उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १६ जाल्पाचिलाउने आहाले रातापानीमा बिहिबार भएको आगलागीमा परेका दुई परिवारलाई विभिन्न संघ संस्थाले राहत वितरण गरेको छ । आगलागीमा चन्द्र बहादुर राई र बम बहादुर राईको घर जलेर नष्ट हुँदा अन्नपात, लताकपडा, भाडा वर्तन जलेर नष्ट मात्र होइन चन्द्र बहादुरको ४ वर्षिय छोरा विष्णु बहादुर राईको समेत जलेर ज्यान गयो । ।
घर जलेर नष्ट हुँदा उठिबास भएका परिवारलाई त्रियुगा नगरपालिका १६ नं. वडा कार्यालयले तत्कालको लागि प्रति परिवार चामल ५० केजी, दाल २ केजी, तेल, नून समेत वितरण गरेको थियो ।
यस्तै त्रियुगा नगरपालिकाको तर्फबाट प्रति परिवार दुई दुई थान त्रिपाल, ब्लाङकेट, तन्ना, ओछ्याउने म्याटको साथै प्रति परिवार एक एक क्विनटल चामल, ५ केजीका दरले दाल, तेल, नून समेत वितरण गरिएको त्रियुगा नगरपालिका १६ का वडाध्यक्ष मान बहादुर राईले जानकारी दिए । उनका अनुसार नेपाल रेडक्रस सोसाइटी उदयपुर शाखाले भाडाकुडा, कम्मल लगायत उपलब्ध गराईएको बताए ।
वडाध्यक्ष राईका अनुसार अग्नी पीडितहरुको जिउमा भएका लुगा बाहेक अरु कुनै कपडा नभएकोले जाडोमा समस्या हुने भएको छ भने छोराछोरीको विद्यालय पोषक समेत जलेपछि विद्यालय जान समस्या भएको छ । उनका अनुसार सहयोग जुटाउने कार्य जारी रहेकोले सहयोगी संस्थाहरुलाई सहयोग गर्न वडा कार्यालयले अनुरोध गरेको छ ।
घरमा कोही पनि नभएको अबस्थामा चन्द्रबहादुर राईका ४ वर्षिय बिष्णु बहादुर राईले लाईटर खेलाउने क्रममा आगोलागी हुँदा फूसको छाना, ढुङ्गा माटोले बनेको २ तले घर, घरमा रहेको अन्नपात, लत्ता कपडा, भाँडा वर्तन, २ ओटा सुँगुर गरी अन्दाजी १८ लाखको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै आगलागीबाट सोही ठाउँका बम बहादुर राईको फूसको छाना, ढुङ्गा माटोले बनेको २ तले घर, गाई गोठ, घर भित्र रहेको अन्नपात, भाँडा वर्तन, लत्ता कपडा समेत गरी अन्दाजी १४ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो साढे दुई घण्टामा स्थानीय र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया