उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ मा मतदान केन्द्रमा भएको विवादले अहिले अन्यौलता छाएको छ । त्रियुगा नगरपालिका १२ मा गत बैशाख ३० गते भएको निर्वाचनमा विवादले अवरुद्ध भएको मतदान बारे स्थलगत अध्ययनको क्रममा उदयपुर आइपुगेका निर्वाचन आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको उच्चस्तरीय टोलीसँगको छलफलमा नेपाली काँग्रेसबाट उपमेयरका उम्मेदबार बनेकी सरिता राई पुनः निर्वाचनको पक्षमा आफ्नो धारणा व्यक्त गरेकी थिइन् ।
मतदान गर्न पाउनु पर्ने सवैको नैसर्गिक अधिकार भएकोले कसैले पनि मतदानबाट बञ्चित गराउनु हुँदैन भन्ने उपमेयरकी उम्मेदबार राईले आफ्नो धारणा छलफलमा राखेको स्रोतले जानकारी दिए ।
यता मतदानको विपक्षमा नेपाली काँग्रेस सहित मेयरका उम्मेदबार बसन्त बस्नेत उभिएका छन् । मतदानको विपक्षमा नेकपा एमाले र मेयर उपमेयरका उम्मेदबार पनि उभिएको छ ।
पुनः निर्वाचनको पक्षमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल (कमल थापा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, सचेत पार्टी नेपाल, जनता प्रगतिशिल पार्टी, मौलिक जरोकिलो पार्टी लगायत रहेका छन् ।
यस्तै पुनः मतदानको पक्षमा स्वतन्त्रबाट मेयरका उम्मेदबार अम्विका कुमारी रेग्मी, उपमेयरका उम्मेदबार रामकिशन सदा, राजन ढकाल लगायत रहेका छन् ।
यस्तै स्वतन्त्रबाट मेयरका उम्मेदबार बनेका चित्र कुमार कार्कीले बहुमतको निर्णय मान्ने बताएका छन् । उनले निर्वाचनको पक्ष र विपक्ष दुवैमा आफु सहमत हुने बताए । उनले निर्वाचनको मतगणना गरी पाउँ भनि उच्च अदालत विराटनगरमा मुद्धा दिएको छ ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यसको निकास चाँडै नै निकाल्ने आश्वास दिएर फर्किएका छन् । निर्वाचन आयुक्त भण्डारीले राजनीतिक दल सहित सुरक्षा निकाय प्रमुखहरु, त्यस मतदान केन्द्रमा खटिएका कर्मचारीहरुसँग पनि छलफल गरेको बुझिएको छ ।
वर्षातको कारण र असहज परिस्थितले मतदान प्रक्रिया रोकिन गएको भन्दै बैशाख ३० गते ४ः३० बजे एक सूचना टाँस गरी मतदान स्थगित गरेको थियो । पुनः मतदान हुने सूचना यसै ठाउँमा पछि प्रकाशन गरिनेछ भनि सूचना प्रकाशन गरिएको छ ।
सम्बन्धित थप समाचार