काठमाडौं । गण्डकीका प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पोखराको लेकसाइडमा रहेको होटेल प्याराडाइजबाट बिहीबार दिउँसो उनलाई सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले मनाङ्गेलाई पक्राउ गरिएको पुष्टि गर्दै अनुसन्धान थालिएको जानकारी बताए ।
मनाङ्गेले मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका थिए । एन्फा अध्यक्ष गुरुङले बुधबार उनीविरुद्ध किटानी जाहेरी दिएका थिए ।
पटक पटक विवादमा आइरहने गुण्डा नाइकेका रुपमा परिचित मनाङ्गेले मुख्यमन्त्री कप खेल्न मनाङबाट आएको टोलीलाई अभ्यास मैदान र बस्ने ठाउँ नमिलाई दिएको भन्दै मुक्का प्रहार गरेका थिए । मुख्यमन्त्री कपको उद्घाटनको क्रममा सहभागी हुन सांसद मनाङे कार्यक्रम स्थल पुगेका थिए । आयोजकले उनलाई आसन ग्रहणका लागि बोलायो । आसन ग्रहणका लागि मन्चतर्फ जाने बेलामा मनाङे र एन्फा अध्यक्ष मिलन गुरुङ बीच जम्का भेट भयो । त्यहिबेला सांसद मनाङेले मनाङबाट आएको आफ्नो खेलाडीलाई किन अभ्यास मैदान र बस्ने ठाउँ नमिलाई दिएको भनेर प्रश्न गरे ।
जवाफमा एन्फा अध्यक्ष मिलनले अध्यासका लागि प्रदेश प्रहरीको खेल मैदान भनिसकेको बताए । मनाङे आफ्ना खेलाडीले झै अभ्यास गर्न नपाएको भन्दै आक्रोस पोखे । त्यो विचमा दुई जनाविच केहिबेर भनाभन भयो । करिव ५–७ मिनेट भनाभन भएपछि मनाङेले एन्फा अध्यक्ष मिलनको छातीमा धकेले । मनाङेले हात हालेपछि मिलनले छल्न खोजे । त्यही बेला फेरि मनाङे लात्तीले खुट्टामा प्रहार गरे । सो प्रहार पनि सोचोजस्तो नलागेपछि मनाङेले गालामा प्रहार गरे । उनको प्रहार गालाको तल्लो भागमा लाग्यो ।
बिहीबार मात्रै जिल्ला प्रशासन कार्यालय कास्कीले मनाङ्गेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । अनुमतिसँगै प्रहरीले मनाङेलाई पक्राउ गरेको हो ।









