काठमाण्डौं । सरकारले चीन र भारतसँग सिमाना जोडिएका थप ६३ स्थानमा सशस्त्र प्रहरी बल (एपीएफ) को बोर्डर अब्जर्भर पोस्ट (बीओपी) राख्ने भएको छ।

भारतीय सीमा क्षेत्रमा ५९ वटा र चिनियाँ सीमामा चारवटा बीओपी स्थापना गर्न गृह मन्त्रालयले सशस्त्र प्रहरीलाई स्वीकृति दिएको खबर आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन्।

अहिले भारततर्फ नेपाली सीमा सुरक्षा गर्न सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्वमा ३५ जना रहने गरी १ सय ७ वटा बीओपी छन् । चीनसँग सीमा जोडिएका नाकामा सशस्त्रको स्थायी बीओपी छैन।
सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी–केरुङ र मुस्ताङको कोरला नाका सुरक्षामा जिल्लास्थित सशस्त्र प्रहरी खटिँदै आएको छ । अब चीनतर्फ दार्चुलाको तिंकर भन्ज्याङ–लिपुलेक र कालापानी, हुम्लाको हिल्सा, मुस्ताङको लोमन्थाङ र संखुवासभाको किमाथाङ्का नाकामा बीओपी राखिनेछ।
नेपाली भू–भाग कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर भारतले विवादित ‘राजनीतिक नक्सा’ सार्वजनिक गरेपछि गृह मन्त्रालयले उत्तर र दक्षिणतर्फ अतिक्रमित र मानव आवतजावत गर्न मिल्ने नाकामा थप बीओपी स्थापना गर्न लागेको हो ।
गृहमन्त्री रामबहादुर थापाले सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमै सीमा सुरक्षाका लागि सशस्त्रको थप फौज तैनाथ गर्न लागिएको औपचारिक जानकारी गराएका छन् ।
भारतले नेपालसँग सीमा जोडिएका क्षेत्रमा सीमा सुरक्षा बल ९एसएसबी० लाई २ देखि ३ किमि दूरीमा तैनाथ गरेको छ । नेपालतर्फ भने सशस्त्र प्रहरीको एक बीओपीबाट अर्को बीओपीको दूरी १८ देखि २० किमिमा छ । नेपालको भारतसँग करिब १ हजार ८ सय ८० र चीनसँग १ हजार ४ सय १४ किमि सीमा छ ।
गृह मन्त्रालय स्रोतका अनुसार थप बीओपी स्थापना गर्न गण, गुल्म, बाहिनी तथा हेडक्वार्टरको जनशक्ति कटौती गर्न लागिएको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले सिमानामा सशस्त्रको थप फौज तैनाथ हुने गरी गृहकार्य अघि बढाइएको बताए । ‘सीमा सुरक्षाका लागि बीओपी थप्ने गरी सशस्त्र प्रहरीबाट आएको प्रस्तावमा आन्तरिक छलफल अघि बढिसकेको छ,’ प्रवक्ता शर्माले कान्तिपुरसँग भने, ‘नयाँ जनशक्ति पदपूर्ति गरेर बीओपी स्थापना गर्न तत्काल सम्भव नभएका कारण भएकै जनशक्तिलाई बीओपीमा खटाउने मन्त्रालयको योजना हो ।’
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी सुरज श्रेष्ठले प्रस्ताव स्वीकृत भएपछि प्राथमिकताका आधारमा बीओपी स्थापनाको काम थालिने बताए । ‘मानिस आवतजावत गर्न मिल्ने उत्तर र दक्षिणतर्फ सीमा सुरक्षार्थ थप बीओपी स्थापनाको प्रस्ताव गृहमा पठाइसकेका छौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘प्रस्ताव स्वीकृति भएपछि जनशक्ति, भौतिक संरचना र बन्दोबस्ती व्यवस्थापनमा लाग्छौं ।’








