुनै लहड र रहरको विषय होइन । सिद्धान्तकार हुन्छु भनेर पनि भइँदैन ।
पार्टीको चुरो कुरो नै सिद्धान्त वा स्कुल हो र यसको विभाग हो । अहिले नेकपामा पार्टी स्कुल विभागमा विवाद सुरु गरिएको देखिन्छ । अब यसलाई वितण्डाको विषय बनाउन खोजेको अनुभूत हुन्छ । यसमा एक नेताले साउन ८ गते चल्तीको एक अखबारमा स्कुल विभागमा आफ्नो एकलौटी दावा र दवाव प्रस्तुत गरेको देखियो यहाँ सम्म त ठिकै थियो
तर तिनले आफ्नो महिमा मण्डन आफैँले गरेको देख्दा यस लेखकलाई सर्मको अनुभूति हुन गयो । तिनै नेताले २०७६ साउन ७ गते पुष्पलाल समाजवादको रातो लालटिन नामको एक अर्को चल्तीको छापामा प्रकाशित लेखमा अहिले सिद्धान्तका नाममा जबज र एक्काइसौँ शताब्दीमै टाँस्सिइरहने बचकना प्रवृत्ति भनेर विषाक्त कटाक्ष गरेका छन् ।
अनि एक वर्ष अघि जबजलाई सिद्धान्त बनाउँछु भन्ने अनि एकै वर्षपछि जबजको च्याप्टर क्लोज भएको भन्ने अवस्था कत्तिको दूरदर्शी हो ? यस्ता सतही सामान्य विसङ्गत कुरा अतिसामान्य सोच भएका आम कार्यकर्ताले बुझ्ने कुरा हो ।
जननेता मदन भण्डारीले कुनै विषय,विचार र सिद्धान्तका बारेमा सबै भन्दा पहिले कुनै पनि नेता र कार्यकर्ता आग्रह रहित हुनुपर्छ भन्नु भएको थियो । किन भने मानिस आदत र आग्रहको दास हुन्छ । यसो भए पछि सत्य र सही कुरालाई तत्काल पनि स्वीकार्न सकिन्न । स्वीकार गरे पनि पछि औसरवादग्रस्त मानिस आग्रहको पुरानै शनिग्रहमा लाजै नमानी फरक्क फर्किन्छ ।
त्यसो नहुँदो हो त जबजका बारेमा अनेक चरम नकारात्मक भ्रम छरिने थिएनन् । कतिपय वरिष्ठ आख्यानकार,बुद्धिजीवी ,प्राज्ञिक तथा सैद्धान्तिक नेता भनाउँदाहरु आआफ्ना नितान्त निजी स्वार्थ अनुृकूल र प्रतिकूल अवस्था अनुसार जबजबारे मान्यता अघि सार्छन् ।
केही अबूझहरु अहिले पार्टी र सरकारका सबै विकृतिको कारक तत्व जबज हो भन्छन् । तिनलाई यस लेखकको प्रश्न के हो भने हिजो भूमिगत कालमा पार्टीमा रहेका र भएका अनेक खालका आर्थिक,नैतिक,सैद्धान्तिक विचलन र अपचलन त्यति बेला लिएको नीति र सिद्धान्तका कारणले हो ?
यी सबै कमजोरी माक्र्सवादी दर्शन र सिद्धान्तका कारणले हो ? यसमा पूर्व माले,पूर्व चौम,पूर्व माओवादी आदि अनेक पार्टीका अपाच्य र अजीर्ण रोगहरु त्यतिबेला लिएको सिद्धान्तकै कारणले हो र के पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई माक्र्सवादी दर्शन खराव भएकाले विचलित भएका हुन् ? केसरजंग रायमाझी प्रवृत्ति माक्र्सवादका कारण उत्पन्न भएको हो र ?
आफू जस्तासुकै विकट,संकट अवस्थामा आफूलाई इमानी रुपमा सक्रिय हुन नसक्ने वा यसका लागि निरन्तर व्यक्तिगत वा सामूहिक बौद्धिक दबाव दिन नक्ने हुति,मति र गतिका अभावमा उत्पन्न हुने नराशा हो ।
कम्युनिष्ट पार्टीमा प्रवेश हुनुभन्दा अघि र पछि आफैँ आंशिक परिवर्तित भएको र अझै परिवर्तित हुन बाँकी रहेको आफ्नै अवस्थालाई पनि ख्याल नगरी सिद्धान्तलाई दोषारोपण गर्नु आफ्नो कमजोरी लुकाउने छलकारी कुरा हो ।
दुनियाँमा कम्युनिष्टहरु दुला पसेको,कुना पसेको र नाकमुख छोपेर हिड्नु परेको बेला यही जबज र यसको प्रमुख नेता र सिद्धान्तको आडमा सानका साथ कम्युनिष्ट नेपालमा भर भराएका थिए ।
त्यसबेला मैनाली बन्धुहरु पार्टीलाई खोपीको द्यौता बनाउनु पर्छ र चुनावी मोर्चा अर्कै बनाउनु पर्छ भन्थे । उनीहरु नत्र यहाँ चिली र इण्डोनिसायका घटना दोहारिएर कम्युनिष्ट समाप्त र सफाया हुनसक्छ भनेर लगलगी कामेका थिए । भण्डारीले यस्ता बचकना कुरा सुन्नु नै भएन ।
जबज सिद्धान्तको प्रकाशमा देशका कुनाकाप्चामा पनि पार्टीको संगठन सञ्जाल तयार भएको होइन र ? यसैको आलोकमा सशक्त प्रतिपक्ष र अनि यसैको दिशा दृष्टिमा नौमहिने सरकार नेपालकै इतिहासमा आम जनतामा सरकारको पहिलो अनुभूति दिलाएको होइन ?
के त्यही सरकारले जेष्ठ नागरिक भत्ता सुरु गरेर कम्युनिष्टले बुढाबुढी मार्छन् फरेब समूल नष्ट गरिदिएको होइन । के यही जबजको दृष्टि दर्शनमा आफ्नो गाउँ आफैँ बनाउँ जस्ता लोकप्रिय काम गरेको होइन । आग्रह रहितका जबजका समग्र र सार पक्षका जानकार छन् भने तिनले भन्न सक्छन् । स्वार्थी र कपट मनहरु यो कुरा देख्दैनन् ।
जबजले युद्धकालीन कतिपय माक्र्सवादी दिशा,दृष्टि र मान्यतामा पुनरावलोकन गरेको देखिन्छ । जबजमा कम्युनिष्टहरु अधिनायकवादी होइनन् बरु राज्यको चरित्र नै अधिनायकी हुन्छ भनेर सुस्पष्ट व्याख्या गरिएको छ । कार्यनीति फरक भएको अर्को कुनै कम्युनिष्ट पार्टीको पनि अस्तित्व जबजमा स्वीकार गरिएको छ । जबजले अधिनायकत्वका विकल्पमा नेकपाले जनताको मन जित्ने गरी प्रतिस्पर्धात्मक श्रेष्ठता हासिल गर्दै नेतृत्व लिने कुरा गरेको छ । यो प्रतिस्पर्धा को को सित हुने भन्ने कुरा त्यतिबेला निर्मित नीति र विधि अनुसार हुने कुरा गरेको छ ।
जबजमा सशस्त्र संघर्षलाई रहर र लहडको विषय बनाइएको छैन । तर वर्ग संघर्ष नै सामाजिक परिवर्तनको मूल तत्त्व हो भनिएको छ । ०४९ सालमा नै जबजमा नेपाल प्रारम्भिक पुँजिवादको अवस्थामा छ भनिएको छ ।
एउटा अमुक मानिस अठार वर्षको उमेरमा टेक्ने बित्तिकै अठार बर्से पूरा उमेरको हुँदैन । उद्योग धन्दा,कलकारखाना,खरिद बिक्री र बजार सुरु भए पछि पुँजवाद सुरु भएको मानिन्छ । अझ विराटनगर जुटमिलको स्थापना र परिचालन,नेपाल बैँक लिमिटेडको स्थापना भए पछि नेपाल विधिवत् रुपमा पुँजिवादी युगमा प्रवेश गरेको हो । तर पुँजिवादका पनि विभिन्न चरणहरु हुन्छन् । सोलोडोलो नेपालमा पुँजिवाद आयो भन्दा त्यसलाई कितावको भण्टा देखाएर चित्त बुझाएझैँ गरेर होइन आम श्रमजीवजी बेरोजगार जनतालाई रोजगारीका अवसरहरु दिएर वा दिलाएर पुष्टि गर्नुपर्छ ।
के त्यो अहिले हिजोको आजै वा रातारात सम्भव छ ? प्रधानमन्त्री ओलीले एक राष्ट्रिय अखबारमा देश बदल्ने बाटो शिर्षकको मननीय लेख प्रकाशित छ । यस लेखमा तत्कालीन नेकपाका उत्युच्च तहका नेताहरुमा नै कति दूरदर्शिता थियो भन्ने कुरा स्पष्ट हुन्छ ।
उहाँले जसरी समाज नै विकासको खास खास चरण पार गरेर अघि बढ्छ त्यसरी नै आर्थिक विकासको पनि चरण हुन्छ । अहिले नेपालसित पुँजि,प्रविधिको अभावका कारण दलाल पुँजिवाद सतहमा देखा परेको तर यस्तो सधैँ रहँदैन र सामाजिक आर्थिक विकास क्रमको यस्तै अवस्थाबाट गुज्रिएका सबै देशले यस्तै नियति भोग्दै अघि बढेका हुन् भन्नु भएको छ ।
हुन पनि जताबाट जसरी पनि आलोचना गर्नेहरुको कहिल्यै कमी हुँदैन र नकारात्मक शिक्षाका लागि यस्तो हुनुपर्छ ,।
जननेता मदन भण्डारीलाई फुटेका आँखाले पनि देख्न नसक्ने तत्कालीन नेताहरु दरबार र घरबारका टाट्नामा बसेर ट्याँट्याँ गरिरहेका छन् ।
यस लेखकलाई चाहिँ नेकपाका सबै उच्च स्तरका नेताहरुको ग्रहदशा र दिशा राम्रैरी थाहा छ । आवश्यक पर्दा अति भएपछि तिनका बारेमा लेख नै लेख्ने पनि गरेको छ । धानको चिन्ह परालबाट खुट्टिन्छ ।
एमाले नवौँ महाधिवेशनले ०६२÷०६३ पछिको परिवर्तनको सही विश्लेषण अघि सारेको छ तर नेपालमा राजतन्त्र समूल अन्त्य भएको भोलिपल्ट नै पुँजिवादी भएको भ्रम कसैले राखेको छ र यसलाई आधार बनाएर न्यून चेतका कार्यकर्तालाई भड्काउन खोजिन्छ भने ती नेताले रोगजारहरु नेपालमा कहाँ कहाँ पर्याप्त पाइन्छन् देखाइदिए हुन्छ ।
०६२÷०६३ को आन्दोलनबाट जनवादी क्रान्तिको वा बहुदलीय राजनीतिको एउटा मात्र कार्यभार पूरा गर्ने अनुकूल अवस्था सिर्जना भएको हो । त्यो भनेको राजनीतिक कार्यभार पूरा भएको भन्ने हो तर यही राजनीतिक कार्यभार पूरा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतान्त्रिक पद्धतिलाई नीति,विधि,पद्धति,प्रणाली बद्ध गर्नु हो । यसैलाई सुदृढ र सबल बनाउनु हो । यो त्यसै भाषण गरेजस्तो सजिलो हुँदैन । त्यसैले छिनछिनका भ्यागुताले रङ फेरे जस्तो हुँदैन सिद्धान्तको कुरा ।
ठेस लागेपिच्छे सुद्धिबुद्धि पलाउनेहरुबाट सय वर्ष पछिको सिद्धान्त बन्दैन । यस्ताले बनेको सिद्धान्तलाई समेत बटार्छन् र बिगार्छन् । सिद्धान्त भनेको पार्टीको जरो किलो हो । यसलाई हिलाको किलो बनाए पछि विश्व प्रतिक्रियावादीको आकांक्षा पूरा हुन दिनु हो ।
विश्व कम्युनिष्ट आन्दोलन मदन भण्डारी र जनताको बहुदलीय जनवाद यसको सार रुपका कारण चर्चाको शिखरमा रहेको छ । अत्यन्त दूरदर्शी कामका कारण कुनै पनि व्यक्ति वैभव र विभूति बन्छ । जननेता मदन भण्डारी र जबज यसको अन्तर्यका दृष्टिले महानतम रहेको छ ।
स्कुलिङ फरक हुनाले जबजका बारेमा पूर्व माओवादीका नेताहरुमा कैयौँ भ्रम र फरेब बाँकी रहेकै छन् । यो समय क्रममा मेटिँदै जाने निश्चित देखिन्छ । त्यसैले असमयमा नै अफ्ना सामान्य र सतही उक्तिहरु महान् कोटेसन भनेर पार्टीका कार्यकम्रमहरुमा टाँस्न लगाउने नेताबाट सिद्धान्तको जरोकलो जागिन गाह्रो देखिन्छ । रहर मात्रै गरेर हुँदैन । त्यसैले वितण्डा मच्चिनु भन्दा यसलाई छिटै सच्याउनु जाती हुन्छ ।
अहिले जनताको जनवाद भने पनि त्यसको पेटबालीमा बहुदलीय जनवाद नै बढी खुलस्त देखिन्छ र हो पनि । यसमा एक्काइसौँ शताब्दीको जनवाद समेत उल्लेख भएकै छ तर सिद्धान्त भनेको साङ्गोपाङग,समग्रता,सार र दूरदृष्टि हुन्छ र हुनुपर्छ । सिद्धान्तका एक दुई पक्ष होइन समग्र पक्ष नै सिद्धान्तको सहीपना हो ।
यस दृष्टिले जबजले अहिले तत्काल गर्नु पर्ने यस उपलब्धिलाई आर्थिक,सामाजिक तथा सांस्कृतिक आदि सबै दृष्टिले सबल र सशक्त बनाउनु पर्ने कुरा सुस्पष्ट गरेको छ । त्यति मात्र होइन समाजवादको बलियो आधार बनाउने र यसको प्राप्तिका लागि आधार शिविर तयार पार्ने सम्मको दूरदृष्टि जबजमा निहित छ
अनि त्यसबेला पनि निश्चित विधि अन्तर्गत रहेर बहुदलीय प्रतिस्पर्धा अपनाउने सही सुस्पष्ट मार्ग दृष्टि प्रदान गरेको सिद्धान्तलाई नामेट पारेर कुन भड्खालामा पार्न खोजिएको हो बुझ्न सकिएन ।
कहिले एमाले,कहिले माले,कहिले हरि रोक्काको तेस्रो धार अनि फेरि एमाले हुँदै अस्थिर प्रवृत्तिको कुनै भर हुँदैन । यसमा पार्टी अध्यक्ष ओलीले नै सबै कुरामा लचिलो भए पनि आफूलाई अति लचिलो हुनबाट जोगिएर यस विषयमा अडान लिनु अपरिहार्य देखिन्छ ।
जनताको जनवाद वा प्रजातन्त्र हो । यो कम्युनिष्ट पार्टीमा मात्र अपनाउने सीमित जनवाद होइन । देशको राजनीतिका क्षेत्रमा अपनाउने बहुदलीय प्रतिस्र्धाको सिद्धान्त हो । त्यसैले जनताको जनवादमा बहुदलीयता स्वतः अन्तर्निहत देखिन्छ ।









