उदयपुर – उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालनको माग राख्दै उद्योगमा आबद्ध मजदुरहरु संगठनहरुले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई ध्यानाकर्षणपत्र पठाएका छन् । उद्योग सुधारका लागि महाप्रबन्धकको भूमिका प्रभावकारी नभएको भन्दै उद्योगमा क्रियाशिल चार मजदुर संघठनले सोमबार उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूलाई संयुक्त रुपमा ध्यानाकर्षणपत्र पठाएका हुन् ।


समग्र ट्रेड युनियान, नेपाल कारखाना श्रमिक संघ, अखिल नेपाल औद्योगिक मजदुर संघ र औद्योगिक मजदुर संगठनले मन्त्री बडूलाई पठाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘उद्योग पटक–पटक बन्द हुँदै खुल्दै गरेको, क्लिंकर उत्पादन बन्द भएको, कर्मचारीहरुको सेवा सुविधा उपलब्ध गराएको छैन, एक वर्ष अघि देखि अवकाश प्राप्त कर्मचारीहरुले आफुले पाउने सेवा सुविधा नपाएर खाली हात घर फर्किनु परेको अवस्था छ ।’ उद्योग ठूलो आर्थिक नोक्सानीले दिन दिन उद्योग आर्थिक संकटमा फसेको, उद्योगमा महाप्रबन्धकको उपस्थिति न्यून देखिएको, उद्योगका उच्च व्यवस्थापन अनुदार हुँदा उद्योग नै कमजोर हुँदै गएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।

यो उद्योगले २९ वर्षदेखि सिमेन्ट र क्लिंकर उत्पादन गर्दै आइरहेको छ । तर, उद्योग सञ्चालनको प्रमुख कच्चा पदार्थ कोइला अभाव हुँदा दशैं यता क्लिंकर उत्पादन पूर्णरुपमा बन्द रहेको ध्यानाकर्षण पत्रमा भनिएको छ । समग्र उद्योग ट्रेड युनियन नेपालका अध्यक्ष राधेकुमार कोइराला, नेपाल कारखाना श्रमिक संघका अध्यक्ष देवेन्द्र झा, अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष विशेश्वर पाल र नेपाल औद्योगिक मजदुर संगठनका अध्यक्ष महाविर चौधरीले विविध समस्या तथा माग राख्दै मन्त्री बडूलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

हाल बन्द अवस्थामा रहेको उद्योग सञ्चालनका लागि आवश्यक पहल गरिदिन उनीहरुले मन्त्री बडूसमक्ष आग्रह गरेका छन् । ध्यानाकर्षण पत्रको जानकारी जिल्ला प्रशासन कार्यालय उदयपुर, उदयपुर सिमेन्ट उद्योगका संचालक समितिका अध्यक्षलाई पनि दिइएको छ ।

उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गर्दै उद्योगमा कार्यरत मजदुरहरूका चार वटा संगठनले असोज अन्तिममा महाप्रबन्धक गोपीकृष्ण न्यौपानेलाई घेराऊ गरि बन्द उद्योग सञ्चालन गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । घेराउपछि महाप्रबन्धक न्यौपानेले २ दिन भित्रमा निकास निकाल्ने जवाफ दिएपनि अहिलेसम्म कुनै निकास नआएको एक मजदुरले जानकारी दिए ।

थप सम्बन्धित समाचारहरु

तपाईको प्रतिक्रिया