काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा क्षेत्रमा अतिक्रमित भूमि फिर्ता ल्याउने बताएका छन्। कालापानी, लिपुलेक, लिम्पियाधुराबाट फौज फिर्ता लैजान प्रधानमन्त्री ओलीले छिमेकी देश भारतलाई आग्रह गरे।
‘हाम्रो भूमिबाट छिमेकीले विदेशी सेना फिर्ता लैजाऊन,’ आइतबार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालको एकता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी हाम्रो भूमि फिर्ता ल्याउँछौं । कतिपयले नक्सा सच्याउनुर्पयो भनेका छन् । नक्सा सच्याउने मात्र होइन सरकारले आफ्नो भूमि फिर्ता ल्याउँछ। अतिक्रमित भूमि फिर्ता ल्याउन सरकार सक्षम छ ।’
उनले संवादकै मार्फतबाट सीमा विवाद समाधान गर्न सरकार सक्षम रहेको बताए ।
‘यो सरकारले आफ्नो भूमि एक इन्च मिच्न दिँदैन । नेपालीलाई अरूको जमिन पनि चाहिँदैन,’ उनले भने ।
सीमा विवाद वार्ताबाटै समाधान गर्न चाहेको पनि उनले बताए ।
‘छिमेकीसँग किनचित तनाव नहोस् भन्ने हामी चाहन्छौं,’ उनले भने, ‘अहिलेको सरकार संवाद गर्न नसक्ने छैन। राष्ट्रिय हितका पक्षमा अड्न र लड्न सक्छ ।’
प्रधानमन्त्री ओलीले राष्ट्रियता र सीमाका विषयमा अहिले कुरा उठिराखे पनि यो नयाँ नभएको बताए ।
‘अहिले राष्ट्रियता र सीमाको कुरा उठेको छ । तर यो नयाँ कुरा होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘कालापानीमा यतिबेला भारतले फौज राखेको होइन । उहिले राखेको हो । सीमा अहिले मिचेको होइन । अहिले भएको हो कि भनेर केहीले उचाल्न खोजेका छन् ।’
भारतले राजनीतिक नक्सामा नेपालका भूमि समावेश गरेपछि विरोधमा जनता सडकमा उत्रिएको प्रसंग निकाल्दै प्रधानमन्त्री ओलीले राजनीतिक दल र संघसंस्थालाई राष्ट्रियतामा एकजुट भएकोमा धन्यवाद दिए ।
‘राष्ट्रियताको प्रश्नमा जनता एक देखिए । जागरूक देखिए । सजक देखिए । हाम्रो देशको भूमिको रुक्षा हुनुपर्छ भन्ने देखियो यो खुसीको कुरा हो,’ उनले भने, ‘म खुसी छु । धन्यवाद दिन चाहन्छु। सडकमा उत्रिएर गरेको विरोधले सरकारलाई बल नै पुगेको छ ।’
उनले सीमा विवादका कुरा केहीले उचालेको पनि आरोप लगाए ।
‘कतिपयले अतिरिक्त देशभक्त देखाउन उचालेका छन् । अहिलेको सरकार नेपाली जनताको देशभक्त सरकार हो,’ प्रधानमन्त्री ओलीले भने ।









