काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई विहिबार बधाई दिन सिंहदरबार पुगेर फर्कने क्रममा निवर्तमान श्रममन्त्री गोकर्ण विष्ट ट्याक्सी चढेर घर फर्किएका छन् ।
मन्त्रीका रुपमा पाएको गाडी विष्टले बिहीबार नै फिर्ता गरेका छन् । गाडी फिर्ता गरेसँगै विष्ट सिंहदरबारबाट घर फर्कने क्रममा बा २ ज ५६७६ नम्बरको ट्याक्सीमा घर फर्किएका हुन् । 
मन्त्रालयबाट बिदाई हुने क्रममा विष्टले आफू मन्त्री पदमा रहँदासम्म श्रमिक र बेरोजगारका लागि इमान्दारीपूर्वक काम गरेको बताएका छन् ।
जनताको पक्षमा काम गर्नु जोखिमपूर्ण हुन्छ भन्ने अनुमान आफूले पहिल्यै गरे पनि त्यसको अनुभव अहिले गरेको विष्टले सुनाए । निवर्तमान श्रममन्त्री विष्टले फाटेका जुत्ता लगाएर वैदेशिक रोजगारीमा जाने युवाहरुलाई न्याय दिनुपर्नेमा जोड दिएका छन् ।
मन्त्रालयबाट विदाई हुँदै गर्दा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै निवर्तमान मन्त्री विष्टले सो कुरा बताएका हुन् । विष्टले आफुले मन्त्री बन्न मात्र राजनीति नगरेको दाबी गर्दै जनताको हितमा काम गर्दागर्दै मन्त्री भएको दाबी गरे ।
गोर्कणले भने, पद अस्थायी चिज हो । मुख्य कुरा जति दिन बस्छौँ । नागरिक प्रतिको जिम्मेवारी निभाए यसको मुल्याङ्कन नागरिकले गर्छ । विशिष्ट काम गर्नुस् । देश र नागरिकलाई केन्द्र भागमा राखेर काम गर्नुस् । मन्त्री बन्न राजनीतिमा लागेको होइन । नागरिकको सेवाको लागि हो । यो बिदाइपछि नागरिकलाई केन्द्र भागमा राखेर काम गर्नेछु ।
विष्ट यसअघि उर्जामन्त्री समेत भइसकेका थिए । उक्त समयमा पनि मन्त्रालयबाट बिदाई हुने क्रममा सरकारी गाडी सुविधा छाडेर ट्याक्सीमा नै घर फर्किएका थिए ।









