उदयपुर । विगतका वर्षहरु लामो समय लगाएर धान दाइँ गर्ने दिनहरु हराउदै गएका छन् । आधा दर्जन गोरु लगाएर धान दाइँ गर्ने चलन हराउदै गइरहेको छ । आज भोली धान दाइँ गर्न थे्रसर मेशिनको प्रयोगले विगहौ विगहाको धान दाइँ गर्न सजिलो भएको छ । एक विगहामा उत्पादन गरेको धान थ्रेसर मेशिनले दाइँ गर्न एक दिन पनि नलाग्ने भएकोले किसानहरु थ्रेसर मेशिनतर्फ आकर्षित भएको हो ।
पहिले पहिले आधा दर्जन भन्दा बढी गोरु खोजेर ल्याई दाइँ गर्ने चलन थियो । दाइँ गर्न घर घर गोरु चहार्नु पर्ने समस्या हुन्थ्यो तर थ्रेसर मेशिनको प्रयोगले यस्ता समस्या हल गरेको छ । त्यस्तै आज भोली ट्रेक्टरले नै हलो जोत्ने, पटा लगाउने सम्मको काम गर्न थाले पछि मानिसहरुले गोरु पाल्न छोडि सकेको त्रियुगा नगरपालिका–३ मोतिगडाका किसान शंकर लाल चौधरी चौधरीले बताए ।
त्यस्तै पहिले पहिले धान दाइँ गर्न पालो कुर्नु पर्ने हुन्थ्यो । एकले दाइँ गरि सकेपछि अर्कोले लग्ने चलन थियो । तर आज भोली धान दाइँ गर्ने थ्रेसरको प्रयोगले गोरुबाट दाइँ गर्ने समस्याबाट मुक्ती पाएको चौधरीले बताए ।
आधा दर्जन भन्दा बढी गोरु लगाएर धान दाइँ गर्दा बढी खर्चिलो भएपछि केही समय यता किसानहरुले थ्रेसर मेशिन लगाएर धान दाइँ गर्नेतर्फ आकर्षित भएका हुन् । कृषि क्षेत्रमा आधुनिकीकरणसँगै बाली भित्रिएर दाइँ गर्ने काममा मेसिनको प्रयोग बढ्न थालेपछि यसबाट किसानको समय र पैसासमेत बचत हुन थालको छ । अब थ्रेसरले नै धानको दाइँ गरिने प्रचलनले गर्दा धेरै समय लाएर दाइँ गर्ने झन्झबाट मुक्त भएको त्रिनपा–४ बगहाका स्थानीय किसान विष्णु पौडेलले बताए ।
खेतबारीमै थ्रेसर मेशिन पुग्न थालेपछि किसान एकातिर हर्षित भएका छन् भने अर्कातिर थ्रेसर व्यापारले ग्रामीण अर्थतन्त्रलाई सवल बनाएको कृषि विज्ञान केन्द्रका सूचना अधिकारी नरनाथ रेग्मीले बताए । गत वर्षको तुलनामा यस वर्ष धान बाली राम्रो सप्रिएको रेग्मीले बताए । साथै के कति हेक्टरमा धान लगाएको सो बारेमा तथ्याङ्कक संकलन भैरहेको रेग्मीले बताए । गत वर्षको तुलनामा यस वर्ष धानमा फौजी किराको प्रकोप देखिएपनि धान उत्पादनमा कुनै कमी नआउने बताए ।
थ्रेसर मेशिन गाउँको कुनाकप्चामा पुगेपछि गोरु लगाएर दाइँ गर्ने परम्परागत प्रणाली लोप हँुदै गएको छ । गोरुले ३–४ घन्टामा सिध्याउने दाइँ थ्रेसरले छिटो सक्ने भएकाले यसतर्फ आकर्षण बढेको किसान गणेश ढकालले बताए । थ्रेसरबाट धान बटुलेर घर ल्याउनुपर्ने झन्झटबाट मुक्ति पाई खेतमै दाइँ गर्न सजिलो भएको उनले बताए ।
थ्रेसर मेशिन राख्नेले किसानको खेतमै गएर थोरै धान लिएर दाइँ गर्ने गरेकाले यसबाट किसानको परिश्रमको बचत हुनुका साथै खर्चको समेत कम हुने गरेको थ्रेसर मेसिन संचालक वसन्त लेखीले बताए । लेखीका अनुसार, “विना कत्रेको धानलाई थ्रेसर मेशिनले दाइँ गर्दा १२ भागको एक भाग र कत्रेको धानलाई दाइँ गर्दा २० भागको एक भाग धान लिने गरिएको छ ।”
त्यस्तै अर्का थ्रेसर संचालक त्रियुगा नगरपालिका ३ का रामपृत चौधरीका अनुसार थ्रेसरबाट आम्दानी नै भएको र दिनको करिव आफूहरुले पाँच÷सात मन धान कलेक्सन गर्छौ भने ।
एउटा आधुनिक थ्रेसर मेसिनको करीब अढाई देखि चार लाखसम्म लाख मूल्य पर्ने भएपछि उदयपुर जिल्लामा व्यापक मात्रामा थ्रेसर भित्रिने गर्ने गरेको छ । यस जिल्लामा करिब दुई सय भन्दा बढी थ्रेसर मेशिन हुन सक्ने अनुमान गरिएको कृषि विज्ञान केन्द्र उदयपुरका निमित्त प्रमुख बासु ढुंगानाले बताए ।

तपाईको प्रतिक्रिया