उदयपुर । नेत्र विक्रम चन्द (विप्लप) का प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका उदयपुर जिल्ला सेक्रेटरी तथा इन्चार्ज विहिबार विहान ६ बजे पक्राउ परेका छन् । उदयपुरगढी गाउँपालिका ७ अधेरी स्थित चित्र बहादुर खपाङी मगरको घरमा जिल्ला सेक्रेटरी जित बहादुर पुलामी मगर पक्राउ परेका जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिर बहादुर बुढामगरले जानकारी दिए ।
एसपीका अनुसार उदयपुरगढी गाउँपालिका ४ बस्ने बर्ष ५४ पुलामी लुकिछीपि बसेको भन्ने जानकारी प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गएको टोलीले पक्राउ गरेको जानकारी दिए ।
केहि दिन यता खपाङ्गीको घरमा बसेर विप्लव समुहको नाममा योजना बनाएको, गतिविधि बढाएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको एसपी बुढामगरले जानकारी दिए ।
२०७४ सालको संसदीय निर्वाचनमा चुनाव प्रचार प्रसारका क्रममा मंसिर १३ गते नेपाली कांग्रेस क्षेत्र नम्बर २ का उमेदवार नारायणबहादुर कार्की लगायतका ७ जनालाई लक्षित गरी उदयपुरगढी ६ दनुवारबेसी सडकमा एम्बुस थापेर अङ्गभङ्ग बनाएको आरोपमा मगरविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर रहेको एसपी मगरले बताए ।
त्यसैगरी जिल्लाका एनसेल टावर, व्यक्ति तथा कार्यालय र सडकलाई लक्षित गरी बम राखेर त्रास फैलाएको जस्ता मुद्दा रहेको उनले बताए ।
पक्राउ परेका जिल्ला सेक्रेटरी पुलामी मगरको साथबाट पार्टीको विभिन्न दस्तावेजहरु सहित ३ थान मोबाइल समेत बरामद गरेको एसपी मगरले जानकारी दिए । पक्राउ परेका मगरलाई प्रहरी हिरासतमा राखी अनसुन्धान सुरु गरिएको एसपी मगरले बताए ।









