काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै थरुहट आन्दोलन संघर्षका कार्यक्रम घोषणा गरेको छ । मोर्चाका संयोजक लक्ष्मण थारुले अबको २० दिनभित्र टीकापुर घटनामा फसाइएका माननीय रेशम चौधरी लगायत ११ जना थारुहरुको मुद्दा फिर्ता नभए देशमा गृह युद्ध हुने चेतावनी दिएका छन् ।
उनले सरकारलाई प्रश्न गर्दै आक्रोश पोखे, ‘टीकापुर घटनाको वास्तविक प्रतिवेदन सरकार किन लुकाएर बसेको छ ? के थारुहरु चोर, फटाहा र डाँका हो । ज्यानमारा हो हामी ? थारुहरुमाथि टीकापुरमा के भएको थियो ? यो देशको जनतालाई जान्ने अधिकार छैन ? त्यो टीकापुर हत्याकाण्ड कस्ले रच्यो ? दुर्भाग्यपूर्ण घटनाबारे जान्न पाउने अधिकार हामीलाई छैन ?’ उनले भने, ‘देवीराम शर्माको संयोजकत्वमा गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गरियोस । राष्ट्रिय मानव अधिकार आयोग लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाले प्रतिवेदन सार्वजनकि गरे पनि सरकारले बनाएको लाल आयोगको प्रतिवेदन किन लुकायो । सार्वजनकि गरेनन् किन ?’
https://www.facebook.com/1828150850557308/videos/673076306565508/
आफु जेल परेको पीडाको आक्रोश पोख्दै भने, ‘हाम्रो घरमा आगो लाग्छ । हाम्रो खोका फुकिन्छ आगोले । हाम्रो पसल चोरिन्छ आगो लगाएर । त्यही बेला हाम्रो छोरी चेली श्रीमति बलात्कार हुन्छ । तर मुद्दा लाग्छ हामीलाई कर्तव्य ज्यान, ज्यान मार्ने डाँका । के प्रधानमन्त्री केपी ओलीको प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र यही हो ? संघीयता यही हो ? त्यति बेखबर सरकार, प्रहरी प्रशासन ? संघीयता, गणतन्त्र र समावेशीताको कुरा गर्यौ द्वन्द्व व्यवस्थापनका लागि । तर यहाँ द्वन्द्व व्यववस्थापन कसरी गर्ने, कुन हदसम्म गर्ने ?’
उनले भने, ‘ एउटा जातिका नेताहरु मान्छे मार्दा उनीहरु यो देशको सत्तामा जान्छन् । तर थारुहरु शान्तिपूर्ण आन्दोलन गर्दा, जनताले निर्वाचित गर्दा उनीहरु जेलमा बस्नु पर्ने बाध्यता छ ? कति कुण्ठित मानसिकता ?’
उनले सरकारतर्फ इसारा गर्दै भने, ‘अब आतंकित र हतोत्साहित शैलीमा होइन गोली हान्छौ भने छातीमा गोली हान । लगाउँछौ अझै ५० वटा थप झुटा मुद्दा । कति विभेद गर्ने हो । थारुलाई अखण्ड सुदूर पश्चिममा लगेर विभाजन गर्ने हो की कर्णालीमा राखेर टुक्र्याक्याउने हो की ? पाँच नम्बर प्रदेशमा राखेर टुक्र्याउने हो की ?’
उनले भने, ‘हाम्रा माग र मुद्दाहरुलाई यो देशले र सत्तामा बसेका शासकहरुले नस्वीकारेकाले हामी बाध्य भयौ आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न । १० बुँदे हाम्रा माग र मुद्दाहरु फागुन १ गतेभित्र स्वीकारेन भने थारुहरु मसाल बोकेर विशाल जनताका माझबाट आन्दोलन गर्ने उनले चेतावनी दिए ।
उनले चेतावनी दिँदै भने, ‘एउटा समुदायलाई त्रसित बनाएर आतंकित बनाएर, जेलमा कोचेर न्याय पच्दैन । अधिकार हराउँदैन । हामी संविधान जस्ताको तस्तै मान्न तयार छैनौ । संविधान संशोधन गरियोस् । हामीलाई बाध्य नपारियोस् बन्द हडताल गर्न । अब पनि सुनेन भने हामी आन्दोलनमा गयौ गयौ । अब कसैले पनि आन्दोलनलाई रोक्न र दबाउन सक्दैन ।’
यस्तै कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, खुम्बुवान राष्ट्रिय मोर्चा, नेपाल राष्ट्रिय पार्टी, नेपाल राष्ट्रिय परिषद्, खसान राष्ट्रिय संघर्ष समिति, गमरात, ताम्सालिङ, तमुवान, लिम्बुवान, किराँत, नेवाः, शेर्पा आदि पक्षधर जातीय संघ संस्थाहले आन्दोलनको लागि ऐक्वबद्धता जनाएको मोर्चाका प्रवक्ता मीनराज चौधरीले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।
प्रेस विज्ञप्ती












