उदयपुर । उदयपुरको बेलका नगरपालिका ४ र ४ को सीमा क्षेत्रमा पर्ने सिसुवा खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरि ल्याउँदै गरेको २० वटा टिफर र एउटा स्काइभेटरलाई सुरक्षित स्थान तर्फ लैजाने क्रममा सोमबार राति १ बजेको समयमा विवाद हुँदा अश्रु ग्यास प्रयोग गर्नु परेको छ । ६ दिन अघिदेखि मापदण्ड विपरित नदी जन्य पदार्थ संकलन गरेको भन्दै लालबजारका स्थानीयहरुले २० वटा टिफर र एउटा स्काइभेटरलाई नियन्त्रणमा लिएको थियो । चरण चरणको वार्ता र सम्वादबाट विवाद टुंगो नहुँदा रोकि राखेको टिफरलाई जिल्ला प्रशासन कार्यालयले नियन्त्रणमा लिनेक्रममा प्रहरी र प्रदर्शनकारी विच झडप भएको थियो । झडपमा नेपाल प्रहरी तर्फ तीन जना, आन्दोलनकारी तर्फ ३ जना र एक जना ट्रक चालक घाइते भएका छन् । नेपाल प्रहरी तर्फ नर बहादुर कार्की, तुलसी कार्की र पदम बहादुर राई घाइते भएका छन् । घाइते प्रहरीमा नर बहादुरको ओठ काटिएको छ, तुलसीको गालाकाटिएको छ भने पदम बहादुरको खुट्टामा चोट लागेको छ । यस्तै चालक गोगेन मण्डलको गद्र्धनमा चोट लागेको छ भने आन्दोलनकारी तर्फ प्रेम अधिकारी सहित ३ जना घाइते भएको छ ।
यस्तै आन्दोलनकारीले बेलका नगरपालिकाका कानूनी सल्लाहकार सुरेन्द्र बस्नेतमाथि पनि हातपात गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुष्कर भट्टराईले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काका अनुसार स्थानीय तहमै पटक पटक विवादको टुंगो नलाग्दा रोकि राखेको टिफरलाई जिल्ला प्रहरी कार्यालयमा राख्ने र वार्ताको तयारी गर्ने उद्देश्यले टिफर ल्याउने क्रममा विवाद हुँदा अश्रुग्यास प्रहार गरेको बताए ।
प्रजिअ खड्काका अनुसार एउटा विग्रेको टिफरलाई तान्नेक्रममा आन्दोलनकारीले ढुंगामुढा गरेपछि त्यस बखत अश्रुग्यास प्रहार गर्नु परेको बताए । अर्को एउटा रामपुरबाट बसहा तर्फ आउँदै गरेको नीजि सवारी साधनमा ढुंगामुढा गरेपछि र अर्को बेलका नगरपालिकाका कानूनी सल्लाहकार बाटोमा हिडिरहेको समयमा आन्दोलनकारीले उनलाई कुटपिट गर्ने क्रममा भिड नियन्त्रण गर्ने समयमा अश्रुग्गास प्रयोग गरेको बताए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीका अनुसार टिफर ल्याउने क्रममा आन्दोलनकारीहरुले प्रहरीमाथि घरको छतबाट वियरका बोतल, ढुंगामुढा प्रहार गरेकोले प्रहरी तर्फ तीन जना घाइते हुनुको साथै अन्यलाई पनि चोट पटक लागेको बताए । उनका अनुसार प्रहरी समयम्ता अपनाएकोले कुनै ठूलो दुर्घटना हुनबाट बचेको छ । सोमबार बेलका नगरपालिका वडा नं. ६ का वडाध्यक्ष बसन्त मगरको संयोजकत्वमा बनेको वार्ता टोलीमा वार्ता निष्कर्ष विहिन भएपछि प्रशासनले टिफल ल्याउने क्रममा विवाद हुँदा झडप भएको बताए । अहिले पनि स्थानीयहरुले लालबजारमा सडक अवरोध गर्दै नारा जुलुस जारी राखेको छ ।
बेलका नगरपालिकाका प्रवक्ता मोहन घिमिरेले आन्दोलनकारीलाई वार्ताको लागि पटक पटक आग्रह गर्दा पनि नमानेको बताए । उनका अनुसार आन्दोलनकारीहरुले ठेक्का नै रद्द गर्नु पर्ने माग गरेपछि वार्ता सफल नभएको बताए । उनका अनुसार बेलका नगरपालिकाको तर्फबाट बार्ताको पहल अझैपनि जारी राखेको बताए ।
नगरपालिकाले गत भदौमा बोलपत्र आब्हान गरि बढी मुल्य कबोल गर्ने बीपी कन्स्ट्रक्सन बीच ३ करोड ७६ लाखमा ठेक्का सम्झौता भएको थियो । सम्झौता पत्रमा नगरपालिकाको १० वटा खोलाबाट १ लाख २१ हजार ७ सय ८० घनमिटर ढुंगा, गिट्टी लाने भनिएको छ । विबि कन्ट्रक्सनले भने ६ दिन देखि लोड भएको आफनो २० वटा टिफरको हजना पाउँनु पर्ने दाबी गरेको छ । बैधानीक रुपमा आफुहरुले काम गर्दा पनि बिना कारण टिफर रोकिनुले दैनिक रुपमा आफनो गाडी काम गर्दा पाउने रकम हजना बापत उपलब्ध गराउन स्थानीय प्रशासनसँग माग गरेको छ ।

तपाईको प्रतिक्रिया