उदयपुर / उदयपुरको चौदण्डिगढी नगरपालिका र भोजपुर बजारको नाकाको रुपमा परिचित रानीटार बजारमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ । रानीटार बजारमा केन्द्रीय प्रसारण लाइन विद्युत् पुगेपछि गाउँ झिलिमिलि भएपछि स्थानीय दंग परेका छन् ।
एक कार्यक्रमको आयोजना गरी चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले स्विच अन गरेर विजुली बलेर उद्घाटन गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि खगेन्द्र राईका अनुसार भौगोलिक आधारमा वडा नं. १ दुर्गम नै भए पनि अबका दिनहरुमा सबै गाउँ गाउँमा सहज वातावरण सिर्जना गर्ने गरी विजुली विस्तार हुने बताए । नगरपालिकाको सवै वडाहरुमा विधुत प्रसारण लाइन पुगे पनि अझै पनि केही ठाउँहरुमा काठको पोल भए पनि त्यसलाई हटाउने कार्य भैरहेको मेयर राईले बताए ।
बिजुली बल्न थालेपछि गाउँघर नै झिलिमिलि भएर रातको समयमा अन्धकारमय गाउँ उज्यालोमा परिणत भएको स्थानीय कविता राई बताउँछिन् । हाउस वायरिङको काम धमाधम भईरहेको सय घरमा समेत यसै महिनादेखि उज्यालो हुनेछ ।
बिजुली पुगेपछि वर्षौदेखि टुकीको धिपधिपेमा जीवन गुजार्दै आएका त्यहाँका वासिन्दा खुसी बनेका छन् । स्थानीय वासिन्दाले विगत लामो समयदेखि गरेको मिहिनेतपछि बिजुली बाल्न पाएको भन्दै खुसियाली मनाएका छन । अधिकांशले घरघरमा दीपावलीसमेत गरेको बताइएको छ ।


लामो समयदेखि टुकी बालेर रात कटाउनुपर्ने बाध्यता हटेको स्थानीयवासी अम्बिका कुमारी राईले बताइन् । अँध्यारो रहेको गाउँमा पहिलोपटक बिजुली बाल्न पाएका कारण स्थानीय सरकार आएपछि आफूहरूले साँच्चिकै विकासको महसुस गरेको उनको भनाइ छ । ‘वर्षौदेखिको बिजुली बाल्ने हाम्रो सपना स्थानीय सरकार आएपछि बल्ल पूरा भएको छ’, राईले भनिन, ‘गर्न चाहे असम्भव केही छैन रहेछ । अहिले त रात पनि दिनजस्तै भएको छ ।’
गाउँमा बिजुली बलेपछि त्यहाँका सबैभन्दा बढी गृहिणी र विद्यार्थी लाभान्वित भएका छन् । त्यस्तै स्थानीयमा मोबाइल चार्ज गर्न, रेडियो सुन्न, टेलिभिजन सुन्न र हेर्न तथा विद्यालयमा कम्प्युटर शिक्षा सञ्चालन गर्नसमेत सहज हुने स्थानीय बताउँछन् । वडा कार्यालयमा विद्युतीय सरकार सञ्चालनका लागि सबैभन्दा बढी प्रभावकारी भएको वडाध्यक्ष रोहितमान तामाङ बताउँछन् ।
नेपाल विद्युत प्राधिकरणको प्राविधिक सहयोग र चौदण्डीगढी नगरपालिकाको आर्थिक लगानीमा सो क्षेत्रमा विद्युत् विस्तार गरिएको उपभोक्ता समितिका अध्यक्ष निरबहादुर राईले जानकारी दिए । ३० लाखको लगानीमा विद्युत् विस्तार गरिएको उपभोक्ता समितिले जनाएको छ ।
रानिटार बजार मात्र नभएर भोजपुरका पाङ्चा, मख्खुवा, दुङ्माना हुँदै बालाङ्खासम्म विद्युत विस्तार हुन सकिने भोजपुरका नरेन्द्र राईले खुशी व्यक्त गरे । कार्यक्रम समाज सेवी तथा विधुत निर्माण उपभोक्त समितिका अध्यक्ष निरबहादुर राईको अध्यक्षतामा सम्पन्न भएको थियो । रानीटार बेल्टार बजारदेखि करिव २५ किलो मिटर उत्तरमा पर्दछ ।

तपाईको प्रतिक्रिया