काठमाडौं । बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रका सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरणमा तत्कालीन उप–प्रधानमन्त्री विजय कुमार गच्छदार सहित ३ मन्त्री, ६ विशिष्ट श्रेणीका पदाधिकारी, कर्मचारीहरू र अन्य व्यक्तिहरू समेत गरी जम्मा १७५ जना उपर आरोपपत्र दायर गरेको छ । उनीहरूविरूद्ध आजै विशेष अदालतमा मुद्दा लगेको अख्तियारले जनायो। विशेष अदालतमा पेश भएको अभियोगपत्रका अनुसार, ललिता निवासको सरकारी जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा लाग्ने पूर्वमन्त्रीहरूमा गच्छदार, छविराज पन्त, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी छन्।
यो प्रकरणमा अख्तियारले आफ्नै पूर्वप्रमुख दीप बस्न्यातलाई पनि भ्रष्टाचार मुद्दा लगाएको छ। उनलाई तत्कालीन भौतिक पूर्वाधार सचिवको हैसियतमा मुद्दा चलाएको हो।
पूर्वसचिव दिनेशहरि अधिकारी पनि यो मुद्दामा मुछिएका छन्।
जिल्ला अदालत चितवनका न्यायाधीश विनोद गौतमलाई पनि मुद्दा चलाइएको छ। उनलाई पूर्वउपसचिवको हैसियतमा मुद्दा चलाइएको हो।
भूमाफिया भनेर चिनिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदीसहित व्यापारी मिनबहादुर गुरूङलाई पनि अख्तियारले मुद्दा चलाएको छ। बालुवाटार जग्गा आफ्नै नाममा ल्याउन नक्कली मोही खडा गरेको आरोप यिनीहरूमाथि छ।
ललिता निवास प्रकरणमा रूक्म शमसेर राणादेखि नक्कली मोहीहरूसमेत गरी १ सय ७० भन्दा बढीलाई विपक्षी बनाएर अख्तियारले मुद्दा चलाएको अख्तियार स्रोतले बताएको छ।
उनीहरूलाई कति रुपैयाँ बिगो माग गरिएको छ भन्नेबारे अहिलेसम्म विवरण आएका छैनन्।
प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय गर्दा बालुवाटारको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा सारिएको यसअघिको छानबिनमा देखिएको थियो।
माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा ललिता निवासको सरकारी जग्गा नक्कली मोही हुँदै व्यक्तिका नाममा पुगेको थियो। त्यतिबेला गच्छदार भौतिक पूर्वाधार मन्त्री थिए भने बस्न्यात उक्त मन्त्रालयमा सचिव थिए ।









