काठमाडौँ । रौतहट जिल्ला अदालतले बम विस्फोटका घाइतेलाई इट्टाभट्टामा ज्यूदै जलाएर मारेको आरोप लागेका सांसद मोहम्मद अफताब आलम पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
जिल्ला अदालतमा पाँच दिनसम्म चलेको थुनछेक बहसपछि आलमलाई कारागार चलाउने आदेश भएको हो । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन मतदातालाई प्रभावित बनाउन बम बनाउँदै गर्दा विष्फोट भएको र विस्फोटका घाइतेलाई नजिकैको इट्टाभट्टामा हालेर मारेको आरोप आलममाथी थियो ।आलम नेपाली कांग्रेसतर्फ रौतहटबाट संघीय संसदका लागि निर्वाचित सांसद हुन् । गाउँबाट हराएका दुई युवाका आफन्तले आलमविरुद्ध किटानी जाहेरी दिएका थिए । बम विस्फोट र इट्टाभट्टामा जलाएर कतिलाई मारिएको थियो भन्ने तथ्याङ्ग यकिन छैन ।
घटनालगत्तै जिल्ला सरकारी वकिल कार्यालयले प्रमाण नपुगेको भन्दै फाइल बन्द गरेको थियो । तर पिडितका आफन्तले सर्वोच्च अदालतमा रिट दर्ता गरेपछि घटनाका पुन अनुसन्धान गर्न आदेश भएको थियो, सात वर्षअघि ।
घटनाको १२ वर्षपछि रौतहट प्रहरीले अनुसन्धान गर्दै आलमलाई पक्राउ गरेको थियो । प्रहरीले आलमसहित ११ जनालाई प्रतिवादी बनाउन रायसहित अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो ।
जिल्ला अदालत, रौतहटका न्यायाधीश दीपक ढकालको एकल इजलासले उक्त आदेश गरेको हो । यस प्रकरणमा १० जना फरार छन् ।

तपाईको प्रतिक्रिया